जनकपुरधाम उपमहानगरपालिकाद्वारा भूमि वर्गीकरण

हिमाल प्रेस २४ मंसिर २०७९ ८:१४ | Saturday, December 10, 2022
जनकपुरधाम उपमहानगरपालिकाद्वारा भूमि वर्गीकरण

काठमाडौँ- जनकपुरधाम उपमहानगरपालिकाले भूमि वर्गीकरण कार्य टुंग्याएको छ। वर्गीकरणअनुसार वडा नम्बर १ देखि १४ सम्मको जग्गा गैरकृषि र वडा नम्बर १२ को केही जग्गालाई कृषि क्षेत्रमा राखिएको छ।

अब रोकिएको कित्ताकाट मालपोत र नापी कार्यालयबाट फुकुवा हुनेछ। जनकपुर उद्योग वाणिज्य संघलगायतले भूमि वर्गीकरणसम्बन्धी निर्णय गर्न उपमहानगरपालिकासित माग गर्दै आएका थिए।

उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले जग्गा वर्गीकरणको निर्णय भइसकेको बताए। उनले भने, ‘जग्गा वर्गीकरणको क्रममा सरकारले निर्धारण गरेको बसोबास क्षेत्रको आठ धुर जग्गा कित्ताकाट हुने यथावत छ।’ उनले कृषि क्षेत्रको जग्गा दुई कट्ठाभन्दा कम्तीको कित्ताकाट नहुने बताए।

वडा नम्बर १५ देखि २५ सम्मको जग्गामा कृषि र गैरकृषि क्षेत्र विभाजन गरिएको उनले बताए। ‘जग्गा धनीले आफ्नो जमिन कृषि योग्य क्षेत्रमा राख्न चाहे उपमहानगरपालिकामा निवेदन दिन सक्छन्’, मेयर साहले भने।

जग्गाको वर्गीकरण भए पनि करमा कुनै प्रकारको वृद्धि नगरिएको उनले बताए। जग्गा वर्गीकरण गरिएको निर्णय शुक्रबार नापी र मालपोत कार्यालयलगायतका निकायमा पठाइएको प्रमुख साहले जानकारी दिए।

जग्गा वर्गीकरण नहुँदा कित्ताकाट रोकिएको थियो जसले गर्दा जग्गाको बेचबिखनसमेत रोकिएको थियो। उपमहानगरपालिकाले वर्गीकरण टुंग्याएपछि केही दिन जग्गाको खरिदबिक्रीमा तीव्रता आउने बताइएको छ।

जनकपुरधाम उपमहानगरपालिकाले वर्गीकरण टुंग्याए पनि धनुषा जिल्लाका अधिकांश पालिकाले जग्गाको वर्गीकरण गर्न सकेको छैनन्।

प्रकाशित: २४ मंसिर २०७९ ८:१४ | Saturday, December 10, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast