- काठमाडौँ- प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो काममा नअल्मल्याउन कार्यकर्तालाई आग्रह गरेका छन्। शुक्रबार साँझ पार्टी निकट युवा कार्यकर्तासँगको भेटमा प्रचण्डले यस्तो आग्रह गरेका हुन्।
प्रचण्डको भनाइ उधृत गर्दै उनको सचिवालयका एक सदस्यले भने, ‘अहिलेलाई काम गर्न दिनुस्, कामका लागि सहयोग गर्नुहोस्। राम्रो कामका लागि प्रोत्साहन र सीमामा सुझाव दिनुस्।’ उनले कुराभन्दा काम गरेर आफ्नो कार्यकाल रचनात्मक बनाउने पक्षमा रहेको ती सदस्य बताउँछन्।
प्रचण्डले शनिबार चितवनमा आयोजित कार्यक्रममा पनि यस्तै आशय व्यक्त गरे। उनले भरतपुर महानगरपालिका–१० मा स्थित नारायणी नमुना माविको हीरक महोत्सव समारोहमा सम्बोधन गर्दै भने, ‘म यो कार्यकालमा धेरै भाषण गर्ने मनस्थितिमा छैन। म भाषण कम, काम धेरै र जनताको सेवा धेरै गरेर प्रस्तुत हुने मैले प्रतिज्ञा गरेको छु।’
प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक उपत्यकाबाहिर पुगेका हुन्। तेस्रोपटक प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले एउटा विशिष्ट परिस्थितिबाट अगाडि बढ्न लागेको बताएका छन्।
उनले भने, ‘मैले यो पटक हरेक दिन देशका पक्षमा, जनताका पक्षमा, सुशासन र विकासका पक्षमा काम गर्दै जाने, नेपाल र नेपाली जनताको आवश्यकतालाई सम्बोधन गर्दै जाने प्रतिबद्धता लिएको छु। बाँकी जीवन विकास र सुशासनका निम्ति समर्पित गर्ने भनेर भनेको छु।’
दाहालले सुशासनका लागि देशको अर्थतन्त्रमा सुधार गर्नुपर्ने ऐतिहासिक आवश्यकता रहेको औँल्याए। उनले भने, ‘मैले पहिलो क्याबिनेटबाटै सुशासन कायम गर्नुपर्ने ऐतिहासिक आवश्यकता, भ्रष्टाचार र बेथिति नियन्त्रण गर्नुपर्ने आवश्यकता, जनताले विभिन्न क्षेत्रमा पाइरहेका सास्ती नियन्त्रण गर्ने आवश्यकतालाई इंगित गरेर निर्णय गरेको छु।’
दाहालले जनतालाई पिरपर्कामा पार्ने कुनै पनि निर्णयमाथि कठोर कदम चालेर जनता र राष्ट्रको पक्षमा जाने संकल्प पनि लिएका छन्। उनले भनेका छन्, ‘सुशासन र समृद्धिको नयाँ युगको सूत्रपात गर्न एकजुट हुन अपिल गर्न चाहन्छु।’
नेकपा एमाले र माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका उनलाई भाषणमा भनेजस्तो काम गर्न सजिलो छैन।
प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको ‘पानी बाराबार’ को सम्बन्ध चाटाचाटमा परिणत गरी सत्तामा गएका हुन्। झन्डै दुई वर्षदेखि ओली र प्रचण्डबीच बोलचाल थिएन। तर सत्ता स्वार्थले दुवैलाई एउटै कित्तामा उभ्याएको छ। त्यसैले यी दुवै नेतामाथि त्यति विश्वस्त हुने अवस्था छैन। साथै उनीहरू सत्ता स्वार्थकै लागि राजनीति गर्दै आएका हुन्। त्यसैले त दुवै नेतामाथि राजनीतिमा अनैतिक चरित्रको आरोप लाग्ने गरेको छ।
तसर्थ प्रधानमन्त्री प्रचण्डका लागि पहिलो चुनौती नेकपा एमाले हो। प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीसामु घुँडा टेक्न पुगेर प्रधानमन्त्री बन्न पुगेका हुन्। पुस १० गते बिहान ११ बजेसम्म कांग्रेस नेतृत्वको गठबन्धनमा सत्ताको मोलमोलाइ गरिरहेका दाहाल प्रधानमन्त्री नपाउने भएपछि मात्रै ओलीकहाँ ‘शरण’ लिन पुगेका थिए।
अन्तिम अवस्थामा साथ दिएर ‘गुन लगाएकाले’ पनि ओली प्रचण्डलाई आफूले चाहेजसरी परिचालन गर्ने हैसियत राख्छन्। यसको संकेत मन्त्रीहरूको कार्यशैलीले पनि देखाइसकेको छ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको पछिल्लोपटक बालकोट बैठक एउटा उदाहरण हो।
ओली आफैँले पनि दुई वर्षअघिको घटना भुलेका छैनन्। हुन त राजनीतिमा कहिले कुन गुट कहिले कुन गुटमा आबद्ध हुनुलाई सामान्य मानिन्छ। तर झन्डै दुई तिहाई नेतृत्वको सरकारबाट प्रचण्डकै कारण सत्ताच्युत हुनुपरेको घटना ओलीले भुलेका छैनन्।
संक्रमणकालीन न्यायको मुद्दा अझै बाँकी छ। सोही कारण प्रचण्ड प्रधानमन्त्रीका रूपमा भारत र चीनबाहेक अन्य मुलुकमा ढुक्कसँग जान सक्दैनन्। अमेरिकाको चीनसँगको सम्बन्ध नसप्रिएसम्म प्रचण्डले पश्चिमी विश्वबाट ‘क्लिनचिट’ पाउने सम्भावना छैन।
निर्वाचनअघिसम्म त्यो तिक्तता व्यक्त गर्दै आएका ओली सत्ता समीकरणको अन्तिम घडीमा प्रचण्डलाई अघि सार्न बाध्य भएको सबैसामु छर्लंग छ। यस्तै दाहालले पटकपटक ओलीलाई दम्भी, प्रतिगमनकारीजस्ता आरोप लगाउँदै आएकै थिए। यस्ता विषयमा अहिल्यै असन्तुष्टि सार्वजनिक नभए पनि मन्त्रिमण्डल विस्तार, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख लागयतमा भागबण्डा, प्रदेश सरकार गठन र विभिन्न राजनीतिक नियुक्तिमा देखिने नै छ।
विगतमा एउटै पार्टीको सरकार टिक्न नसकेको तितो उदाहरण छ। यसै बेला प्रचण्ड विभिन्न दलको समर्थनमा सत्तामा पुगेका छन्। हरेक दलका आआफ्नै स्वार्थ छन्।
पदका आकांक्षी धेरै छन्। सत्ताको अनुभवी एमालेसँग त विगतमा दुश्मनी थियो नै। नयाँ उदाएका दल राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई पनि साथमै लिएर हिँड्न प्रचण्डलाई सजिलो छैन।
उनकै पार्टीभित्रका विभिन्न गुटलाई मिलाएर लैजानुपर्नेछ। यस्तै सशस्त्र विद्रोहदेखि चुनावअगाडिसम्म जनतासामु बाचा गरेका प्रतिबद्धता पूरा गर्न उनलाई सहज छैन।
देशको अर्थतन्त्र खस्कँदो छ। त्यसलाई सही ट्रयाकमा ल्याउनुपर्ने चुनौती प्रचण्ड सरकारसामु छँदैछ। खाडीलगायतका मुलुकमा श्रम गरिरहेका युवालाई स्वदेश फर्काउने अवस्था सिर्जना गर्नुपर्ने दबाब उनीमाथि छ। महँगीका कारण जनता मारमा छन्। उत्पादनमूलक काम हुन सकेको छैन। नयाँ सरकार बनेपछि केही न केही सहुलियत पाइएला भनेर बसेका जनताका आशा पूरा गर्न कठिन छ।
संक्रमणकालीन न्यायको मुद्दा अझै बाँकी छ। सोही कारण प्रचण्ड प्रधानमन्त्रीका रूपमा भारत र चीनबाहेक अन्य मुलुकमा ढुक्कसँग जान सक्दैनन्। अमेरिकाको चीनसँगको सम्बन्ध नसप्रिएसम्म प्रचण्डले पश्चिमी विश्वबाट ‘क्लिनचिट’ पाउने सम्भावना छैन।
नेपाललाई आर्थिक सहयोग गर्ने धेरै दाता पश्चिमी विश्व र उनीहरूकै अलाइन्स छन्।
यसै बेला दाहाल निकै उत्साहित देखिएका छन्। उनले उनले कार्यकर्तासँग भनेका छन्, ‘मलाई बधाई तथा शुभकामना दिने तपाईँहरूको पवित्र आकांक्षालाई हृदयदेखि सम्मान व्यक्त गर्दछु। तर मेरा लागि मिनेटको पनि महत्त्व छ।’ उनले आफूले बधाईको समय कामका लागि खर्चिन चाहेको पनि बताए।
उनले भने, ‘मेरो जिम्मेवारीप्रति सम्पूर्ण तागत लगाउन चाहन्छु। जनताको हितविपरीतका कुनै पनि निर्णय र गतिविधि नहोउन् भन्नेमा म पूराका पूरा सचेत छु।’
उनले आफूलाई सुशासनको मर्म, भ्रष्टाचारबाट आक्रान्त जनताको पीडा र विदेशमा लाखौँ नेपालीले भोग्नुपरेका समस्याबारे जानकारी रहेको बताएका छन्।
उनले भनेका छन्, ‘मसँग जनताको अवस्था बदल्न केही गरिछाड्ने संकल्प छ। तसर्थ मलाई त्यतिबेला बधाई दिनुहोला, जतिबेला मेरो कार्यकाल स्मरणीय हुनेछ।’ दाहाललाई आफ्नो कार्यकाल स्मरणीय बनाउन कसरी अघि बढ्नेछन् भन्नेचाहिँ केही दिनमा देखिने नै छ।