पद बहालीपछि गृहमन्त्री लामिछानेले मगाए निर्मला पन्त हत्याकाण्डको विवरण

हिमाल प्रेस ११ पुष २०७९ १८:१५ | Monday, December 26, 2022
पद बहालीपछि गृहमन्त्री लामिछानेले मगाए निर्मला पन्त हत्याकाण्डको विवरण फाइल तस्बिर।

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कन्चनपुरको भीमदत्त नगरपालिका-३ की १३ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको विषयमा दोषी पत्ता लगाउन आफूले अधिकतम प्रयास गर्ने बताएका छन्। गृहमन्त्री बनेपछि मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै उनले निर्मलाका हत्यारा पत्ता लगाउन आफूले सबै प्रयास गर्ने बताएका हुन्।

मन्त्री लामिछानेले पन्त हत्याको विषयमा प्रहरीले अहिलेसम्म प्राप्त गरेको सफलताबारे अपडेट पनि मगाएका छन्। लामिछानेले आफू टेलिभिजन कार्यक्रम प्रस्तोता हुँदादेखि नै यसविषयमा बोल्दै आएका थिए। टेलिभिजन कार्यक्रममार्फत लामिछानेले पन्तको हत्यामा भीमत्तदत्तनगर–१९ का ३९ वर्षीय दिलिप विष्टको संलग्नता रहेको दाबी गरेका थिए। तर त्यतिबेला प्रहरीले विष्टको संलग्नता नरहेको बताएको थियो।

२०७५ साउन १० गते बेपत्ता भएकी पन्तको शव साउन ११ गते आफ्नै घर नजिकै उखुबारीमा भेटिएको थियो। प्रहरी अनुसन्धानले उनको बलात्कारपछि हत्या भएको पुष्टि भए पनि अहिलेसम्म दोषी पत्ता लागेको छैन।प्रहरीले २०७५ भदौ ४ मा विष्टलाई मुख्य अभियुक्तको रुपमा सार्वजनिक पनि गर्‍यो गरेको थियो।

विष्टलाई पक्राउ गरेपछि कन्चनपुर तनावग्रस्त भएको थियो। कन्चनपुरमा आन्दोलन चर्किँदा भीमदत्त १८ की सन्नी खुनाको मृत्यु भयो। प्रहरीको गोली लागेर उनको मृत्यु भएको थियो।

पन्तको हत्यारा पत्ता लगाउन भनेर नेपाल प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का डीएसपी नेतृत्वमा अनुसन्धान गरिरहेको छ। तर अहिलेसम्म हत्याराबारे कुनै पनि तथ्य पत्ता लागेको छैन।

प्रकाशित: ११ पुष २०७९ १८:१५ | Monday, December 26, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast