सांसद बडापत्र

नेतृत्वले दिएका जुनसुकै जिम्मेवारी पूरा गर्दै अघि बढेका सूर्य थापा

माधवप्रसाद नेपाल १४ पुष २०७९ १५:०१
1.3k
SHARES
नेतृत्वले दिएका जुनसुकै जिम्मेवारी पूरा गर्दै अघि बढेका सूर्य थापा

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का पोलिटब्युरो सदस्य सूर्य थापा प्यूठानबाट संघीय प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन्। पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा सक्रिय उनलाई अहिलेको अवस्थामा आइपुग्न त्यति सजिलो भएन। एसएलसी गरेपछि २०४८ मा इन्जिनियरिङ पढ्न काठमाडौँ छिरेका उनी पत्रकार हुँदै नेता बन्न पुगेका हुन्। एउटा सपना पूरा नभए पनि इमानदारीपूर्वक निरन्तर लागिरहेमा सफलता त्यति टाढा नरहेको उनको अनुभव छ। २०४६ पछि राजनीतिमा लागेर सफलताको सिँढीतर्फ लम्किरहेका थापाले हालैको एउटा कफी गफमा आफ्नो जीवनको अन्तरंग यसरी खोतले :

इन्जिनियर बन्ने सपना पूरा भएन

४० को दशकमा सूर्य थापा (जन्म : २०३१ साउन ८) को सपना पनि औसत किशोरको जस्तै थियो- उच्चशिक्षा हासिल गर्ने, जागिर खाने र भविष्य उज्यालो बनाउने। गाउँको प्राविमा कक्षा पाँच पढेपछि उनी गुल्मीतिर लागे। त्यहाँ एक महिना पढेपछि थापाको कक्षा ६ को पढाइ सुरु भयो अर्घाखाँचीको रतनमारेस्थित सिद्धार्थ माविमा। दैनिक साढे तीन घण्टा पैदल हिँडेर स्कुल जाँदाका रमाइला दिन सम्झँदै उनी भन्छन्, ‘इन्जिनियर बन्ने धोको थियो। त्यसैले मैले पढाइलाई सधैँ महत्त्व दिएँ।’

स्कुलमा पढुन्जेल थापा पढाइमा मात्रै अब्बल थिएनन्, अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै सक्रिय थिए। हक्की स्वभावका हेड सर नरेन्द्र क्षेत्रीको सिकाइको प्रभावले उनी स्पष्ट वक्ताका रूपमा चिनिँदै गए। निरक्षर आमाबाबुका छोरा थापाले ७० प्रतिशत अंक ल्याएर एसएलसी गरेपछि गाउँमा वाहवाही भएको थियो।

‘फलामे ढोका’ पार गरेपछि इन्जिनियर बन्ने हतियार तयार भयो। उनमा ऊर्जा थपिँदै गयो। इन्जिनियर पढ्न गाउँ छाड्नु नै थियो। उतिखेर पढ्नका लागि प्यूठानबाट काठमाडौँ आउने कमै हुन्थे। उनी भन्छन्, ‘पढ्न भनेर घर छाड्ने त औँलामा गनिने मात्र हुन्थे। गाउँबाट काठमाडौँ आउने त म नै पहिलो थिएँ।’

सहर त छिरे तर इन्जिनियर पढ्न उनलाई परिवेशले साथ दिएन। पहिलो वर्ष यत्तिकै खेर गयो। थापा भन्छन्, ‘इन्जिनियर बन्न परिवेशले साथ दिएन। अनि व्यवस्थापन पढ्न थालेँ।’

टंगालस्थित कैलाशकुट बहुमुखी क्याम्पसमा आईकम गरेका उनले नेपाल कमर्स क्याम्पसबाट स्नातक गरे। त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरे। त्रिविबाटै समाजशास्त्रमा एमफिलसँगै पीएचडीका लागि तयारी गर्दै गर्दा जिम्मेवारी अन्यत्र मोडियो।

नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरिरहेका थापा भन्छन्, ‘म कानुनको विद्यार्थी पनि हुँ। परीक्षा दिएको सबै पास गरेको छु। अब चाँडै सक्ने चरणमा छु। पीएचडी गर्दै थिएँ, राजनीतिक जिम्मेवारी आइलागेपछि छोड्नुपरेको छ।’

थापा फुर्सदका बेला मार्क्सवादी दर्शन, कला, साहित्य, अर्थशास्त्र, राजनीतिशास्त्र र इतिहासका पुस्तक पढ्न रुचि राख्छन्। ‘पढाइका लागि समय पाउन सजिलो छैन। तर समय मिलाएर पढ्छु।’ औपचारिक अध्ययनका क्रममा रोजीरोटीका लागि उनले धेरैतिर काम गरे।

व्यवस्थापन पढेर पत्रकारिता

पढाइकै क्रममा थापा पत्रकारितासँग जोडिए। कामको खोजीमा लाग्दा पत्रकारितामा पुगेको उनी स्मरण गर्छन्। पत्रकारिताले उनलाई स्थापित पनि गरायो। उनी भन्छन्, ‘आफूले जे बुझेको थिएँ, त्यही आधारमा पत्रकारिता गर्न थालेँ।’ काम गर्दै जाँदा सैद्धान्तिक ज्ञान पनि आवश्यक पर्दो रहेछ। अनि उनी नेपाल प्रेस इन्स्टिच्युटमा भर्ना भए।

इतिहासप्रधान पत्रिकाबाट काम थालेका उनी भन्छन्, ‘नेपाल प्रेस इन्स्टिच्युटमा १० महिना प्रशिक्षण लिएपछि मलाई यस क्षेत्रमा लाग्न थप सहज भयो।’ उनी पत्रकारका रूपमा चिनिन थालेको चाहिँ २०५२ मा ‘दृष्टि’ साप्ताहिकमा काम गर्न थालेपछि हो। पार्टीको मुखपत्र ‘नवयुग’मा सम्पादनमा नेतृत्व गर्दा ‘व्यावसायिक पत्रकार’ भन्दा जिम्मेवारी कम नभएको उनी सम्झन्छन्।

उनी भन्छन्, ‘नवयुगले सवा दुई करोड आम्दानी गरेको अडिट रिपोर्ट अझै छ। त्यसमा प्रकाशित गहकिला विचार, विश्लेषण र दर्शनसँग सम्बन्धित धेरै पाठकको रुचिमा पर्दथ्यो।’ ‘नवयुग’ मुलुकभर पुग्थ्यो। एमाले कार्यकर्ताले त खोजीखोजी पढ्थे।

थापाले झन्डै एक दशक पार्टीको मुखपत्र ‘नवयुग’को सम्पादन गरे। इन्जिनियर बन्न नपाएको पीडाले सताउँदैन त? उनी भन्छन्, ‘पहिलापहिला सधैँ केही छुटाएजस्तो हुन्थ्यो। तर बिस्तारै हट्दै गयो।’ पत्रकारिताले चिनाउन थालेपछि सन्तुष्ट हुन थालेको उनी बताउँछन्।

संगठनमा आबद्धता

सिद्धार्थ माविमा नजिकका सातआठ विद्यालयबाट कक्षा पाँच सकेका विद्यार्थी पढ्न पुग्थे। अब्बल देखिएपछि अर्को जिल्लाबाट आएको विद्यार्थी को रहेछ? भनेर सबैका आँखा थापामाथि पर्न थाल्यो। देशमा पञ्चायती शासनको जगजगी थियो। दलहरू भित्रभित्रै बहुदलका पक्षमा संगठन विस्तार गर्दै थिए। त्यसै बेला उनको विद्यालयमा पनि केही जुझारु युवा पुगे। ती युवा विद्यार्थी संगठन विस्तारका लागि पुगेका रहेछन्।

थापा सम्झन्छन्, ‘मैले उहाँहरूबाट अनेरास्ववियु एकताको पाँचौँ सदस्यता लिएँ। त्यसपछि बिस्तारै जिल्ला स्तरका कार्यक्रममा सहभागी हुन थालेँ।’ संगठनको विद्यालय कमिटीमा पनि उनको भूमिका बढ्दै गयो।

उनी भन्छन्, ‘पढाइसँगसँगै विद्यार्थी संगठनको काममा पनि मेरो आबद्धता बढ्दै गयो। २०४७ सम्म राजनीति र पढाइ सँगसँगै रह्यो।’

राजधानीमा सक्रिय भएपछि उनको सांगठनिक फड्को पार्टी निकट पत्रकारको संगठनतिर पुग्यो। २०५३ सालमा गोकुल बाँस्कोटा पार्टी पत्रकार केन्द्रीय फ्याक्सनको सचिव हुँदा थापा सदस्य थिए।

‘मलाई यहाँसम्म पुर्‍याउन धेरैको साथ र सहयोग छ। जिल्लाका मतदाताले पत्याएका छन्। सांसद बनेको छु। यसमै गर्व गर्छु। नेतृत्वले पत्याउँदा विगतमा विभिन्न जिम्मेवारी पूरा गरेको छु। अब पाएमा मन्त्रालय पनि चलाउन सक्छु।’

२०५९ पछि प्रचार विभागको सदस्य भएर काम गरेका उनी २०६४ पछि सचिव भए। थापाले प्रचार विभाग प्रमुख प्रदीप नेपाल, रघुजी पन्त, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, नारायणकाजी श्रेष्ठ, योगेश भट्टराई लगायतसँग फरकफरक पदमा रहेर काम गरेका छन्। विभागमा रहेर उनले सदस्य, सचिव र उपप्रमुखको जिम्मेवारी पूरा गरे। यीमध्ये रघुजी पन्त, कुन्दन अर्याललगायतबाट पत्रकारितबारे धेरै कुरा सिक्न पाएको उनी बताउँछन्। भन्छन्, ‘सबै नेताहरूबाट हौसला र प्रेरणा पाएको छु। पत्रकारितामा पन्त र अर्यालबाट धेरै कुरा सिकेँ।’

थापा २०६८ मा झलनाथ खनाल र २०७४ पछि नेकपा एमाले अध्यक्ष केपी ओलीको कार्यकालमा दुईपटक गरी तीनपटक प्रधानमन्त्रीको प्रेस सल्लाहकार (राज्यमन्त्री सरह) भइसकेका व्यक्तित्व हुन्।

पछिल्लोपटक प्रधानमन्त्रीको प्रेस सल्लाहकार हुँदाको रोचक प्रसंग सुनाउँदै उनी भन्छन्, ‘पीएचडीको तयारीमा थिएँ। नेतृत्वबाट पूर्णकालीन राजनीति गर्ने हो भने सहयोग गर्नपर्‍यो भनेपछि तत्कालका लागि पढाइ छुटेको छ।’

थापाले केही वर्ष एमाले प्यूठान-काठमाडौँ सम्पर्क मञ्चको अध्यक्ष भएर काम गरे। वामदेव गौतमले एमाले विभाजन गरेका बेला जिल्लामा एमाले लेखिएको साइनबोर्डको ‘ए’ मेटेर माले बनाउँदा उनी ज्यादै खिन्न थिए। त्यही बेला नेता शंकर पोखरेलले उनलाई सम्पर्क मञ्चको जिम्मेवारीमा रहन आग्रह गरे।

उनी भन्छन्, ‘मैले ६ महिनामा नै माले खोज्नुपर्ने बनाइदिएँ।’ त्यसपछि नेतृत्वको आँखामा ‘सूर्य थापा’ पर्न थालेको उनको अनुभव छ।

थापा पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य हुँदा मुलुकमा गणतन्त्रको बहस तीव्र रूपमा चलेको थियो। त्यति बेला राजतन्त्रविरोधी वैचारिक संघर्षको अगुवाइ गरेको उनको सम्झनामा ताजै छ। महासंघ केन्द्रीय समितिले पनि राजतन्त्रको विरोधमा प्रस्ताव पारित गरेको थियो।

थापा भन्छन्, ‘महासंघको केन्द्रीय समितिमा राजतन्त्रको विरोधमा लिखित प्रस्ताव मैले नै गरेको थिएँ। त्यो प्रस्ताव महासंघले सर्वसम्मत पारित गरेको थियो।’ थापाका विश्वमा राजतन्त्रको उत्थान, पतन र भविष्यका बारेमा चारवटा पुस्तक प्रकाशित छन्।

प्रेरक व्यक्तित्व : मदन भण्डारी, प्रदीप ज्ञवाली र नरेन्द्र क्षेत्री

अनेरास्ववियुमा आबद्ध भएपछि उनी निरन्तरजसो प्रशिक्षणमा भाग लिन थाले। उनी विद्यालयमा पढ्दा प्रदीप ज्ञवालीको सान्निध्यमा रहेर सांगठनिक काममा संलग्न भएका थिए। उनी भन्छन्, ‘हामीलाई त्यति बेला प्रदीप ज्ञवालीले प्रशिक्षण दिनुहुन्थ्यो। उहाँले जस्तो राम्रो प्रशिक्षण सायदैले दिन्थे होला।’

प्रशिक्षणका बेला थापा समाजवाद, नौलो जनवाद, साम्यवाद के हो? भनेर प्रश्न गर्थे। अनि ज्ञवालीले राम्रा अक्षरमा लेखेर उनलाई दिन्थे। थापा भन्छन्, ‘मैले बनाएका प्रश्नको उत्तर प्रदीप ज्ञवालीले असाध्यै राम्रो अक्षरमा लेखिदिनुहुन्थ्यो। त्यसैले उहाँ मेरा राजनीतिक गुरु हुनुहुन्छ।’ आफूले राजनीतिक रूपमा प्रभावकारी प्रशिक्षण ज्ञवालीबाटै लिएको बताउँछन्, उनी।

२०४६ चैतमा बहुदल आयो। भूमिगत जीवनबाट धेरै नेता सार्वजनिक भइसकेका थिए। तर तत्कालीन मालेको महासचिव भने भूमिगत हुने निर्णय भएको रहेछ। थापा भन्छन्, ‘एउटा प्रशक्षिण हुँदा हाम्रो महासचिव को हो? भनेर प्रश्न गरेँ। महासचिव भूमिगत राख्ने निर्णय छ भन्ने उत्तर आयो।’ त्यसपछि यस्तो प्रश्न सोध्ने को हो? भनेर मेरो खोजी हुँदा म निकै उत्साहित भएको थिएँ। यस विषयलाई प्रदीप ज्ञवालीले थापाको एक पुस्तकको भूमिकामा लेखेका छन्।

उनलाई सबैभन्दा बढी प्रभाव नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको परेको थियो। २०४७ को चैतमा उनी पहिलोपटक काठमाडौँ आउँदा भण्डारीले चाबहिलमा गरेको भाषण सुनेका थिए। त्यति बेला भण्डारीका ‘महाराज आँखा नचम्काइबस्क्योस्…’ निकै चर्चित बनेको थियो। भण्डारीको त्यही भाषणबाट प्रभावित भएको थापा बताउँछन्।

पढाइ र अनुशासनमा सिद्धार्थ माविका तत्कालीन प्रधानाध्यापक (हेड सर) नरेन्द्र क्षेत्री प्रेरक व्यक्तित्व रहेको उनी बताउँछन्। भन्छन्, ‘उहाँँसँग संगत नभएको भए म यो ठाउँमा हुने थिइनँ।’

सांसद बन्दाको क्षण

राजधानीलाई कर्मथलो बनाएर पार्टीका केन्द्रीय नेताहरूको सामीप्य रहे पनि उनले जन्मभूमि प्यूठानमा सक्रियता घटाएनन्। बेलाबेलामा गाउँ जाने, विभिन्न कार्यक्रम गर्ने, युवालाई अध्ययनमा लाग्न प्रोत्साहन गर्ने, भौतिक पूर्वाधारको विकास गर्ने काममा उनी निरन्तर लागिरहे। उनी भन्छन्, ‘काठमाडौँमा व्यस्त रहे पनि गाउँसँगको साइनो कहिल्यै टुटाइनँ।’

थापा २०७४ को निर्वाचनमा लड्ने तयारीमा थिए। तर वाम गठबन्धनका कारण पछि हट्नुपर्‍यो। आफूले टिकट नपाए पनि तत्कालीन महासचिव ईश्वर पोखरेलको निर्वाचन परिचालन कमिटीको संयोजक भए। काठमाडौँ ५ बाट पोखरेलले नौ हजार ८५० मतान्तरमा चुनाव जिते। यसपटक भने पोखरेल कांग्रेसका प्रदीप पौडेलसँग पराजित भएका छन्।

‘म समाजशास्त्रको विद्यार्थी हुँ। लामो समय पत्रकारिता गरेका हुनाले समस्या पहिचान गर्ने सामर्थ्य राख्छु। सार्वजनिक सरोकारको विषय बुझ्न सजिलो छ।

जिल्लामा एक वर्षको तयारीले चुनाव जित्न सफल भएको थापा बताउँछन्। उनी भन्छन्, ‘जिल्लामा पहिलेदेखि नगएको भए तयारी पुग्ने थिएन। अझै भनाैँ, म एक वर्ष इन्चार्ज नभएको भए पनि असहज हुने थियो।’

जिल्ला अधिवेशन गर्नेदेखि स्थानीय तहको निर्वाचन गर्ने काममा लाग्दा उनलाई संघीय प्रतिनिधिसभा सदस्यमा लड्न थप सहज भयो। निर्वाचनमा उनी ४१ हजार ११८ मत ल्याएर निर्वाचित भए। प्यूठानमा एमालेले समानुपातिक तर्फ ३३ हजार ८०४ मत पाएको छ। पार्टीको भन्दा थापाका पक्षमा सात हजार ३१४ मत बढी आएको छ। ४० हजारभन्दा बढी मत ल्याएर चुनाव जित्नेमा उनी एमालेभित्र चारजनामा पर्छन्।

‘म निकै असजिलो बाटो पार गर्दै यहाँसम्म आइपुगेको हुँ,’ उनी भन्छन्, ‘मलाई यहाँसम्म पुर्‍याउन धेरैको साथ र सहयोग छ। जिल्लाका मतदाताले पत्याएका छन्। सांसद बनेको छु। यसमै गर्व गर्छु। नेतृत्वले पत्याउँदा विगतमा विभिन्न जिम्मेवारी पूरा गरेको छु। अब पाएमा मन्त्रालय पनि चलाउन सक्छु।’

थापा ०७१ सालदेखि पार्टीको केन्द्रीय नेतृत्वमा छन्। उनले चार वर्ष पार्टीको केन्द्रीय पर्यटन विभागको प्रमुख भएर काम गरेका छन्। उनी भन्छन्, ‘अब पूर्णकालीन राजनीतिबाट बाहिर जान सक्दिनँ।’

संसद्‌मा उठाउने एजेन्डा

संसद्‌मा पनि एमालेका तत्कालीन महासचिव मदन भण्डारीकै विचारअनुसार अघि बढ्ने पक्षमा छन्, थापा। भण्डारीले संसद्‌मा सम्बोधन गरेका विषय समेटेर पुस्तक लेखेका छन्। उनी भन्छन्, ‘उहाँले संसद्‌भित्र गरेको सम्बोधनलाई समेटेर मैले ‘स‌ंसद्‌मा मदन भण्डारी’ नाम पुस्तक प्रकाशन गरेको छु। त्यही आधारमा काम गर्नेछु। उनकै आदर्शमा रहेर अघि बढ्नेछु। मलाई लाग्छ हरेक सांसदका लागि यो पुस्तक मार्गदर्शन बन्न सक्छ।’

कुनै पनि मुद्दामा पार्टीको अडान र जल्दाबल्दा सामाजिक समस्यालाई पनि आफूले संसद्‌मा उठाउने उनी बताउँछन्। भन्छन्, ‘आफ्नो निर्वाचन क्षेत्रका शिक्षा, स्वास्थ्य र जनजीविकाका विषयलाई पार्टीको अडानमा रहेर बोल्नेछु।’

अध्ययन र छलफल गरेर निष्कर्षमा पुग्ने गरी आवाज उठाइने पनि उनी बताउँछन्। भन्छन्, ‘म समाजशास्त्रको विद्यार्थी हुँ। लामो समय पत्रकारिता गरेका हुनाले समस्या पहिचान गर्ने सामथ्र्य राख्छु। सार्वजनिक सरोकारको विषय बुझ्न सजिलो छ। खोज पत्रकारिता केन्द्र र नेपाल प्रेस इन्स्टिच्युटको प्रशिक्षण मेरो सिकाइको सिँढी हो। राजेन्द्र दाहाल, हस्त गुरुङले सिकाएका कुराले सधैँ अघि बढ्न प्रेरित गरिरहन्छ।’

कडा स्वभावको रहस्य

केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला थापा प्रेस सल्लाहकार थिए। धेरैले उनलाई सूचना लुकाएको आरोप लगाउँथे त्यति बेला। यस्तै पत्रकारमैत्री नभएको आरोप पनि उनीमाथि लाग्थ्यो। उनलाई कडा स्वभावको मानिस भन्नेहरू पनि थिए। यसबारे उनको स्पष्टोक्ति यस्तो छ, ‘जोसँग कुराकानी भएको छ, ऊसँग आत्मीय सम्बन्ध भइहाल्छ।’

व्यक्तिगत सम्बन्ध र व्यावसायिक सम्बन्ध फरक हुनुपर्नेमा जोड दिँदै उनी भन्छन्, ‘मलाई प्रश्न सोध्नेले पनि सम्बन्धित विषयमा केही न केही ज्ञान त आर्जन गरेको हुनुपर्छ नि!’ पत्रकार पनि अध्ययनशील र समसामयिक घटनाक्रमबारे अद्यावधिक हुनुपर्ने उनको सुझाव छ।

आफूलाई हक्की स्वभावको भन्न रुचाउँछन्, थापा। भन्छन्, ‘म हक्की हुनुको कारण मैले पढेको विद्यालयका प्रधानाध्यापक नरेन्द्र क्षेत्रीको प्रभाव हो। उहाँबाट मैले नराम्रो नगर र कसैसँग नझुक भन्ने सिकेँ।’ तिनै हेड सरको अनुशासन, अध्यापन र प्रशासनबाट आफू प्रभावित भएको उनी बताउँछन्।

राजनीति कता जाला?

राजनीतिमा पुस्तान्तरण स्वाभाविक रूपमा हुनुपर्ने उनको बुझाइ छ। नेतृत्वको पछिल्लो पुस्ता क्रमिक परिवर्तनबाट अघि बढेकाले पनि पुरानो पुस्ताले क्रमशः जिम्मेवारी हस्तान्तरण गर्दै जाने र नयाँले लिँदै जानुपर्ने थापा बताउँछन्।

उनी भन्छन्, ‘हामी क्रान्ति गरेर आएका होइनौँ। अघिल्लो पुस्ताले जस्तो संघर्ष पनि हामीले गर्नुपरेन। पुरानो पुस्ताले गरेका जति त्याग र समर्पण हामीले गरेका छैनौँ। त्यसैले हामीले क्रमिक रूपमा नेतृत्व लिँदै जाने हो।’ यसका लागि अघिल्लो पुस्ताले पनि त्याग गर्नुपर्ने बताउँछन्।

‘मुख्य कुरा जनताको जीवन, राष्ट्रको हैसियत र समाज बदल्नुपर्छ। हामीले राष्ट्रको हैसियत परिवर्तन नगरेसम्म केही हुँदैन। बहुदलीय जनवाद वा समाजवाद जे भने पनि आमनागरिकका समस्या समाधानमा चासो हुनैपर्छ।’

बागमती प्रदेशमा पूर्वमुख्यमन्त्री डोरमणि पौडेललाई थापा उदाहरणका रूपमा अघि सार्छन्। भन्छन्, ‘मकवानपुर-२ बाट चुनाव लड्छु भनेको भए पाउनुहुन्थ्यो। तर उहाँले नाति पुस्ता (महेश बर्तौला) लाई अघि बढाएर उदाहरणीय काम गर्नुभएको छ।’ बर्तौला उक्त क्षेत्रबाट निर्वाचित भएका छन्।

सांगठनिक आधार बनाउन सके नयाँ खुलेका दलहरूको भविष्य राम्रो रहेको उनी बताउँछन्। भन्छन्, ‘वर्षाको खहरे जसरी आएर हुँदैन। खहरेले फाँट सिञ्चित त हुँदैन।’ नयाँ दलले कुलो र नहर बन्ने अवस्था सिर्जना गर्न आवश्यक रहेको उनको सुझाव छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको जन्म नै तटस्थ रहनेहरूको रहरले भएको उनको बुझाइ छ। यस्तै उक्त पार्टीलाई तटस्थ मतदाताको भोट गएको उनी बताउँछन्। पार्टीका नेताहरूको बुझाइ, व्यवहार र प्रस्तुति राम्रो रहे पनि जनतामा भिज्न बाँकी रहेकाले अहिल्यै राष्ट्रिय स्वतन्त्र पार्टीको मूल्यांकन गर्ने बेला आइनसकेको उनी बताउँछन्।

लोकतान्त्रिक व्यवस्था बलियो बनाउन अहिलेको जसरी काम गराइले नहुने उनी बताउँछन्। थापाले तत्कालीन चिनियाँ नेता देङसियाओ पिङलाई स्मरण गर्दै भने, ‘बिरालो कालो वा सेतो जुनसुकै होस् तर मुसा मार्ने हुनैपर्छ।’

मुलुकलाई गरिबी र पछौटेपनबाट माथि उठाउन सकेमा मात्रै माननीय हुनुको अर्थ रहने उनी भन्छन्, ‘मुख्य कुरा जनताको जीवन, राष्ट्रको हैसियत र समाज बदल्नुपर्छ। हामीले राष्ट्रको हैसियत परिवर्तन नगरेसम्म केही हुँदैन। बहुदलीय जनवाद वा समाजवाद जे भने पनि आमनागरिकका समस्या समाधानमा चासो हुनैपर्छ।’

जोसुकै प्रधानमन्त्री, मन्त्री हुँदा पनि अहिलेको शैली परिवर्तन नहुने हो भने जनताले सुख र समृद्धि प्राप्त गर्न नसक्ने उनी बताउँछन्। नेतृत्व गर्नेले समयमै आफ्नो क्षमता देखाएर काम गर्नुपर्ने उनको बुझाइ छ। यस सम्बन्धमा इरानका अन्तिम राजा रेजा शाह पहलवीको भनाइ उधृत गर्दैै भन्छन्, ‘जबसम्म म इरानमा थिएँ, इरान बुझ्न सकिनँ। आज इरान बुझेको छु, तर म इरानमा छैन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast