काठमाडौँ- प्रतिनिधिसभा/प्रदेशसभा निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका तीन अपेक्षा अपुरो भएको छ। चुनावअघि ओलीले माओवादी सात सिटमा खुम्चिने र एकीकृत समाजवादी अत्यन्तै सानो हुने दाबी गरेका थिए।
माओवादीले १७ सिटमा प्रत्यक्षमा चुनाव जितेको छ भने एकीकृत समाजवादी पनि १० सिट जितेर संसद्मा बलियो दलका रूपमा देखिने भएको छ। यद्यपि एकीकृत समाजवादीले खसेको कुल मतको तीन प्रतिशत कटाउँछ या कटाउँदैन भन्नेचाहिँ मतगणना सकिएपछि मात्र टुंगो लाग्नेछ।
२०७४ सालमा वाम गठबन्धन (एमाले–माओवादी) को मतले ओलीले शक्तिशाली सरकारको नेतृत्व गरे। दुई तिहाइ नजिकको सरकार आन्तरिक तिक्तताकै कारण ढलेको थियो।
ओली यसपटक गैरवामपन्थी (राप्रपा, जसपा र कमल थापा) सँग तालमेल गरेर सरकार बनाउने योजनामा थिए। यसको मतलब माओवादी र एकीकृत कमजोर हुने र त्यसको फाइदा एमालेलाई पर्ने उनको अपेक्षा थियो।
त्यसैले एमालेले घोषणापत्रमा पनि ‘ओली सरकार’ लेखेको थियो भने भावी प्रधानमन्त्रीका रूपमा ओलीलाई नै तोकिएको थियो। ओलीले चुनावअघि सार्वजनिक रूपमा व्यक्त गरेका केही अपेक्षा अधुरै रहेका छन्। पूरा हुन नसकेका तीन अपेक्षा यस प्रकार छन् :
एकल बहुमतको सरकार
चुनावमा प्रत्यक्षतर्फ १०० र समानुपातिकबाट ५० सिट जित्ने दाबी अध्यक्ष ओलीको थियो। गठबन्धनभित्र मत ट्रान्सफर नहुने र त्यसको फाइदा एमालेलाई हुने ओलीको बुझाइ थियो। प्रत्यक्षमा एमालेको भागमा ५० सिट पनि हात परेन।
‘सबै ठाउँमा समाजवादी कमजोर थियो। कांग्रेसको भोट ट्रान्सफर नहुँदा समाजवादी शून्य हुन सक्थ्यो,’ एमालेका एक पदाधिकारीले भने, ‘तर गठबन्धनकै सहायतामा समाजवादीले जित्यो। त्यो ठाउँमा एमालेलाई घाटा भयो।’
निर्वाचनमा समाजवादीसँग एमालेसँगै बढी प्रतिस्पर्धा थियो। समाजवादीले उठाएको २० मध्ये १८ स्थानमा एमालेसँगै प्रतिस्पर्धा थियो। ४६ सिट पाएको माओवादीको पनि अधिकांश स्थानमा एमालेसँगै प्रतिस्पर्धा थियो।
कांग्रेसको मत ट्रान्सफर नहुँदा त्यसको प्रत्यक्ष लाभ एमालेले पुग्ने बुझाइ थियो। माओवादीले जितेका १७ सिटमध्ये १५ सिटमा एमालेसँगै प्रतिस्पर्धा छ। यी अधिकांश ठाउँमा चुनाव जित्ने एमालेको अनुमान थियो।
‘माओवादीका साथीहरूलाई सोध्दा १०/१२ ठाउँ जितिन्छ भन्नुहुन्छ। उहाँहरूले नजितेको ठाउँ त हामीले नै जित्ने हो नि,’ चुनावअघि एमाले उपमहासचिव विष्णु रिमालले भनेका थिए, ‘गठबन्धनले सहायता गर्दा माओवादीले चुनाव जित्ने हो। सहायता नहुँदा त हाम्रै मत त आउँछ।’
सोही कारण बहुमतको सरकार बनाउने योजना एमालेको थियो। सोही योजनाअनुसार ओलीले सार्वजनिक अभिव्यक्ति दिएका थिए। ओलीले ‘प्रत्यक्षमा चारपाँच सिट घटे पनि धेरै नघट्ने’ अभिव्यक्ति दिएका थिए। एमालेको समानुपातिकमा ४१ प्रतिशत मत पु¥याउने योजना थियो।
‘स्थानीय तहमै हाम्रो ३५ प्रतिशत मत आएको छ। त्यसमा छ प्रतिशत बढाउने योजना थियो,’ एमाले उपमहासचिव रिमालले भने। तर एमालेको मत अनुपात २६ प्रतिशतमा खुम्चिएको छ। मत प्रतिशत नपुगेकै कारण ओलीले चाहेजस्तै एकल बहुमतको सरकार नबन्ने निश्चित भएको छ।
तालमेलमा फेल!
