हालान्डले आठ सय गोल गर्नेछन् : डे ब्रुएना

हिमाल प्रेस ११ पुष २०७९ १०:५१ | Monday, December 26, 2022
हालान्डले आठ सय गोल गर्नेछन् : डे ब्रुएना

काठमाडौँ- म्यानचेस्टर सिटीका केभिन डे ब्रुएनाले आफ्ना टिमका स्ट्राइकर एर्लिङ हालान्डले करियरभर आठ सय गोल गर्ने विश्वास व्यक्त गरेका छन्। सिटी तथा बेल्जियममा प्रतिभावान् स्ट्राइकरसँग खेलेका डे ब्रुएनाले २२ वर्षीय हालान्डले अहिलेको भन्दा बलियो लय देखाउन सक्ने पनि बताए।

विश्वकप विश्रामपछि इंग्लिस प्रिमियर लिग सोमबार फर्कदैछ। सिटीले भने बुधबार राति लिड्स युनाइटेडको सामना गर्ने तालिका छ। सिटीको मैदान इत्तिहादमा हुने खेलमा हालान्डले गोल लयलाई कायम राख्ने अपेक्षा गरिएको छ। यही सिजन सिटी पुगेका नर्वेजियन हालान्डले लिगका १३ खेलमा १८ गोल गरिसकेका छन्।

‘उनले आफ्नो करियरमा दुई सय गोल गरिसकेका छन्। यदि उनलाई डरलाग्दा चोट लागेनन् भने उनले आठ सय गोलसम्म गर्न सक्छन्,’ प्लेमेकर डे ब्रुएनाले भने।

डे ब्रुएनाले लामो समय सिटीमा सर्जियो अग्वेरोसँग खेलेका थिए। अग्वेरो सिटीका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन्। सिटीमा तीन सय ९० खेल खेल्दा दुई सय ६० गोल गरेका अग्वेरो गत सिजन बार्सिलोनातर्फ स्थान्तरण भएका थिए। तर मुटुमा समस्या देखिएपछि उनले संन्यास लिइसकेका छन्।

डे ब्रुएनाले अग्वेरोबाहेक अर्का स्तरीय स्ट्राइकरसँग पनि खेलेका छन्। ती हुन्, रोमेलु लुकाकु। त्यसैगरी उनीसँग गाब्रियल जेसुससँग खेलेको अनुभव पनि छ। अर्जेन्टिनाका युलियान अल्भारेज त उनका वर्तमान सहकर्मी भइहाले। यद्यपि उनले यी तीन स्ट्राइकरलाई तुलना गर्न भने मानेनन्।

‘तुलना गर्न सजिलो छैन। किनभने यी तीन फरक शैलीमा खेल्ने स्ट्राइकर हुन्। उनीहरू सबैले आआफ्ना करियरमा तीन सय वा चार सय गोल गरिसकेका छन्,’ डे ब्रुएनाले भनेका छन्।

नर्वेको मोल्डे, अस्ट्रियाको साल्जबर्ग, जर्मनीको बोरुसिया डर्टमन्ड लगायतका क्लबबाट युरोपियन फुटबल खेलिसकेका हालान्ड आफ्नो करियरलालाई लिएर गम्भीर रहेको डे ब्रुएनाको भनाइ छ।

‘उनी अझै सानै छन्। फुटबलमा रमाइरहेका छन्। करियरलाई लिएर उनी गम्भीर देखिन्छन्। गोल गर्नमा निपुण उनले आउँदा वर्षमा निरन्तर गोल गर्नेछन्,’ डे ब्रुुएनाले भने।

प्रकाशित: ११ पुष २०७९ १०:५१ | Monday, December 26, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast