जनताले पत्याएनन् भने फकाउनु पर्छ : माधव नेपाल

हिमाल प्रेस २४ मंसिर २०७९ १५:३४ | Saturday, December 10, 2022
जनताले पत्याएनन् भने फकाउनु पर्छ : माधव नेपाल फाइल तस्बिर।

काठमाडौ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव नेपालले जनताले नेताहरूलाई नपत्याए उनीहरूलाई फकाउनु पर्ने बताएका छन्। शनिबार भक्तपुरको सूर्यविनायकमा आयोजित नवनिर्वाचित प्रदेश र प्रतिनिधिसभा सदस्यलाई बधाई, शुभकामना तथा चियापान कार्यक्रममा उनले यस्तो बताएका हुन्।

‘जनताले मन पराएका छैनन् भने नेताहरूले फकाउन सक्नुपर्छ। जनतालाई फकाउन, मिलाउन र साथमा लिएर समस्या समाधानमा लाग्नुपर्छ,’ उनले भने। देशले यतिखेर साझा सहमतिको बिन्दु खोजेको पनि उनले बताए।

‘हामी आफ्ना आफ्ना खुबी, क्षमता, वाक कटुता, व्यक्तिको छाप प्रयोग गरी राजनीतिक खेलको मैदानबाट उत्रिएका छौँ, जित्नु ठूलो कुरा होइन, जनतासँग हामीले जुन प्रतिबद्धता व्यक्त गरेका छौँ, त्यो पूरा गर्न इमान्दार र जनताप्रति बफादार भएर काम गर्नुपर्छ,’ उनले भने।

चुनावमा गरेका प्रतिबद्धता पूरा गर्न जनतासँग जोडिएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले जनताको आवाज सुन्ने, उनीहरूको पीडालाई सम्बोधन गर्ने, जनताको असीमिति चाहना, इच्छा र माग पूरा गर्न तथा अत्यावश्यक चाहनालाई पूरा गर्ने काममा लाग्नुपर्नेमा जोड दिए।

‘आश्वासन दिँदा त्यहाँ ठाउँ राख्नुपर्छ, जनताका सबै माग पूरा गर्न सकिँदैन, सक्दो कोसिस गर्नुपर्ने हुन्छ,’ उनले भने।

नेपालको अर्थतन्त्र संकटतर्फ बढेको भन्दै यसलाई सुधार्नेबारे समीक्षा आवश्यक रहेको उल्लेख गरे। राजनीतिक परिवर्तनसँगै अब आर्थिक परिवर्तन र विकासको दायित्व पूरा गर्नुपर्ने उनको भनाइ छ।

कार्यक्रममा भक्तपुर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका सभापति दुर्लभ थापाले अहिलेको आवश्यकता सरकारको नेतृत्व कसले गर्नेभन्दा पनि देशमा स्थायित्व दिन सक्ने, समृद्धिका लागि कहीँ, कतै अलमल नगरी अगाडि बढ्ने गरी स्थिर सरकार निर्माण गर्नुपर्ने बताए।

यस्तै भक्तपुर २ (क) बाट निर्वाचित बागमती प्रदेशसभा सदस्य किरण थापाले भोट माग्न जाँदा जनतासँग गरेका वाचा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। भक्तपुर क्षेत्र २ (ख) बाट निर्वाचित बागमती प्रदेशसभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठले व्यवस्थित रूपमा विकासका पूर्वाधार निर्माण गर्दै जनतासँग गरेका प्रतिबद्धता पूरा गर्ने बताए।

कार्यक्रममा नेपाली कांग्रेस सूर्यविनायक नगर सभापति निशान ढुंगेल, जिल्ला खेलकुद विकास समिति भक्तपुरका अध्यक्ष दीपक थापा, सूर्यनगर टोल विकास समाजका सल्लाहकार एवम् नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव गोविन्द चौलागाइँ, समाजका अध्यक्ष एवम् कार्यक्रमका सभापति बालकृष्ण न्यौपानेलगायतले यहाँका खानेपानी, सडकलगायत समस्या समाधान गरिदिन नेताहरूसमक्ष आग्रह गरे।

प्रकाशित: २४ मंसिर २०७९ १५:३४ | Saturday, December 10, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast