 
                             
                                            काठमाडौँ– सन् २०२३ का लागि नेपालबाट ९ जनाले अस्ट्रेलियन अवार्ड पाएका छन्। सन् २०२३ मा अस्ट्रेलियामा स्नातकोत्तर अध्ययन गर्नका लागि अस्ट्रेलियन सरकारको तर्फबाट उक्त अवार्ड दिइएको हो।
९ जनामध्ये सार्वजनिक निकायका व्यक्ति, महिला र २ जना फरक क्षमता भएका विद्यार्थी छन्। अवार्ड पाएका विद्यार्थीसँगको अन्तरक्रिया कार्यक्रममा मुख्यसचिव शंकरदास बैरागीले अस्ट्रेलियाको शिक्षाले उनीहरूको व्यक्तिगतसँगै समग्र मुलुकको समृद्धिमा ठूलो भूमिका खेल्दै आएको बताए।
सोही कार्यक्रममा नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भल्कले अवार्ड कार्यक्रम सामाजिक तथा लैंगिक समानतामा बढी केन्द्रित भएको बताइन्। ‘यसलाई हाम्रो तथ्यांकले पनि पुष्टि गर्छ, यो वर्ष हामीले ५६ प्रतिशत महिला, ६७ प्रतिशत पिछडिएको समुदाय र २२ प्रतिशत फरक क्षमता भएका व्यक्ति सहभागी गराएका छौँ,’ उनले भनिन्।
दिगो आर्थिक तथा समाजिक विकासमा अस्ट्रेलियन अवार्ड केन्द्रित छ। यसले विकाससोन्मुख मुलुकका व्यक्तिका लागि उच्च अध्ययन र अनुसन्धानका लागि अवसर प्रदान गर्छ।
अस्ट्रेलिया सरकारले सन् १९५० दशकको कोलोम्बो प्लानसँगै अस्ट्रेलियन अवार्ड सुरु गरेको थियो। त्यसयता विश्वभरका १ लाखभन्दा बढीले यो अवार्ड पाइसकेका छन्। यसमा १ हजार १०० भन्दा बढी नेपालीको संख्या छ।
अस्ट्रेलियन अवार्डले अध्ययन तथा अनुसन्धान अवधिको सम्पूर्ण पढाइ तथा बसाइ खर्च, फर्किने टिकट र स्वास्थ्य बिमा रकम व्यहोर्छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
 