सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने जिम्मेवारी ओलीलाई

हिमाल प्रेस १४ पुष २०७९ ११:४२ | Thursday, December 29, 2022
सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने जिम्मेवारी ओलीलाई

काठमाडौँ- सत्ता साझेदार दलको न्यूनतम साझा कार्यक्रम निर्माणको संयोजकमा केपी शर्मा ओली चयन भएका छन्। बालुवाटारमा बिहीबार बिहान बसेकाे सत्ता गठबन्धनको बैठकले कार्यदल समितिको संयोजकमा ओलीलाई चयन गरेको हो। बैठकले ओली नेतृत्वको साझा कार्यक्रममार्फत पाँच दिनभित्र न्यूनतम सरकारका कार्यक्रम तय गर्न जिम्मेवारी दिएको छ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले न्यूनतम साझा कार्यक्रम बनाउन एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संयोजक बनाउने निर्णय भएको जानकारी दिए। बैठकपछि उनले भने, ‘पाँच दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने निर्णय भएको छ।’

बैठकमा मन्त्रिपरिषद् विस्तारका बारेमा पनि छलफल भएको थियो। लामिछानेले भने, ‘बैठकमा केन्द्र सरकारदेखि प्रदेश सरकारको बारेमा पनि छलफल भएको छ।’

यस्तै हरेक राजनीतिक दलले न्यूनतम साझा कार्यक्रमका लागि सदस्य तोक्ने निर्णय भएको छ। मन्त्रिपरिषद् विस्तार गर्दा क्षमता, योग्यता र यसअघि जिम्मेवारी नपाएका नेतालाई प्राथमिकता दिइने लामिछानेले बताए।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र लामिछाने सहभागी थिए ।

प्रकाशित: १४ पुष २०७९ ११:४२ | Thursday, December 29, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast