‘हिजोआज एउटा शब्द छ बागी, त्यही सापटी लिएर भन्छु, विनोदविक्रम केसी बागी कवि हुन्। युगौँदेखि शोषण, दमनमा परेकाहरू उनका कविताका विषय बन्छन्। तिनको आवाजलाई कविले मुखर भएर उठाउँछन्।’
समय : दिउँसो ३ बजे
स्थान : मण्डला थिएटर, थापागाउँ, काठमाडौँ
कार्यक्रम : ‘अ पोएट्री कन्सर्ट विद विनोदविक्रम केसी’
आयोजक : सुसेला संगीत समूह
केही दिनयता माथि लेखिएको विवरणसहितको पोस्टर फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जालमा खूब पोस्ट र सेयर भइरहेको थियो।
‘सुसेला संगीत समूह’ले आयोजना गरेको त्यस एकल कविता वाचन कार्यक्रममा गुञ्जिने थिए, कवि विनोदविक्रम केसी। पछिल्लो पुस्ताका सशक्त र प्रभावशाली कविका रूपमा चिनिन्छन् उनी।
कथा, निबन्ध, व्यंग्य लेखन र अनुवादमा सक्रिय केसीका ‘भोकको क्षेत्रफल’ कवितासंग्रह र ‘भेन्टिलेटरमा आमा’ निबन्धसंग्रह प्रकाशित छन्।
उनका कविताका प्रशंसक धेरै छन्। काठमाडौँ उपत्यकामा मात्र नभई नेपालभरि छन्। त्यसैले होला उनको कविता सुन्नकै लागि पोखरा, हेटौँडा र बाग्लुङबाट समेत कविताप्रेमी काठमाडौँ आइपुगेका थिए।
उनलाई सुन्न मण्डला थिएटरमा साहित्यकारदेखि पत्रकारसम्म उपस्थित थिए। अघिपछि नाटकका दर्शकले भरिने मण्डलामा त्यस दिन कवितापारखीको घुइँचो थियो।
अभिनेता दयाहाङ राईको निर्देशन रहेको नाटक ‘कुभिण्डोको कथा’को मञ्चन त्यस दिन रोकिएको थियो। त्यस दिन स्वयं अभिनेता दयाहाङ राई पनि कविता सुन्ने सुरमा थिए।
दिउँसो ३ बजे सुरु हुने भनिएको कार्यक्रम प्राविधिक कारणले निश्चित समयभन्दा एक घण्टा ढिलो सुरु भएको थियो। कवि केसीको कविता सुन्न कविताप्रेमी कार्यक्रम सुरु हुने व्यग्र प्रतीक्षामा थिए। ४ बजेतिर कार्यक्रम सुरु भयो। उद्घोषक कविता सुवेदीले कार्यक्रम सुरु गरिन्।
कार्यक्रम ढिला सुरु भएकोमा कवि विनोदविक्रम केसीले त्यहाँ उपस्थित सबैसँग क्षमा माग्दै, आफ्नो पहिलो कविता सुनाए, ‘प्रेम : एक भोजन’
मायालु !
तिमी आयौ
महिनौँपछि मजदुरको भान्छामा मासु आयो
हेर, उसका लालाबालाका आँखामा
क्या स्वादिलो चमक आयो
तिनका तृप्तिका पाइलाहरू पुग्नेछन् जहाँसम्म
त्यहाँसम्म फैलिएको हुनेछ
हाम्रो प्रेमको भूगोल
मण्डला थिएटरको प्रेक्षालयमा तालीका पर्रा छुटे। त्यसपछि कविले अर्को कविता वाचन गरे, ‘मृतक प्रेमीको फिराद’।
रुकुम हत्याकाण्डका सम्झनामा उनले सो कविता रचेका हुन्। अन्तरजातीय प्रेमका कारण नवराज विक र उनका साथीहरूले आफ्नो सुन्दर जीवन गुमाउनुप¥यो। ती कलिला जीवनको हत्या गरी भेरी नदीमा बगाइएको थियो। घटनामा कविले अफसोच प्रकट गरे।
त्यस घटनाबाट निराश भएका बेला आफूले यो कविता लेखेको उनले कार्यक्रममा बताए। ‘घटनापछि निराश र हतास थिएँ,’ उनले भने, ‘म ‘प्रिभिलेज्ड’ जातको मान्छे।जात व्यवस्थाले लादेको बोझ मसँग छ।’
देशमा लोकतन्त्र ल्याउन आफूलगायत लाखौँ मान्छे आन्दोलनमा हिँडेको उनले सम्झिए। ‘लाखौँ नेपालीले गरेका आन्दोलनहरूको समीक्षा गर्न मन लाग्यो,’ उनले भने, ‘हामीले कस्तो समाज निर्माण गरेछौँ! आन्दोलन हुँदाहुँदै त त्यस्तो नृशंंस हत्याकाण्ड भयो। ती आन्दोलन नभएका भए हालत के हुन्थ्यो?’
यस्तो छ ‘मृतक प्रेमीको फिराद’ कवितांश
मेरो प्रेम अधुरो क्रान्ति हो
संसारको कुनै न कुनै कुनामा
एउटा न एउटा अतृप्त प्रेमीले
पिरतीको मसाल त बोक्ने नै छ
आहत मुटुको रगतले मात्र होइन
यदाकदा प्रेमपत्र बन्दुकले पनि लेखिनेछ
कवि केसीले ‘आज सरको क्लास लिन्छ विद्यार्थी’, ‘तपाईं सीसीटीभीको निगरानीमा हुनुहुन्छ’, ‘भूमण्डलीकरण’, ‘शुभकामना ः फोहोरको नयाँ प्रजाति’, ‘जण्ड वेश्याको वक्तव्य’ लगायत एक दर्जनभन्दा बढी कविता वाचन गरे।
कवि केसीले सुनाको ‘अप्ठ्यारो मान्छे’ को केही अंश :
म अप्ठ्यारैअप्ठ्यारोहरूबाट बनेको
अप्ठ्यारो मान्छे हुँ
मैले सजिलो खोजेँ भने
मैले सजिलो रोजेँ भने
मृत्यु हुन्छ एउटा बागीको
बिच्किन्छ एउटा तुफानी यात्रा
दुनियाँ कुरूप बनाउने नियतहरूविरुद्ध चलाउन
बाँकी बच्ने छैन एउटै अस्त्र
समाप्त हुनेछ खराब र असलको भेद
कार्यक्रममा कवि विमल निभाले कवि केसीलाई ‘बागी कवि’ भनेर सम्बोधन गरेका थिए। ‘हिजोआज एउटा शब्द छ बागी, त्यही सापटी लिएर भन्छु, विनोदविक्रम केसी बागी कवि हुन्,’ उनले भने, ‘युगौँदेखि शोषण, दमनमा परेकाहरू उनका कविताका विषय बन्छन्। तिनको आवाजलाई कविले मुखर भएर उठाउँछन्।’
निभाले केसीको ‘भोकको क्षेत्रफल’ कविता वाचन गरेका थिए।
कवि भूपाल राईले केसीलाई ‘कविताको पदयात्री’ भनेका थिए। ‘विनोदविक्रमको एउटा कवितामा सयौँ अरू कविता हुन्छन्,’ उनले भने, ‘ऊ पोखराको कविता लेख्दैछ भने पोखरा पुगिञ्जेल सयौँ पोखरा आउँछन् उसका कवितामा। सयौँ ल्यान्डस्केप आउँछन्। त्यसैले ऊ कविताको पदयात्री हो।’
प्रेक्षालयमा उपस्थित कविताप्रेमीलाई कवि राईले केसीको ‘नेपाल सानै छ, देवकोटाजी!’ सुनाएका थिए।
कवि शान्ति प्रियवन्दनाले केसीको ‘गिटार भिरिहिँड्ने युवती’ कविता सुनाएकी थिइन्।
केही महिनाअघि सञ्चालनमा आएको ‘सुसेला संगीत समूह’ले कार्यक्रममा कवि केसीका तीनवटा गीतको लाइभ प्रस्तुति दिएको थियो। ‘ए छोरी, लाइदे आलाराम’, ‘सडक बढार्ने केटी’ र ‘बाढी पैरो, दुःख गैरो’ गीतलाई समूहका कलाकारले प्रस्तुत गरेका थिए।
गायन र वाद्यवादनमा अन्जान बाबु, सानु तामाङ, विष्णु अधिकारी, स्यामुएल गन्धर्व, अजय नेपाली र अर्जुन क्षेत्रीलगायत थिए।
सुसेलाका संयोजक अन्जान बाबुले आफूहरूले यसप्रकारको पहिलो कार्यक्रम गरेको र आगामी दिनमा काव्यशालालाई शृंखलाबद्ध अगाडि लैजाने बताए। उनले सुसेला सडक आन्दोलन र राजनीतिक–सांस्कृतिक अभियानकै बीचबाट स्थापित भएको पनि सुनाए।
‘आगामी दिनमा हामी जनताका बीचमा, श्रमजीवीले काम गर्ने कारखाना र किसानका श्रम गर्ने खेतबारीमा सांस्कृतिक अभियान लिएर जाने सोचेका छौँ,’ उनले भने, ‘यसमा तपाईंको साथ, सहयोग रहने विश्वास छ।’