प्रदेशको विविधितालाई सम्पत्तिको रूपमा ग्रहण गरेका छौँ : मुख्यमन्त्री केसी

हिमाल प्रेस १५ पुष २०७९ ९:५७ | Friday, December 30, 2022
प्रदेशको विविधितालाई सम्पत्तिको रूपमा ग्रहण गरेका छौँ : मुख्यमन्त्री केसी फाइल तस्बिर।

काठमाडौँ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशको विविधितालाई सम्पत्तिका रूपमा ग्रहण गरी सरकार अगाडि बढेको बताएका छन्।

गुरुङ समुदायको महान् पर्व तमु ल्होसार, २०७९ का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले प्रदेशका गुरुङ समुदायको भाषा, धर्म, संस्कृतिको विकास र समृद्धिका लागि प्रदेश सरकारले पहल गर्दै आएको र आगामी दिनमा समेत पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

‘हाम्रो देश नेपाल र लुम्बिनी प्रदेश बहुजाति, बहुभाषिक र बहुसांस्कृतिले भरिपूर्ण छ, यही हाम्रो देश र प्रदेशको विविध जाति, भाषा, संस्कृति र वेषभूषालाई एकीकृत गरी अगाडि बढेमा मात्रै समृद्ध प्रदेशको निर्माण गर्न सक्छौँ’, उनले सन्देशमा उल्लेख गरेका छन्।

उनले संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताको कार्यान्वयन सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाका लागि बलिदानीपूर्ण संघर्षबाट नेपाली जनताले प्राप्त गरेका अधिकारलाई संस्थागत गर्ने बताए।

संविधानमा लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित संघीयताको कुशल कार्यान्वयन गर्दै समाजवादप्रति प्रतिबद्ध रही समृद्ध प्रदेश एवं राष्ट्र निर्माण गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने संकल्प गरेको मुख्यमन्त्री केसीले उल्लेख गरे।

‘विगतका राज्यव्यवस्थाले सिर्जना गरेका वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिकलगायत सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समाजवादोन्मुख व्यवस्था निर्माण गर्ने हाम्रो संविधानको संकल्प छ’, शुभकामना सन्देशमा उल्लेख छ।

प्रकाशित: १५ पुष २०७९ ९:५७ | Friday, December 30, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast