सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएको चार्ल्स शोभराज को हुन्?

हिमाल प्रेस ६ पुष २०७९ १८:५५ | Wednesday, December 21, 2022
सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएको चार्ल्स शोभराज को हुन्?

काठमाडौँ- सर्वोच्च अदालतले ‘कुख्यात अन्तर्राष्ट्रिय अपराधी’ चार्ल्स शोभराज गुर्मुखलाई रिहा गर्न आदेश दिएको छ। हत्या आरोपमा १९ वर्षदेखि जेल सजाय भोगिरहेका शोभराजलाई न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले रिहा गर्न आदेश दिएको हो।

शोभराजले आफू वृद्ध र रोगी भएको तथा १९ वर्षभन्दा बढी जेल सजाय भोगिसकेको भन्दै रिहाइका लागि निवेदन दिएका थिए। त्यस सम्बन्धमा सुनुवाइ गर्दै अदालतले रिहा गर्न आदेश दिएको हो।
कुख्यात अन्तर्राष्ट्रिय अपराधी शोभराजका बारेमा उपन्यास लेखिएका छन्। फिल्म, नाटक देखि वृत्तचित्रसमेत बनेका छन्। भारतमा ‘मे और चाल्स’ चलचित्र बनेको छ।

‘सिरियल किलर’ शोभराजमाथि विश्वका विभिन्न देशमा हत्या र लागूऔषध तस्करीको अभियोग छ।

हाल भियतनाममा रहेको र तत्कालीन फ्रान्सको साइगोनमा ६ अप्रिल सन् १९४४ मा जन्मिएका शोभराज किशोरावस्थाबाट चोरी र लुटपाटमा संलग्न थिए। उनी सन् १९६३ मा पेरिसमा चोरीको अभियोगमा पक्राउ परेका थिए। जेलमा उनको ठूला अपराधीसँग संगत भएको भयो।

विभिन्न अपराधमा खोजीको सूचीमा परेपछि नक्कली कागजपत्रसहित एसियातर्फ भागेका थिए। उनी पर्यटकलाई लुट्थे । कतिपय घटनामा हत्या पनि गर्थे।

शोभराज जुवाडे थिए। जुवा खेल्न पनि उनी ठूला अपराध गर्न थाले। उनी भारत, अफगानिस्तान, ग्रिसलगायतका देशमा चोरी र डकैतीको अभियोगमा पक्राउ परे। हिरासत र जेलबाटै फरार भए। उनी अपराध गर्दा हत्या गरेका वा लुटिएकाको पासपोर्ट दुरुपयोग गर्थे।

शोभराजमाथि २० भन्दा बढी पर्यटकको हत्या गरेको आरोप छ। उनी भारतमा सन् १९७६ देखि १९९७ सम्म २१ वर्ष जेल परेका थिए। भारतको चर्चित तिहाड जेलमा बस्दा उनले जेल प्रशासनलाई घूस दिएर विलासी जीवन बिताएको आरोप उनीमाथि छ।

उनी सन् २००३ मा नेपाल आउँदा पक्राउ परेका थिए। नेपालमा १९ वर्ष जेलजीवन बिताइसकेका शोभराज वृद्धावस्थामा छन्।

नेपालमा २०३२ पुस ८ मा मनहरा खोलानजिकै कोन्नी जो ब्रोन्जिचको हत्या गरेको पुष्टि भएको थियो। २८ साउन २०६१ मा काठमाडौँ जिल्ला अदालतले शोभराजलाई हत्याको ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो। २०६१ सालमा काठमाडौँको एक क्यासिनोबाट पक्राउ परेका उनी जेलमा रहँदै आएका थिए।

प्रकाशित: ६ पुष २०७९ १८:५५ | Wednesday, December 21, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast