विश्वकप विजेता टिमले पाउने नगद पुरस्कार कति?

हिमाल प्रेस ३ पुष २०७९ १९:५३ | Sunday, December 18, 2022
विश्वकप विजेता टिमले पाउने नगद पुरस्कार कति?

काठमाडौँ- विश्वकपको विजेताको छिनोफानो आइतबार राति हुँदैछ। लुसेल रंगशालामा हुने उपाधि भिडन्तमा डिफेन्डिङ च्याम्पियन फ्रान्सले दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाको सामना गर्दैछ। विश्व फुटबलले नयाँ च्याम्पियन पाउन केही घण्टा मात्र बाँकी हुँदा समर्थकको मनमा कौतहुल उब्जिन सक्छ, विश्वकप विजेताले कति पुरस्कार पाउँछ?

यसपालि विश्वकप जित्ने टिमले चार करोड २० लाख अमेरिकी डलर प्राप्त गर्नेछ। विश्व फुटबल नियामक निकाय फिफाले उपविजेता टिमलाई तीन करोड अमेरिकी डलर दिनेछ।

तेस्रो स्थान प्राप्त गर्ने क्रोएसियाले दुई करोड ७० लाख अमेरिकी डलर र चौथो स्थानमा सीमित भएको मोरोक्कोले दुई करोड ५० लाख अमेरिकी डलर पाउनेछन्।

चार वर्षअघि विश्वकप जित्दा फ्रान्सले तीन करोड ८० लाख अमेरिकी डलर पाएको थियो। त्यसबेला फिफासँग ४० करोड पुरस्कार कोष थियो। यसपटक भने यो कोष बढेर ४० करोड ४० लाख अमेरिकी डलर बराबरको भएको छ।

फिफाले दिने नगद पुरस्कार सम्बन्धित टिमको फुटबल संघले प्राप्त गर्छ। त्यसपछि फुटबल संघले आफ्ना खेलाडीलाई पुरस्कार तथा बोनस वितरण गर्ने परिपाटी छ। फ्रेन्च अखबार एल एक्युपका अनुसार फाइनल जिते फ्रेन्च फुटबल संघले किलियान एम्बाप्पेलाई पाँच लाख ८६ हजार अमेरिकी डलर दिनेछ।

विश्वकप खेलेवापत सबै टिमले फिफाबाट नगद पुरस्कार पाउँछन्। सहभागिताका लागि प्रत्येक टिमका सम्बन्धित फुटबल संघलाई कम्तीमा ९० लाख अमेरिकी डलर र विश्वकप तयारी स्वरुप १५ लाख अमेरिकी डलर प्रदान गरिन्छ।

फिफाले पछिल्लो चार वर्षमा कुल सात अर्ब ५० करोड अमेरिकी आम्दानी गरेको छ। यत्तिको आम्दानी फिफाले प्रशारण अधिकार र टिकट बिक्री, प्रायोजक लगायतबाट गरेको हो।

प्रकाशित: ३ पुष २०७९ १९:५३ | Sunday, December 18, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast