 
                             
                                            काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले संघीय सरकारबाट अनुमति लिएर नै अमेरिकी राजदूतसँग भेट गरेको बताएका छन्।
शुक्रबार बालेनको कार्यकक्षमा नेपालस्थित अमेरिकी राजदूत डीन थम्प्सनले बालेनसँग भेट गरेपछि नेकपा एमाले नेता डा. भीम रावलले उक्त भेटको प्रक्रियामाथि प्रश्न उठाएपछि बालेनले उनलाई जवाफ दिँदै यस्तो बताएका हुन्।
बालेन-राजदूतबीच भेट भएपछि रावलले ट्वीट गर्दै स्थानीय तहका जनप्रतिनिधि बालेनले संघीय सरकारसँग अनुमति लिएर वा नलिई विदेशी अधिकारीहरूसँग भेट गरेको? भन्दै प्रश्न उठाएपछि बालेनले फेसबुक पेजमार्फत उक्त जवाफ दिएका हुन्।
‘अमेरिकी राजदूतले हामीसँग पटक-पटक भेट्न खोज्दा हामीलेचाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौं र उहाँले परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौं,’ बालेनले फेसबुकमा लेखेका छन्।
नेपालका पुराना नेताहरूजस्तो विदेशी अधिकारीहरूसँग सहयोग माग्ने आफ्नो मनाशय नभएकोसमेत बालेनले उल्लेख गरेका छन्।
एमसीसी परियोजनामार्फत उत्पादन हुने विद्युत विदेशमा बेच्नेभन्दा पनि नेपालमै उपयोग गरेर आर्थिक उन्नति गर्नुपर्छ भन्ने आफ्नो धारणा राजदूतसमक्ष राखेको पनि बालेनले स्पष्ट पारेका छन्।
नेता रावलले स्थानीय तहका जनप्रतिनिधिहरूले आफूलाई मन लागेको समयमा विदेशी प्रतिनिधिहरू भेट्नु नेपालको स्वाभिमान र मर्यादाविपरीत हुने जनाएका छन्।
‘हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन। उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामीचाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौँ,’ बालेनले भनेका छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 