मुस्ताङ जहाज दुर्घटनाका भग्नावशेष संकलन

हिमाल प्रेस १ पुष २०७९ ७:५२ | Friday, December 16, 2022
मुस्ताङ जहाज दुर्घटनाका भग्नावशेष संकलन

मुस्ताङ- मुस्ताङको थासाङ गाउँपालिका-२ सानोसरेमा दुर्घटना भएको तारा एयरको जहाजका भग्नावशेष सात महिनापछि संकलन गरिएकोे छ।

गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज दुर्घटना हुँदा चालक दलका तीनसहित २२ जनाको मृत्यु भएको थियो।

भौगोलिकरूपमा विकट र दुर्गम पहाडको खोंच र पाखोमा छरिएका जहाजका पाटपुर्जालाई संकलन गर्न तारा एयरले मंसिर १९ गतेदेखि मजदुरको टोली परिचालन गरेको थियो।

टोलीको नेतृत्व गरेका इन्द्रसिंह शेरचनले समुद्री सतहबाट चार हजार तीन सय मिटर उचाइको पहाडबाट जहाजका पाटपुर्जा र सामान संकलन गरेर कोवाङ झार्ने काम सकिएको जानकारी दिए।

मानापाथी हिमालको फेदीमा रहेको पहाडमा टुक्राटुक्रा परेको अवस्थामा जहाजको भग्नावशेष रहेका थिए।

‘दश–बाह्र जनाले सानुसरेबाट कोवाङमा सामान बोकेर झार्न १० दिन लाग्यो’, उनले भने, ‘विकट, अप्ठ्यारो बाटोमा पहिरो गएर रुखसमेत ढलेका छन् । जहाजका सबै सामान संकलन गरेर कोवाङ ल्याउन करिब १० दिन लाग्ने अनुमान गरेका छौँ।’

दुर्घटनाग्रस्त जहाजको ब्लयाक बक्स भने त्यतिबेलामै फेला परेको थियो। शेरचनको नेतृत्वमा विसं २०७२ फागुनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको सोलीघोप्टेमा दुर्घटना भएको तारा एयरको जहाजका पाटपुर्जा संकलन गरेर दाना झारिएको थियो।

दुर्घटनाग्रस्त जहाजका पाटपुर्जा र सामान सम्बन्धित कम्पनीले उठाउँछन्।

बिमा दाबीका लागि सामान उठाउनुपर्ने हुन्छ । अर्कोतर्फ आकाशबाट सहजै देखिने दुर्घटनाग्रस्त जहाजको भग्नावशेषको दृश्यले नकारात्मक मानसिकताको सिर्जना गर्ने हुँदा पनि सम्भव भएसम्म पाटपुर्जा र सबै सामान संकलन गर्ने गरिन्छ।

मंसिर पहिलो साता तारा एयरको टोलीले जहाज दुर्घटनास्थलको हेलिकोप्टरबाट अवलोकन गरेका थिए।

प्रकाशित: १ पुष २०७९ ७:५२ | Friday, December 16, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast