बंगुर बिक्री नहुँदा व्यवसायी चिन्तित

हिमाल प्रेस ९ पुष २०७९ ७:५० | Saturday, December 24, 2022
बंगुर बिक्री नहुँदा व्यवसायी चिन्तित

 स्याङ्जा- बंगुर बिक्री नहुँदा यहाँका व्यवसायी चिन्तित छन्। स्याङ्जा वालिङ–९ पिपलटारीस्थित इन्द्रेणी बंगुर फार्ममा बिक्रीका लागि तयारी अवस्थामा माउ तथा पाठापाठी छन् तर बजार नपाउँदा समस्या आएको हो।

कोभिड–१९ को महामारीसँगै गरिएको बन्दाबन्दीपछि यहाँ उत्पादन भएका बंगुर बिक्री हुन छाडेका फार्मका सञ्चालक भीम लुइँटेलले बताए। पहिला पहिला देशका विभिन्न ठाउँबाट पाठापाठीको माग अत्यधिक हुने र पुर्‍याउनै धौधौ हुने गरेकोमा पछिल्लो समय बिक्री नभएर माउ तथा पाठापाठी पाल्नुपर्ने बाध्यता आइपरेको हो।

त्यहाँ माउ र पाठापाठी गरी एक हजार तीन सयवटा छन्। ‘पाठापाठी बिक्री भएनन्, बिक्री नभएपछि राख्ने ठाउँ भएन’, उनले भने, ‘राख्ने ठाउँको अभाव, दानापानी तथा औषधि उपचार अभावले गर्दा चार सयको हाराहारीमा पाठापाठी मरिसकेका छन्।’

वैदेशिक रोजगारीको सिलसिलामा यूएईमा काम गरेका उनले घर फर्केर २०७१ सालमा फार्मको सुरुवात गरेका हुन्। सुरुआती चरणमा ब्राह्मणको छोराले बंगुर पाल्यो भनेर खिसी गर्नेहरु पछिल्लो समय प्रशंसकसमेत बने। फर्मको सुरुआती चरणदेखि हालसम्म नौ करोड रुपैयाँ लगानी भइसकेको उनले बताए।

तयारी भएका माउ तथा पाठापाठी बिक्री नभएपछि पाल्नुपर्दा थप लगानी बढेको छ। अहिले सात सय वटा बिक्रीको तयारीमा छन्।

‘पहिला तयार भएका माउ तथा पाठापाठी बिक्री भई आम्दानी हुन्थ्यो, त्यही आम्दानी दानापानी तथा औषधिमा खर्च गरिन्थ्यो’, उनले भने। तयारी अवस्थाका माउ तथा पाठापाठी बिक्री भएमा न्यूनतम दुई करोड रुपैयाँ आम्दानी हुने अनुमान उनको छ।

यता माउ तथा पाठापाठी बिक्री हुँदैनन् उता उल्टै दानापानी तथा औषधि उपचारमा मासिक २० लाख रुपैयाँ घाटा लाग्ने दाबी व्यवसायी लुइँटेलको छ। उनी आफैँले फ्रेस हाउस सञ्चालन गरे तर त्यहाँ पनि सन्तोषजनक मासु बिक्री भएन।

पाठापाठी बाहिरी जिल्लामा बिक्री हुँदै आएकामा पछिल्लो समय माग आउन छाडेको छ।

प्रकाशित: ९ पुष २०७९ ७:५० | Saturday, December 24, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast