प्रधानमन्त्री दाबी गर्नेले सम्पत्ति छानबिनका लागि तयार हुनुपर्छ : गुरुङ

हिमाल प्रेस २ पुष २०७९ २०:०७ | Saturday, December 17, 2022
प्रधानमन्त्री दाबी गर्नेले सम्पत्ति छानबिनका लागि तयार हुनुपर्छ : गुरुङ

बुटवल– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफ्नो पार्टीले केही दिनमा नै संसदीय दलको नेता तोक्ने बताएका छन्। शनिबार बुटवलमा आयोजित नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन)को चौथो राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

कांग्रेसमा दलको नेता बन्नका लागि नेताहरूबीच प्रतिस्पर्धा भइरहे पनि टुंगो नलागेको उनको भनाइ छ। संसदीय दलको नेतामा व्यक्तिभन्दा पनि एजेन्डालाई प्राथमिकता दिनुपर्ने उनले बताए। ‘प्रधानमन्त्री दाबी गर्न जति सजिलो छ, प्रधानमन्त्री बनेर काम गर्न त्यति सजिलो छैन,’ उनले भने।

प्रतिनिधिसभा सदस्यमा स्याङ्जाबाट निर्वाचित गुरुङले प्रधानमन्त्रीका लागि दाबी गरिरहेका नेताहरू आफ्नो सम्पत्ति छानबिनका लागि तयार रहन सक्नुपर्नेमा जोड दिए।

काउनको राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय अध्यक्ष पुष्कर आचार्य, पूर्वअध्यक्ष खिलानाथ दाहाल, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणलगायतले शुभकामना व्यक्त गरे। आइतबार (भोलि)सम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ।

प्रकाशित: २ पुष २०७९ २०:०७ | Saturday, December 17, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast