कञ्चनपुर– माटोका भाँडाकुँडा र मादल बिक्री हुन छाडेपछि सुदूरपश्चिममा बादी समुदायको जीविका संकटमा परेको छ। शुक्लाफाँटा नगरपालिका ५ गर्जमुनीस्थित बादी बस्तीमा रहेका १० परिवारका सदस्यलाई यतिबेला जीविका चलाउनै धौधौ छ।
आधुनिकताको प्रवेशसँगै माटोका भाँडाकुँडा र मादल बिक्री हुन छाडेपछि उनीहरूलाई हातमुख जोर्न समस्या देखिएको हो। ०४३ देखि गर्जमुनिमा बादी समुदायको बसोबास रहेको छ। घरबास रहेको जग्गामा बादी समुदायका केही परिवारका झुपडी र केहीका अर्धपक्की घर बनाएका छन्।
वर्षौँदेखि बस्दै आएको जग्गाको बादी समुदायसँग स्वामित्व छैन। बस्तीनजिकै बग्ने स्याली नदीले बर्सेनि जग्गा कटानी गरिरहेको छ। वर्षाका बेला बादी बस्ती डुबानमा पर्ने गरेको छ।
निःशुल्क शिक्षा, रोजगार, स्वास्थ्योपचार, नदी नियन्त्रण, सुरक्षित आवास, जग्गाको स्वामित्व र डुबानमुक्त बस्तीका लागि उनीहरूले वर्षौंदेखि माग राखिरहेका छन्। तर यी मागहरू पूरा हुन नसकेको उनीहरूको गुनासो छ।
‘नजिकको सरकार भनेको नगरपालिका हो, नगरपालिकाबाट बादी समुदायको उत्थानका लागि लक्षित गरी कुनै पनि कार्यक्रम हालसम्म हुन सकेको छैन,’ स्थानीय दीपक बादीले भने, ‘वडा भेलामा कयौँपटक माग राखे पनि कार्यक्रमलाई प्राथमिकतमा राखिएको छैन ।’
विपन्न र गरिबका लागि भनेर ल्याइने स्वरोजगार तालिम र अनुदानका कार्यक्रममा नसमेटिने गरेको बादी समुदायको भनाइ छ।
मजदुरी नपाए भोकै
गर्जमुनिका बिष्नाकुमारी बादीको परिवारले मजदुरी गरेर जीविका चलाउँदै आएको छ।
उनीहरूका लागि जीविका चलाउने एकमात्रै विकल्प मजदुरी रहेको छ। मजदुरी पाएको बेला दुई छाक खाना खान बादी परिवारले पाउने गरेका छन्।
मजदुरी नपाइए भोकभोकै बस्नुपर्ने अवस्था आउने गरेको उनको भनाइ छ।
दैनिक मजदुरी पाइने गरेको छैन। हप्तामा एक-दुई दिन बादी परिवारले मजदुरी पाउने गरेका छन्।
दुई दिन पाउने मजदुरीले परिवारको हप्ता दिनको खाना खर्च जुटाउनुपर्ने उनका लागि बाध्यता छ। कृषि र निर्माणकार्यमा बादी परिवारले मजदुरी गर्दै आएका छन्।
‘छोरा-बुहारी पेट पाल्नकै लागि भारतमा गएका छन्,’ उनले भनिन्, ‘चौकीदारीको काम पाएको छ, महिनाको १० हजार रूपैयाँ तलब पाउँछु भन्छ, कोठा भाडा र बुहारी नातिको खाना खर्चमा पैसा सकिन्छ। यसैले घर पैसा पठाउनका लागि पुग्दैन भनेर खबर गरेको छ।’
घरमा रहेका सात जनाको खर्च चलाउन निकै गाह्रो भएको उनले बताइन्।
‘महँगी बढेको बढ्यै छ,’ उनले भनिन्, ‘त्यहीअनुसार ज्याला पाउने भए हुन्थ्यो, ज्याला पुरानै छ, दिनभरि काम गरे पाँच सय रुपैयाँ पाउँछौँ, त्यसले घरका लागि रासनपानी पुर्याउन सकिँदैन।’