ओलीले राप्रपा र जनता समाजवादी पार्टी (जसपा)सँग तालेमल गरेर निर्वाचनमा गए। एमालेले १६५ सिटमध्ये १७ सिट जसपा र तीन सिट राप्रपालाई छाडेको थियो। यसबाहेक एक ठाउँ (मकवानपुर १) मा सूर्य चिह्नबाट चुनाव लड्न कमल थापालाई छाडिदिएको थियो। एमालेले अन्य तीन ठाउँमा स्वतन्त्र उम्मेदवार (चितवन ३, डडेलधुरा र रौतहट ३) लाई समर्थन गरेको थियो।
एमालेले अन्य दुई दल र स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्नुको अर्थ थियो, चुनावपछि यसबाहेकका दललाई आफ्नो सरकारमा नलैजानु। तर यो योजना एमालेको पूरा भएन। जसपालाई १७ ठाउँ छाडेकोमा ७ सिट मात्र हात पार्यो।
एमालेले समर्थन गरेका दुई ठाउँका स्वतन्त्र उम्मेदवारले हारे। चितवन ३ मा कांग्रेसका बागी उम्मेदवार डा. दिनेश कोइराला, डडेलधुरामा कर्ण मल्लले चुनाव हारेका हुन्।
‘जसपाबाट धेरै आस राखेर हामीले तालमेल गरेका थियौँ’, एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने, ‘जसपा मधेशमा यति कमजोर भएको छ भन्ने हामीलाई महसुस भएन।’ त्यसो त एमालेलाई सत्ता गठबन्धनसँग चुनौती छ छँदै थियो।
लोकप्रिय मत, गठबन्धनभित्रका असन्तुष्टि र लोकप्रिय उम्मेदवारका आधारमा मात्र एमालेले यसपटक चुनाव लड्नुपर्ने बाध्यता थियो। देशभरका करिब ४० सिटमा मात्र सत्ता गठबन्धनभन्दा एमाले गठबन्धन ठूलो थियो।
गठबन्धन फुटाएर सरकार बनाउने योजना विफल
निर्वाचनको पूर्वार्धमा ओलीसँग अन्तिम विकल्प थियो, गठबन्धनभित्रकै कुनै दललाई लिएर सरकार बनाउने। एमाले गठबन्धनको उल्लेखनीय मत आउँदा सत्ता गठबन्धन कमजोर हुने र गठबन्धन फुट्ने एमालेको अनुमान थियो।
‘एमालेको ७० माथि सिट आउने र कांग्रेसको ५० भन्दा कम सिट आउने अपेक्षा थियो,’ उपमहासचिव रिमालले भने, ‘दुई दलमध्ये एमाले ७० माथि आए कांग्रेसको ५० र कांग्रेसको ७० माथि आए एमालेको ५० भन्दा तल आउने हाम्रो योजना थियो। तर फरक भयो।’ यसरी एमालेको हिसाब कतै मिलेन।
रविसँग कांग्रेसको ‘छद्म’ साठगाँठ आरोप
एमालेले निर्वाचनअघि केही सुरक्षित ठाउँ तोकेको थियो। जस्तै : काठमाडौँ २, काठमाडौँ ५, दाङ २, चितवन ३ लगायत। यी क्षेत्रमा गठबन्धन कमजोर र एमालेको लोकप्रिय मतले जित्ने योजना उसको थियो। तर सबै क्षेत्रमा एमालेको हार भयो।
‘हामीलाई त्रिकोणात्मक प्रतिस्पर्धा हुन्छ भन्ने लागेको थिएन। सबैतिर त्रिकोणात्मक प्रतिस्पर्धा हुँदा घण्टी प्रभावशाली भयो,’ रिमाल भन्छन्, ‘रवि (रवि लामिछाने) चितवन ३ मा उठ्ने कुरा थियो। तर एकाएक २ मा सर्नुभयो। यस्तै काठमाडौँ ४ मा घण्टीको उम्मेदवार नहुनुचाहिँ कांग्रेस र स्वतन्त्रबीच छद्म साठगाँठ छ कि भन्ने लाग्छ।’
हुन त एमालेको ‘सर्चिङ लिस्ट’ बाट स्वतन्त्र पार्टी फैलन्छ भन्ने प्रतिवेदन प्राप्त भएको थियो। तर एमाले स्रोतका अनुसार लिस्टमा देखिए पनि मैदानमा उत्साह थिएन। एमालेको बुझाइमा स्वतन्त्र पार्टीले यस्तो प्रतिकूलता नल्याउने प्रक्षेपण थियो।
‘घण्टीले कांग्रेस, एमाले दुवै पार्टीलाई हान्छ भन्ने हाम्रो अनुमान थियो। तर कांग्रेसलाई छाडेर एमालेलाई मात्र असर गर् यो’, रिमाल भन्छन्। एमालेकै प्रभाव क्षेत्रमा स्वतन्त्र पार्टी उदाएको देखिन्छ। चितवन १ र चितवन २ मा २०७४ को प्रतिनिधिसभामा एमाले निर्वाचित भएको क्षेत्र हो। तर अहिले स्वतन्त्र पार्टीले जितेको छ।
२०७४ मा काठमाडौँ १ मा कांग्रेसले जितेको थियो तर अहिले पनि कांग्रेसले नै जितेको छ। जहाँ स्वतन्त्रको प्रभाव कम छ। तर एमालेले जितेको काठमाडौँ २, ललितपुर ३ जस्ता क्षेत्रमा स्वतन्त्र पार्टी उदाएको छ।
‘चुनावमा साठगाँठ हुनु ठिकै हो तर छद्म तवरले कांग्रेससँग रविजीको साठगाँठ हो कि भन्ने नि’ रिमालले भने, ‘यसको असर एमालेलाई पर्यो। अब स्वतन्त्र पार्टी जति बढ्छ। एमालेलाई असर त्यति बढी पर्छ।’