सिप हुनेलाई सरकारले २५ लाख पुँजी दिन्छ : उद्योगमन्त्री बडू

हिमाल प्रेस ८ पुष २०७९ १८:४८ | Friday, December 23, 2022
सिप हुनेलाई सरकारले २५ लाख पुँजी दिन्छ : उद्योगमन्त्री बडू

सिन्धुली– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्र बडूले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार सजग रहेको बताएका छन्। उद्योग वाणिज्य संघ सिन्धुलीले शुक्रबार सिन्धुलीमाढीमा आयोजना गरेको छैटौं सिन्धुली महोत्सवको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

उद्योगहरूको उत्पादन बढाउनका लागि निजी क्षेत्रको सहकार्य आवश्यक रहेको उनको भनाइ छ। आर्थिक नीति र मौद्रिक नीतिमा सुधारका लागि क्षमता अनुसार काम गर्ने उनले बताए। चालु आवको बजेटमार्फत् राष्ट्रिय उत्पादन र उपभोग बढाउने नीति लिइएको र सोही अन्तर्गत नेपाली उत्पादन र उपभोग कार्यक्रम १० वर्षे अभियान सुरु भएको उनले जानकारी दिए। उनले यस वर्ष ३० वटा औद्योगिक ग्राम स्थापना हुने उल्लेख गरे।

ग्रामीण तहदेखि नै उद्योग स्थापना, रोजगारी सिर्जना गरी युवालाई उद्यमशीलतामा नजोड्ने हो भने अर्थतन्त्रमा सुधार आउन नसक्ने उनले बताए। ‘हातमा सिप हुनेहरूलाई उद्यमशिलताका सरकारले ५ लाखदेखि २५ लाख रुपैयाँसम्म बिउ पुँजी दिनेछ,’ उनले भने, ‘युवा र महिलालाई उद्यम सुरु गर्नका लागि सरकारले बिउ पुँजी दिने गरी विषेश कार्यक्रम सञ्चालनको तयारी भइरहेको छ।’

उद्यमशीलता र उद्योग स्थापना सरकारको मुख्य लक्ष्य रहेको उनको भनाइ छ। उद्योगहरू पूर्णक्षमतामा सञ्चालन हुन नसकेको भन्दै यसका लागि सरकारले आवश्यक पहल गर्ने उनले बताए।

जिल्लामा आयोजना हुने महोत्सवले यहाँको उत्पादनको प्रचार र बजारीकरणका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे। महोत्सवबाट हुने आम्दानीले दमकल खरिद गर्ने योजनाको स्वागत गर्दै संघीय सरकारले पनि सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: ८ पुष २०७९ १८:४८ | Friday, December 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast