जाडो बढेसँगै मनाङमा विद्यार्थी बेंशी झर्न थाले

हिमाल प्रेस २६ मंसिर २०७९ १७:१४ | Monday, December 12, 2022
जाडो बढेसँगै मनाङमा विद्यार्थी बेंशी झर्न थाले फाइल तस्बिर।

चामे– मनाङका विद्यालयमा धमाधम परीक्षा सञ्चालन भइरहेको छ। जाडो बढेर मौसम प्रतिकूल हुँदै गएका अवस्थामा पनि परीक्षा सञ्चालन भइरहेको छ। जिल्लामा अर्धवार्षिक परीक्षा सञ्चालन भइरहेको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख मतिलाल चपाईंले बताए।

परीक्षा सकेर जाडो छल्नका लागि बेंशी झर्न धमाधम परीक्षा भइरहेको उनको भनाइ छ। ‘जाडोमा अभिभावकसँगै विद्यार्थीहरु बेंशी झर्छन्,’ उनले भने, ‘जाडो सकिएपछि फागुनको अन्तिम वा चैतको पहिलो साता मनाङ फर्किन्छन्।’

इकाइको तथ्यांकका अनुसार कक्षा १ देखि ५ सम्मका मनाङ ङिस्याङ गाउँपालिकामा ५४, सदरमुकाम चामे गाउँपालिकामा ५५, नासों गाउँपालिकामा ८४ र नार्पाभूमि गाउँपालिकामा १० विद्यार्थी छन्। कक्षा ६ देखि १२ सम्मका पढ्ने विद्यार्थीको संख्या घट्दै गएको प्रमुख चपाईंले जानकारी दिए।

उनका अनुसार ङिस्याङ गाउँपालिकामा कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीको संख्या ७२ जना छ। चामे गाउँपालिकामा एक सय ७६, नासों गाउँपालिकामा एक सय ७८ र नार्पाभूमि गाउँपालिकामा शून्य रहेको उनले बताए।

जिल्लाका चार पालिकाका विभिन्न विद्यालयमा विद्यार्थीविहीन हुँदा खाली भएको उनले बताए। ‘विद्यालयमा शिक्षकहरू हुनुहुन्छ तर विद्यार्थी छैनन्। यस्तो अवस्थामा विद्यालय बन्द छन्,’ उनले भने,’केही विद्यालयमा ईसीडीका विद्यार्थीबाहेक अन्य विद्यार्थी छैनन्।’

बाढीपहिरोको जोखिम, विद्यालय टाढा हुँदा अभिभावकले बालबालिकालाई जिल्ला बाहिर राखेर पठनपाठन गराउन थालेकाले विद्यार्थीको संख्या कम भएको उनले बताए। मनाङमा ईसीडीमा एक सय ६६, कक्षा १ देखि ५ सम्म एक सय ४६, कक्षा ६ देखि ८ सम्म १ सय ९ जना विद्यार्थी छन्। साथै कक्षा ९ र १० मा ८३, कक्षा ११ र १२ मा ४१ गरी कूल पाँच सय ४५ विद्यार्थी छन्।

मनाङ ङिस्याङ गाउँपालिकामा एक सय १७ विद्यार्थीको पठनपाठनका लागि ४१ शिक्षक छन्। चामे गाउँपालिकामा दुई सय ४५ विद्यार्थीका लागि ३४ शिक्षक, नासों गाउँपालिकामा एक सय ५८ विद्यार्थीका लागि ७७ शिक्षक र नार्पाभूमि गाउँपालिकामा २५ विद्यार्थीका लागि नौ गरी कूल एक सय ६१ शिक्षकले उनीहरूलाई पठनपाठन गराउँदै आएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ।

प्रकाशित: २६ मंसिर २०७९ १७:१४ | Monday, December 12, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast