
काठमाडौँ- लुम्बिनी अल स्टार्सले नेपाल टि२० लिगमा विजयी सुरुवात गरेको छ। लुम्बिनीले शनिबार फार वेस्ट युनाइटेडलाई ६७ रनले पराजित गरेको हो। उसको जितमा लाहिरु मिलान्थाको अर्धशतक महत्त्वपूर्ण साबित भयो।
टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ओभरमा ७ विकेटको क्षतिमा १५२ रन बनाएको थियो। लुम्बिनीले दिएको मध्यम लक्ष्य पछ्याउँदा फारवेस्ट भने १६.२ ओभरमा ८५ रनमै अलआउट हुन पुग्यो।
लुम्बिनीका लागि श्रीलंकन ब्याट्सम्यान मिलान्थाले ५० बलमा ६० रन जोडे। शनिबारबाटै सुरु नेपाल टि२० लिगमा अर्धशतक प्रहार गर्ने उनी दोस्रो खेलाडी हुन्। यसअघि पहिलो खेलमा काठमाडौँ नाइट्सका आज्मतुल्लाह ओमारजाईले ८५ रन बटुलेका थिए। संयोगवश दुवै अर्धशतक विदेशी खेलाडीले बनाएका हुन्।
मलिान्थासँगै ओपनिङ गरेका भारतीय अन्डर १९ टिमका कप्तान उन्मुक्त चन्द भने दुई रनमा आउट भए। यही वर्ष उमेर समूहको विश्वकप भारतलाई दिलाएका उन्मुक्तको नेपाली भूमिमा डेब्यु भने बिर्सनलायकको रह्यो।
लुम्बिनीका कप्तान दीपेन्द्र सिंह ऐरीले ३५ रनको योगदान गरे भने गुल्शन झाको नाममा २५ रन रह्यो। अन्य ब्याट्सम्यानले भने उल्लेखनीय रन बटुल्न सकेनन्।
बलिङतर्फ उमैर अली र करण केसीले तीन–तीन विकेट लिए। मिलान्थलाई आउट गरेका संयुक्त अरब इमिरेट्स (यूएई) का अलीले कप्तान दीपेन्द्र र कुशल भुर्तेलको पनि विकेट लिएका थिए।
फारवेस्टका जम्मा दुई ब्याट्सम्यानले मात्र दोहोरो अंकको स्कोर गरे। कप्तान हस्मतुल्लाह शाहिदीले सर्वाधिक ३५ रन बनाउँदा विनोद भण्डारीको नाममा १३ रन रह्यो। बाँकी ब्याट्सम्यान भने सस्तैमा आउट भइरहे।
ओपनर हरिशंकर साह शून्यमा आउट भए भने अर्का ओपन देव खनालले नौ रन बटुले। उमैर अली चार र भिम शार्की तीन रनमा समेटिँदा रशिद खान, करण केसी र शेर मल्ल एक–एक रनमा सीमित भए।
फारवेस्टको इनिङ्स धराशयी बनाउन दीपेन्द्र सिंह ऐरीले ६ रन खर्चिएर २ विकेट हात पारे। पराजित टिमका कप्तान शाहिदीको विकेट लिएका उनले सागर वसन्त कार्कीलाई २ रनमा सीमित गरे। त्यसैगरी सागर ढकालले पनि दुई विकेट नै लिए भने पाट ब्राउन, किशोर महतो र विपुल शर्माले एक–एक विकेट लिए।