गैंडाले सताएपछि रातभर जाग्राम बस्दैछन् नवलपुरवासी

हिमाल प्रेस २ पुष २०७९ १८:५१ | Saturday, December 17, 2022
गैंडाले सताएपछि रातभर जाग्राम बस्दैछन् नवलपुरवासी फाइल तस्बिर।

नवलपुर– चितवन निकुञ्ज क्षेत्रका गैंडा नवलपरासीपूर्वका गाउँबस्तीमा पसेपछि यहाँका बासिन्दा त्रसित बनेका छन्। बस्तीमा गैंडा पसेर बालीनाली नष्ट गर्ने र मान्छेलाई आक्रमण गरेपछि यहाँका स्थानीय पीडित बनेका हुन्।

खेती स्याहार्ने बेलामा गैंडाले दुःख दिएपछि दैनिक क्रियाकलापमा नै अफ्ट्यारो परेको कावासोती १२ की सुकमाया घलेले बताइन्। रातको समयमा निकुञ्जबाट निस्केर गैँडाले उखु, केरा, तरकारी नष्ट गरेपछि यहाँका बासिन्दा आर्थिक रूपमा पनि संकटमा परेका छन्।

गैंडाले खेतीपाती नष्ट गर्ने र मान्छेलाई पनि आक्रमण गर्दा ज्यानै जाने खतरा रहेको घलेको भनाइ छ। साँझ नपर्दै निस्कने गैंडालगायत वन्यजन्तुका कारण हिँड्डुलसमेत गर्न गाह्रो हुने गरेको कावासोती १२ का जगतकाजी गुरुङ बताउँछन्।

‘३ सिजन खेती लगाउने खेतमा गैंडा र वन्यजन्तुका कारण बालीनाली नष्ट मात्रै भएका छैन गाउँघरमा हिँड्डुलसमेत गर्न डर छ,’ गुरुङले भने। कावासोती नगरपालिकाको करिब ४ किलोमिटर क्षेत्रमा गैंडालगायतका वन्यजन्तु रोक्न भनेर पर्खाल निर्माण गरिएको भए पनि विभिन्न ठाउँमा निकुञ्ज क्षेत्रमा प्रवेश गर्न बनाइएका प्रवेशद्धारबाट वन्यजन्तु आउने गरेको शान्तिकुञ्ज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष कमल परियारको भनाइ छ।

गैंडाले दिनहुँजसो बस्तीमा पसेर आतंक मच्चाएपछि स्थानीयवासी रातभर गौंडा कुरेर गैंडा लखेट्ने गरिरहेको उनले बताए। ‘निकुञ्जबाट निस्किएका गैंडालाई उतै लखेटेर घर फर्किन्छौं, हामी घरमा आइनपुग्दै गैंडा बस्तीमा आइपुग्छ,’ परियारले भने।

कावासोती १२ की माया गुरुङले गैंडाले दु:ख दिएकाले २ वर्षदेखि ४ कट्ठा बारी बाँझै राखेकी छन्। खेती लगाए पनि वन्यजन्तुबाट जोगाउन मुस्किल पर्ने भएपछि बारी बाँझो राख्नु परेको उनले दु:ख व्यक्त गरिन्। गैंडालगायत वन्यजन्तुका कारणले खेतीबाली नष्ट भए पनि समयमै क्षतिपूर्ति नपाउने र पाइहाले पनि उचित क्षतिपूर्ति नपाइने वन्यजन्तुपीडित कावासोती १३ का कृषक चेतनारायण चौधरीले बताए।

प्रकाशित: २ पुष २०७९ १८:५१ | Saturday, December 17, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast