धमाधम रंगरोगन गरिँदै संसदीय दलका कार्यालय

हिमाल प्रेस १७ मंसिर २०७९ १४:३६
14
SHARES
धमाधम रंगरोगन गरिँदै संसदीय दलका कार्यालय

काठमाडौँ– संघीय संसद् सचिवालयले संसदीय दलका कार्यालयहरूमा रंगरोगन सुरु गरेको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भएसँगै सचिवालयले कार्यालयहरूको व्यवस्थापन, रंगरोगन र सरसफाइ सुरु गरेको हो।

निर्वाचनको नतिजाका आधारमा कार्यालय व्यवस्थापन गर्नुपर्ने दलको संख्या आकलन गरी संसद् सचिवालयले कार्यालय व्यवस्थापन तयारी सुरु गरेको हो।

कम्तीमा दुई सांसद रहेको दलले संसदीय दल खोल्न कानुनी प्रावधान रहेकाले उनीहरूको दल गठन भएपछि सञ्चालनका लागि कार्यालय र स्थान उपलब्ध गराउने गृहकार्य सचिवालयले सुरु गरेको प्रवक्ता डा. रोजनाथ पाण्डेले बताए।

सचिवालयले विगतमा राजनीतिक दलले प्रयोग गरेको संसदीय दल कार्यालयको सरसफाइ, रंगरोगन, फूल बिरुवा रोपणजस्ता काम गरिरहेको छ।

सचिवालयले त्यसका लागि नयाँ वानेश्वरस्थित संसद् भवन र सिंहदरबारमा दल विशेषको संख्याका आधारमा कोठा उपलब्ध गराउनेछ।

दल र सांसदको सुविधासम्बन्धी ऐनमा १० सांसद भएमा त्यस्ता दलका संसदीय दलका नेता र सचेतकलाई कार्यालय तथा फर्निचर सुविधा उपलब्ध गराउनुपर्ने भएकाले सचिवालय त्यो कामको तयारीमा अघि बढेको प्रवक्ता पाण्डेले जानकारी दिए।

नवनिर्वाचित सदस्यलाई पद तथा गोपनीयताको शपथ सकिएलगत्तै संसद्को प्रतीक चिह्न (लोगो) संविधान, ऐन, संसदीय नियमावली र समितिका कार्यविधि, डायरी, कलम, परिचय पुस्तिकालगायत आवश्यक काजगात उपलब्ध गराउने प्रचलन छ।

नवप्रवेशीलाई संसदीय अभ्यासबारे आधारभूत जानकारी दिलाउन सचिवालयले संसदीय विधि र प्रक्रियाबारे केन्द्रित रही अभिमुखीकरण प्रदान गर्ने गर्छ।

संसदीय प्रक्रिया र कार्यान्वयनमा लैजाने विषयवस्तुबारे केन्द्रित रही सचिवालयको भूमिका, संसदीय समितिको भूमिका र सभा सञ्चालनका विषयमा ज्ञान दिइनेछ।

ज्येष्ठ सदस्यको अध्यक्षतामा संघीय संसद्को अबको पहिलो बैठकले सभामुखको निर्वाचनसम्बन्धी प्रक्रिया अघि बढाउन अनुमति दिनेछ। त्यसपछिका बैठकमा अरू बिजनेस अघि बढ्नेछ।

सिंहदरबारमा संघीय संसद्को नयाँ भवन निर्माण कार्य पूरा नभएकाले यो अधिवेशन नयाँ वानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पुरानै भवनमा हुनेछ।

नवप्रवेशी सांसदको शपथ ग्रहण पनि सोही भवनको ल्होत्से कक्षमा हुनेछ।

प्रकाशित: १७ मंसिर २०७९ १४:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =