फ्रान्सलाई हराउँदै अर्जेन्टिना बन्यो विश्व च्याम्पियन

हिमाल प्रेस ३ पुष २०७९ २३:५० | Sunday, December 18, 2022
फ्रान्सलाई हराउँदै अर्जेन्टिना बन्यो विश्व च्याम्पियन

काठमाडौँ- साविक विजेता फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि हात पारेको छ। लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनी टिमले फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराएको हो। कतारमा आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधि उचाल्यो।
खेलको पहिलो हाफमा २–० ले अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा २ गोल खान पुग्यो।

निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि दुवै टोलीले एक एक गोल थपेपछि खेल ३–३ को बराबरी भएको थियो। अतिरिक्त समयमा पनि बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो।

खेलको ३६ औँ मिनेटमा एञ्जल डि मारियाको गोलमा अर्जेन्टिनाले फ्रान्सविरुद्ध अग्रता दोब्बर पारेको हो। लियोनल मेस्सी र अल्भारेजले मिलाइदिएको पासमा म्याक एलिस्टको क्रसमा डि मारियाले बललाई उत्कृष्ट फिनिसिङ दिएका हुन्।

त्यसअघि खेलकोे २३ औँ मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। फ्रान्सका डेम्बेलेले डिमारियालाई डिबक्समा लडाएपछि रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टीको अवसर दिएका थिए। जुन अवसरलाई मेस्सीले खेर जान दिएनन्।

खेलको ८० औँ मिनेटमा केलियन एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई २–१ को अवस्थामा ल्याए। त्यसको १ मिनेटमा नै एम्बापेले व्यक्तीगत दोस्रो गोल गर्दै खेललाई बराबरीमा ल्याए।

तर खेलको १०९ औँ मिनेटमा अर्जेन्टिनाका कप्तान मेस्सीले व्यक्तीगत दोस्रो गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याए। तर ११८ औँ मिनेटमा एम्बाप्पेले ह्याट्रिक गर्दै फ्रान्सलाई पुनः बराबरीमा ल्याए। जारी विश्वकपमा ह्याट्रिक गर्ने एम्बाप्पे दोस्रो खेलाडी हुन्। यसअघि पोर्चुगलका गोन्कालो रामोसले स्वीटजरल्याण्डविरुद्ध ह्याट्रिक गरेका थिए।

अर्जेन्टिनाका लागि यो तेस्रो विश्वकप उपाधि हो। पहिलो संस्करणमा उपविजेता बनेको अर्जेन्टिनाले सन् १९७८ मा भने उपाधि चुम्यो। म्याराडोनाको कप्तानीमा रहेको अर्जेन्टिनाले फाइनलमा पश्चिम जर्मनीलाई पराजित गरेको थियो। सन् १९८६ मा फेरि च्याम्पियन बनेको अर्जेन्टिना सन् १९९० र २०१४ मा उपविजेतामा सीमित भएको थियो।

फ्रान्स १६ औँ पटक विश्वकप खेलेको हो। चार वर्षअघि रुसमा भएको विश्वकप जितेको फ्रान्स सन् १९९८ मा विजेता बनेको थियो। त्यसबेला फ्रान्स विश्व विजेता बन्दा हालका प्रशिक्षक डिडिर डेस्चाम्प्स कप्तान थिए। यिनै डेस्चाम्प्सले नै फ्रान्सलाई रुसमा विजेता बनाएका थिए।

फ्रान्सले यसअघि सन् १९९८ मा ब्राजिललाई हराउँदै पहिलो पटक विश्वकपको उपाधि उचालेको थियो।

प्रकाशित: ३ पुष २०७९ २३:५० | Sunday, December 18, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast