पाल्पा- कुनै समय पुनः निर्माण हुन नसकेर ओझेलमा परेको लक्ष्मीनारायण धर्मशाला यतिबेला सबैको रोजाइमा पर्न थालेको छ। अहिले यहाँ दैनिक दुई सय बढी आन्तरिक पर्यटक अवलोकन गर्न पुग्ने गरेका छन्। जीर्ण अवस्थामा रहेको सो धर्मशालालाई पुरानै शैलीमा पुनःनिर्माण गरिएपछि सबैलाई लोभ्याएको छ।
कलात्मक शैलीमा पुरानै स्वरुपमा बनाइएको धर्मशाला यतिबेला सामाजिक सञ्जाल, टिकटक, फेसबुकमा चर्चा बढ्दै गएको छ। आकर्षक बुट्टा भरेर चिटिक्क परेको धर्मशाला साथीहरूसँग अवलोकन गर्दै टिकटक बनाउन, फोटो तथा भिडियो खिच्न आएको कृष्णकला श्रेष्ठले बताइन्।
‘हेर्दै आकर्षक खालको धर्मशाला बनेको छ, पुराना काष्ठकलाको प्रयोग गरिएको हुँदा यसले सबैलाई लोभ्याएको छ, रामपुरमा परम्परागत शैलीमा सबैलाई आकर्षित बनाउने संरचना तयार भएको छ,’ उनले भने। रामपुर नगरपालिका–४ स्थित खोप्टारमा रहेको धर्मशाला हालसालै पुनः निर्माणको संरचना तयार भएपछि अवलोकन गर्नकै निम्ति आन्तरिक पर्यटक पुग्दछन्। यहाँ विवाहको बेहुला बेहुली फोटो तथा भिडियो कैद गर्न आउने गरेको स्थानीय जयन्ती घिमिरे बताउँछिन्। बिहान उज्यालो भएदेखि राति अबेरसम्म धर्मशालामा आउने जाने क्रम चलिरहेको घिमिरेले बताइन्।
कालीगण्डकी बेँसीको धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको धर्मशालामा २०७२ सालको भूकम्पबाट क्षति पुगेको थियो। त्यसको पौराणिक अस्तित्व बचाइ राख्न पुरानै शैलीमा पुनःनिर्माण गरिएको हो। लक्ष्मीनारायण गुठी सञ्चालन संस्थाको स्वामित्वमा धर्मशाला (गुठी) का रूपमा सञ्चालन हुँदै आएको थियो। पुरातत्व विभागको विशेष पहलमा करिब ३ करोड ६ लाख ५३ हजारको लागतमा पुनः निर्माण गरिएको छ।
पुरानो धर्मशाला भुइँतलासहित तीनतले ६ कोठा, दायाँ र बायाँ एक/एक वटा बालापालीको थियो भने छानो झिँगटीको थियो। पहिला झिँगटीले छाइएको थियो भने अहिले लामो समयसम्म झिँगटीले काम नगर्ने भएपछि जस्तापाताले छाइएको छ। चन्द्रमा, सूर्य आकारका विभिन्न बुट्टाले भरिएका छन्। सुर्की, इँटा, ढुंगा, काठले तयार पारिएको छ।
धर्म एस निर्माण सेवा प्रालिले २०७८ असार १६ गते ठेक्का सम्झौता गरी भदौदेखि निर्माण कार्य सुरु गरेको हो। २०८० असारमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको सो निर्माण कम्पनीले तोकिएको समयभन्दा अगावै काम सकेको छ। संरचना निर्माणको काम सम्पन्न भएपछि अहिले अवलोकन गर्न आउनेको दैनिक भीड लागेको लक्ष्मीनारायण गुठी सञ्चालन समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मी बताउँछन्।
अध्यक्ष रेग्मीका अनुसार धर्मशालाको रङरोगनको काम बाँकी रहेकाले सो काम नसक्दासम्म अवलोकनमा निःशुल्क व्यवस्था गरिएको छ भने आउँदो पुस ११ गतेपछि केही शुल्क कायम गरेर अवलोकन गर्ने प्रबन्ध मिलाइनेछ। रामपुरलाई चिनाउने धर्मशालालाई संरक्षण गर्दै पुरानै शैलीमा तयार पारिएको हुदा सबै उमेर समूहलाई आकर्षित बनाइरहेको छ।
संग्रहालयका रूपमा विकास गर्ने गरी संरचना तयार पारिएको हुँदा स्थानीय सरोकारवालाको छलफल बसेर यसलाई प्रयोगमा ल्याउने रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा बताउँछन्।
‘रामपुरको यो ऐतिहासिक धार्मिक सम्पदा रामपुरको गहनाको रूपमा रहेको छ, पुराना चलनचल्तीमा आएका तर अहिले लोपोन्मुख अवस्थामा रहेका सामग्रीलाई संकलन गरेर धर्मशालामा राख्नेछौँ, यसको रेखदेख प्रयोग र सञ्चालनको जिम्मेवारी सरोकारवालाको छलफलले तोकेपश्चात् प्रयोगमा ल्याउनेछौँ,’ नगर प्रमुख थापाले भने।
करिब एक रोपनी क्षेत्रफलमा धर्मशाला निर्माण गरिएको छ। यहाँ शौचालय, चारैतिर पर्खाल लगाउने काम बाँकी छ। यस धर्मशालालाई पार्टी भवनका नामले बढी चिनिन्छ। सो सम्पदा १८८९ भन्दा अघि निर्माण भएको ताम्रपत्रमा उल्लेख छ। यहीँ पार्टी भवनअर्थात् धर्मशालामा २०२५ मा स्थापना भएको रामतुलसी मावि आठ महिना सञ्चालन भएको बुढापाका बताउँछन्।
पौराणिकतालाई प्राथमिकता दिँदै काठमाडौँदेखि निर्माण सामग्री ल्याएर पुरानै शैलीमा संरचना तयार पार्न अनुभवी विज्ञ कामदार खटाइएको थियो। पुराना सांस्कृतिक, धार्मिक सम्पदाले नगरको पहिचान बनाउने र परिचालन राम्रोसँग गर्न सकियो भने उत्कृष्ट धार्मिक पर्यटकीयस्थलका रूपमा चिनाउन सकिन्छ।
१८७९ मा साविक रामपुर गाविस–८ का समाजसेवी तुल्सीराम रेग्मीले गुठी निर्माण गरेका थिए। तत्कालीन समयमा यस क्षेत्रमा भित्रिने विशिष्ट व्यक्तिको स्वागत, बसोबास र धर्मशालाका रूपमा गुठी निर्माण गरिएको हो। तत्कालीन समयमा बाटोमा हिँड्दा बटुवाका लागि बाँस बस्ने प्रयोजनका लागि गुठीको निर्माण गरी सोहीअन्तर्गत धर्मशाला बनाइएको थियो।
टाढाको गन्तव्य तय गर्ने र दिनहुँ हिँड्नुपर्दा बीचमा बाँस बस्ने व्यवस्था नहुँदा यही धर्मशालामा रात बिताउने र भोलिपल्ट आफ्नो गन्तव्यतर्फ लाग्ने गर्दथे। पछिल्ला वर्षमा सडक सुविधा, घर बस्ती बढेसँगै धर्मशाला प्रयोगविहीन भएपछि संरक्षणमा कसैको ध्यान जान सकेको थिएन। २०७२ को भूकम्पले यसलाई क्षति गरेपछि यो जीर्ण थियो। पुरानै शैलीमा निर्माण गरिँदा नयाँ पुस्ताले पुराना कुरा सिक्ने र बुझ्ने अवसर दिलाउन जिर्णो धर्मशाला पुनःनिर्माण गरिएको हो।
धर्मशालासँगै त्यस आसपासमा लक्ष्मीनारायण गुठी सञ्चालन समितिको नाममा झण्डै १० रोपनी जग्गा छ। रेग्मी परिवारका सदस्यबाट मात्रै सञ्चालन हुँदै आएको यस लक्ष्मीनारायण गुठी समुदायलाई हस्तान्तरण गरेपछि पनि पछिल्ला वर्षमा संरक्षणविहीन हुन पुगेको हो। गुठीमा पहिले टाढाका बटुवा तथा तीर्थयात्री दैनिक ३० जनाभन्दा बढी बाँस बस्ने गरेको यहाँका स्थानीयवासी बताउँछन्।
ठूला सहर, भारतमा रोजगारी, अध्ययन या अन्य कुनै कामले यसतर्फ जाने रात परेपछि यहीँ बास बस्ने गर्दथे। बटौली (हालको बुटवल) बजारमा सामान लिन जानेका लागि पनि यहीँ धर्मशाला बास बस्ने ठाउँ थियो। यहाँ बास बस्नेलाई खाना र बासको राम्रो प्रबन्ध थियो। पौराणिक समयमा धार्मिक तीर्थस्थलका नामले परिचित रामपुरको लक्ष्मीनारायण धर्मशाला (गुठी) तत्कालीन समयमा राजदरबारकै रूपमा चिनिने गरिन्थ्यो।
गाउँघरमा पछिल्ला समय पुराना धार्मिक सम्पदा मास्ने क्रम बढिरहेको छ। आधुनिक खालका भवन धमाधम बन्दैछन्। ऐतिहासिक महत्त्व बोकेका धार्मिक सम्पदाको संरक्षण नहुँदा लोप हुने अवस्था छ। ऐतिहासिकता झल्काउने धार्मिक सम्पदा अस्तित्व नै नरहने गरी विभिन्न ठाउँठाउँमा हटाउन थालिएको छ। रामपुरमा भने पुराना धार्मिक सम्पदालाई जोगाउन धेरै रकम खर्चिएर पुरानैस्वरुप दिइएको छ।

                                             
                                             
                                             
                                             
                                             
                                             

