हेटौंडा– अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय हेटौंडाम ४ महिनामा भ्रष्टाचारसम्बन्धी ४ सय ९४ वटा उजुरी दर्ता भएका छन्। शुक्रबार भ्रष्टाचारविरुद्ध अन्तरराष्ट्रिय दिवसको अवसरमा हेटौंडामा आयोजित अन्तक्रिया कार्यक्रममा यस्तो तथ्यांक जानकारी गराइएको हो।
चालु आर्थिक वर्षको सो अवधिमा उक्त संख्याका उजुरीहरू दर्ता भएका हुन्। दर्ता भएका उजुरीमध्ये १ सय ९० उजुरी फछ्र्योट भइसकेका छन् भने बाँकी अनुसन्धानका क्रममा रहेको बताइएको छ।
तथ्यांकअनुसार सो अवधिमा बाराको १ सय ३२, पर्साको १ सय २०, रौतहट ८८, मकवानपुर ८९, चितवन ४३, धादिङ १४, दोलखा ३, रामेछाप र काभ्रेको १/१ र रसुवाका तीन वटा उजुरी परेका छन्। नुवाकोटबाट भने कुनै उजुरी परेको छैन।
गत आर्थिक वर्षदेखि सरेर आएको र चालु आर्थिक वर्षको ४ महिनाको कूल उजुरी संख्या ९ सय ६२ रहेको छ। यी उजुरीमध्ये २ सय ८१ वटा उजुरी फछ्र्योट भइसकेको प्रस्तुत विवरणमा उल्लेख गरिएको छ।
उपलब्ध विवरणमा गैरकानुनी लाभका एक सय २७, राजश्व हिनामिनाका २८, सार्वजनिक खरिद निर्माणका एक सय ५७, विविधातर्फ ८५, भूमिसम्बन्धी १९, शैक्षिक प्रमाणपत्रसम्बन्धी ११, घुससम्बन्धी ३ र गैरकानुनी सम्पत्तीसम्बन्धी ४ उजुरी रहेको कार्यालयका वरिष्ठ इन्जिनियर मोहदत्त भट्टले जानकारी दिए।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव विनोद भट्टराईले देशमा सुशासन कायम गर्न र आर्थिक अनियमितता रोक्नका लागि सरकारका सम्पूर्ण निकाय गम्भिरतापूर्वक लाग्नुपर्ने बताए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए।
बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालयका सचिव शंकर पण्डितले आफ्नो मन्त्रालयअन्तर्गत २ सय ४५ वटा योजना भए पनि कर्मचारी समस्याले काम गर्न अप्ठ्यारो परेको बताउँदै दक्ष जनशक्तीको अभावमा विकास निर्माणको काम अगाडि बढाउन समस्या भएको गुनासो गरे।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले तीन तहका सरकारले आ-आफ्नोतर्फबाट सुशासन कायम गर्न इमान्दारीता लाग्नुपर्ने बताए। आयोगका हेटौंडा प्रमुख नरहरि घिमिरेले इमान्दारिता तथा न्यायपूर्वक काम गर्न सके भ्रष्टाचार नियन्त्रण हुने विश्वास व्यक्त गरे।

                                             
                                             
                                             
                                             
                                             
                                             

