विराटनगरलाई डुबान मुक्त बनाउन सम्भाव्यता अध्ययन सुरु

हिमाल प्रेस २७ मंसिर २०७९ ८:२७ | Tuesday, December 13, 2022
विराटनगरलाई डुबान मुक्त बनाउन सम्भाव्यता अध्ययन सुरु

 विराटनगर- विराटनगरलाई डुबानबाट मुक्त गराउन विराटनगर महानगरपालिकाले सम्भाव्यता अध्ययन सुरु गरेको छ। डुबान समस्याको दीर्घकालीन समाधान खोज्न महानगरले एसियाली विकास बैंक (एडीबी)को सहयोगमा वर्षात्को पानीले हुने डुबान व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन सुरु गरेको हो।

वर्षाको पानी सहज निकास नहुँदा हरेक वर्षायाममा विराटनगर डुबानमा पर्ने गरेको छ। महानगरलाई वैज्ञानिकरूपमै डुबानबाट मुक्त गर्न एडीबीको सहयोगमा सम्भाव्यता अध्ययन सुरु गरेको विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले जानकारी दिए।

प्रमुख कोइरालाको नेतृत्वमा सोमबार अध्ययन टोलीले महानगरका डुबानग्रस्त विभिन्न वडाको स्थलगत निरीक्षण गरेको छ। आरयूडीपी प्रोजेक्टअन्तर्गतको स्मेक डिएमले वर्षातको पानी व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन सुरु गरेको प्रमुख कोइरालाले बताए।

विराटनगरमा जम्ने पानीलाई कसरी सिंघिया र केसलिया खोलामा लगेर व्यवस्थापन गर्न सकिन्छ भनेर एडीबीका परामर्शदाताबाट अध्ययनको सुरुआत गरिएको उनको भनाइ छ। त्यस्तै पुराना पैनीहरू घोगा, बस्ता, धुदुवा, च्याङबारी, मर्लीखोलालगायतको पानीलाई पनि मूलखोलामा पुर्‍याएर वर्षाको पानीलाई व्यवस्थापन गर्ने महानगरको योजना छ।

‘विराटनगरको उत्तरबाट दक्षिण र पूर्वबाट पश्चिमसम्मको भाग हेरिरहेका छौँ’, प्रमुख कोइरालाले भने, ‘एडीबीबाट आएका साथीहरूसँग म आफैँ हिँडिरहेको छु। उहाँहरूले अध्ययन गरेपछि एक–दुई हप्ताभित्रैमा प्रतिवेदन तयार पार्नुहुनेछ र त्यसपछिको प्रक्रियामा अगाडि बढ्नेछौँ।’

स्मेक डिएमका टोलीनेता डा शेख जाबेद मोहम्मदसहितको प्राविधिक टोलीले सम्बन्धित वडामा पुगेर पानीको निकासका विषयमा सुक्ष्म अध्ययन गरेको छ। टोलीले अध्ययनपछि विस्तृत प्रतिवेदन तयार पार्नेछ। प्राविधिकसहितको टोलीले विराटनगर वडा नं ३, १५, १७, १८ र १९ मा पुगेर स्थलगत अध्ययन गरेको छ।

प्रकाशित: २७ मंसिर २०७९ ८:२७ | Tuesday, December 13, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast