गण्डकी कांग्रेसको निर्णय : आफ्नै नेतृत्वमा सरकार बनाउने

हिमाल प्रेस ३ पुष २०७९ १७:३२ | Sunday, December 18, 2022
गण्डकी कांग्रेसको निर्णय : आफ्नै नेतृत्वमा सरकार बनाउने

पोखरा- नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको पोखरामा आइतबार बसेको बैठकले आफ्नो नेतृत्वमा गठबन्धनको सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ। प्रदेश सभापति शुक्रराज शर्माको अध्यक्षमा बसेको बैठकले प्रदेशमा गठबन्धनमा संलग्न दलको बहुमत भएकोले कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको हो।

निर्वाचनमा गण्डकी प्रदेश भित्रका जिल्लामा भएका गतिविधिका बारेमा छलफल भई निर्वाचनका सन्दर्भमा भएका कमीकमजोरीका विषयमा जिल्लाबाट प्रतिवेदन प्राप्त भइसकेपछि समीक्षा गरिने बताइएको छ।

नेपाली कांग्रेसबाट गण्डकी प्रदेशमा प्रत्यक्षमा १८ जना निर्वाचित भएका छन्। समानुपातिकबाट ९ जना चयन भए। कांग्रेसबाट प्रदेशसभामा प्रत्यक्षतर्फ २१ क्षेत्रमा उम्मेदवार थिए। यस्तै प्रतिनिधिसभा सदस्यतर्फ १२ क्षेत्रमा कांग्रेसका उम्मेदवारमध्ये १० जना विजय हासिल गरेका छन्।

बैठकमा पार्टीको निर्देशन अनुरुप कांग्रेसका उम्मेदवारलाई असहयोग गर्ने र गठबन्धनलाई समेत असहयोग गर्ने कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई कारबाहीका लागि जिल्लाबाट विवरण माग्ने समेत निर्णय गरेको प्रवक्ता मधु बास्तोलाले बताए।

यस्तै, कांग्रेस संसदीय दलको नेताको निर्वाचन गर्नुपर्ने र यसका लागि नेपाली कांग्रेस संसदीय दलको विधान २०७४ को दफा ४ को ३ मा प्रदेश समितिले बनाएको निर्वाचन समितिले निर्वाचनको प्रक्रिया निर्धारण तथा निर्वाचन सम्पन्न गर्ने छ भन्ने प्रावधान रहेकोले आगामी हुने नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेताको निर्वाचनको लागि निर्वाचन समिति बनाउन पदाधिकारीहरुलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरिएको छ।

बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको समेत उपस्थिति थियो । बैठकमा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले जिज्ञासा राखेका थिए।

प्रकाशित: ३ पुष २०७९ १७:३२ | Sunday, December 18, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast