बझाङ- सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा भुवा पर्व सुरु भएको छ। बाजुरा, बझाङ, अछामलगायत जिल्लामा मनाइने भुवा पर्व प्रत्येक वर्ष पुसे औँसीको अघिल्लो दिनदेखि सुरु हुन्छ।
पछिल्लो समय सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा पनि यो पर्व मनाउन थालिएको छ। द्वापरयुगमा पाण्डव र कौरवबीचको लडाइँ सकिएपछि पाण्डवको विजयसँगै खुसियाली मनाएको दिनलाई स्मरण गर्दै विभिन्न स्थानमा भुवो खेल्ने गरिन्छ।
खप्तडछान्ना गाउँपालिका-५ का माधवप्रसाद जोशीका अनुसार सिन्धुघाँटीको सम्भतादेखि प्राचिन नेपाली समुदायमा भुवो पर्व मनाइँदै आएको छ।
सुदूरपश्चिममा जुम्ला सभ्यता छिटो फैलँदै आएका जिल्लामा भुवा पर्व मनाउने गरेको उनले बताए। पर्वमा महाभारतका पाण्डव र कौरवको युद्धका बेला पाण्डवको संघर्ष, जंगलमा बास बसेको समय, विकासमा खेलेको भूमिकालाई लिएर भुवाका माणा (गीत) गाउने चलन रहेको छ।
वनबास बस्दा पाण्डवका भाइहरू पुगेको ठाउँमा छोडेको चिनारी भएको आसपासमा यो पर्व बढी मनाउने गरेको उनले बताए। ‘बढीजसो पाण्डव पुगेको ठाउँमा कतै ढुंगा बोकेको, कतै खनेको, केही आकृतिका ढुंगा गाडेकोजस्ता चिनारी छोडेको ठाउँमा यो पर्व बढी मनाउँछन्’ उनले भने।
पछिल्लो समय पहिचान जोगाउनका लागि पनि धेरै समुदायले भुवा पर्व मनाउने गरेका छन्। स्थानीय सरकार आफैँ पनि पर्व जोगाउनका लागि लागि परेका छन्।
‘आफ्नो संस्कार, संस्कृति, पहिचान जोगाउनका लागि पर्वको जगेर्ना गर्नुपर्छ’, जयपृथ्वी नगरपालिका प्रमुख चेतराज बजालले भने, ‘पहिचान जोगाउनका लागि अहिले धेरै स्थानीय सरकार आफैँ अग्रसर भएका छन्। हामीले पनि पर्वको संरक्षणका लागि आर्थिक सहयोग गर्दै स्थानीयलाई आग्रह गरेका छौँ।’
भुवा पर्वमा रातभरि आगो बालेर देउडा, भारीखेल, भस्सोलगायत खेल छुट्टाछुट्टै खेल्ने चलन छ। यो पर्व तीनदेखि पाँच दिनसम्म मनाइन्छ। कुनै ठाउँमा भुवो खेल्दा गाउँमा छैटी खेल्ने चलन पनि छ।
बडिमालिका नगरपालिका-१ पाटा बाजुराका यज्ञराज पण्डितका अनुसार घरको जेठो छोरा जन्मेको एक वर्ष पूरा गरेपछि उसको घरमा गएर छैटी माग्ने चलन छ।
पण्डितले भने, ‘हाम्रो बाजुरामा घरमा जेठो छोरो जन्मिएको एक वर्ष पूरा भएपछि भुवो पर्वकै अवसरमा छैटी खेल्ने चलन छ। छैटीमा घरको आँगनमा भगवान् श्रीकृष्णको गाथा गाउने, बच्चालाई मान्यजनले आशिर्वाद दिने र सबै गाउँलेलाई बोलाएर भोज गर्ने चलन छ।’
उनका अनुसार बाजुरामा पनि फरक फरक तरिकाले भुवा पर्व मनाउने गरिन्छ। भुवाका श्लोक पनि पाण्डवको जितसँगै आफ्नै भाषा, लय, संस्कृतिअनुसार फरक÷फरक गाउने गरिन्छ। ‘कुनै गाउँमा मुकुट लगाई श्रृंगार गरी कसैलाई बाघ, चित्तल, हरिण बनाई बाजागाजाका साथ घुमाउने, नचाउने गरिन्छ भने कुनै ठाउँमा मध्यराति राँके लडाइँ गर्दै गाउँगाउँ जाने गरिन्छ।’ उनले भने।