डिपोर्ट भएको एक वर्षपछि जोकोभिच अस्ट्रेलिया ओर्लिए

हिमाल प्रेस १२ पुष २०७९ २१:१६ | Tuesday, December 27, 2022
डिपोर्ट भएको एक वर्षपछि जोकोभिच अस्ट्रेलिया ओर्लिए

काठमाडौँ- डिपोर्ट भएको एक वर्षपछि विश्व टेनिस स्टार नोभाक जोकोभिच अस्ट्रेलिया ओर्लिएका छन्। गत नोभेम्बरमा भिसा प्रतिबन्ध फुकुवा भएपछि जोकोभिच अस्ट्रेलिया फर्कन पाएका हुन्। जनवरी १६ बाट सुरु हुने अस्ट्रेलिया ओपन खेल्न अस्ट्रेलिया पुगेका जोकोभिचलाई स्वागत गरियो।

‘मलाई लाग्छ जोकोभिच यसपालिको बलियो दाबेदार हुन्,’ जोकोभिच अस्ट्रेलिया ओर्लिएपछि टेनिस अस्ट्रेलियाका प्रमुख कार्यकारी अधिकृत क्रेग टाइलीले भने।

अस्ट्रेलिया ओपन खेल्न गत जनवरीमा मेलबर्न ओर्लिएका जोकोभिचलाई फिर्ता पठाइएको थियो। कोभिड–१९ विरुद्ध लागू गरिएको नियम पालना नगरेको भन्दै उनलाई अस्ट्रेलिया प्रवेशमा रोक लगाइयो। त्यसपछि थप तीन वर्षका लागि अस्ट्रेलिया प्रवेश गर्न नपाउने निर्णय सुनाइएको थियो।

प्रत्येक वर्षको सुरुवातमा हुने ग्रान्डस्लाम अस्ट्रेलियन ओपनको मुखमा जोकोभिचलाई डिपोर्ट गरिएपछि सो प्रतियोगिता ओझेलमा परेको थियो। सर्वाधिक पटक अस्ट्रेलियन ओपन जितेका जोकोभिचले कोभिड विरुद्धको खोप नलगाएकै कारण यो वर्ष यूएस ओपन खेल्न पाएनन्।

सन् २०२३ मा जोकोभिचले यूएस ओपन खेल्न पाउँछन् कि पाउँदैनन् टुंगो छैन। किनभने जोकोभिचले अझै पनि खोप लगाएका छैनन्। तर अस्ट्रेलियामा भने उनको आगमनलाई टनिस अस्ट्रेलिया मात्र होइन आप्रवाशी मन्त्री आन्ड्रिउ गिल्ससमेतले स्वागत गरेका छन्।

गत नोभेम्बरमा भिसा प्रतिबन्ध हटाइएको खबर सुनेपछि जोकोभिचले राहत महसुस गरेको प्रतिक्रिया दिएका थिए। ‘मैले आफ्नो करियरमा सबैभन्दा बढी जितेको ग्रान्डस्लाम नै अस्ट्रेलियन ओपन हो। यसकारण म त्यहाँ फर्कन चाहन्छु। राम्रो टेनिस खेल्ने प्रयास गर्नेछु। आशा छ यसपल्ट मेरो लक्ष्य पूरा हुन्छ,’ जोकोभिचले भनेका थिए।

विश्व वरीयताको पाँचौँ स्थानमा रहेका जोकोभिचलाई अस्ट्रेलियन टेनिस समर्थकले स्वागत गर्ने अपेक्षा टाइलेले गरेका छन्। ‘अस्ट्रेलियामा हामी जोकोभिचलाई स्वागत गर्न चाहन्छौँ। आशा छ समस्त अस्ट्रेलियनले उनीप्रति सद्भाव देखाउनेछन्,’ टाइलेले भने। अस्ट्रेलियन ओपनअघि जोकोभिचले एडलेइड इन्टरनेसनल खेल्नेछन्।

प्रकाशित: १२ पुष २०७९ २१:१६ | Tuesday, December 27, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast