किम्फमा ‘आग्रे’ उत्कृष्ट डकुमेन्ट्री, ‘बाघको बङ्गारा’ले पायो अडियन्स च्वाइस अवार्ड

हिमाल प्रेस २७ मंसिर २०७९ १२:१७ | Tuesday, December 13, 2022
किम्फमा ‘आग्रे’ उत्कृष्ट डकुमेन्ट्री, ‘बाघको बङ्गारा’ले पायो अडियन्स च्वाइस अवार्ड

काठमाडौँ- ‘काठमाडौँ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (किम्फ)’का २० औँ संस्करण सम्पन्न भएको छ।

मंसिर २२ (डिसेम्बर ८) देखि २६ (डिसेम्बर १२)सम्म भएको महोत्सवमा ३० देशका ६० भन्दा बढी डकुमेन्ट्री, फिक्सन, सर्ट फिल्म, एनिमेसन फिल्म देखाइएका थिए।

नेपाल पनोरामाअन्तर्गत सूर्य शाहीको निर्देशनमा बनेको ‘ह्विल्स अन द बस’ले उत्कृष्ट फिक्सन अवार्ड जित्यो। अनिल बुढामगर निर्देशित ‘आग्रे’ उत्कृष्ट डकुमेन्ट्री घोषित भयो।

नेपाल पनोरामाअन्तर्गत नै इंगी होपो कोनिच सुनुवारको निर्देशन रहेको ‘सेनाको चेली’ र पिंकी श्रीश रानाको ‘हजुर’ले संयुक्त रूपमा स्पेसल मेन्सन अवार्ड पाए।

‘हेर्ने कथा’ टोलीको ‘बाघको बङ्गारा’ले अडियन्स च्वाइस अवार्ड हात पार्‍याे। अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ क्यानडाको ‘फार बियोन्ड द पास्चरल्यान्ड्स’ र अमेरिकाको ‘कुमारी : अ फादर्स ड्रिम’ले स्पेसल मेन्सन अवार्ड पाए।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामै बेलायती निर्देशक ह्युगो साउन्डर्स निर्देशित ‘द सेकेन्ड समिट’ फस्ट च्वाइस, स्विट्जरल्यान्डका निर्देशक लिजा रोसिल र क्यारेलिन फ्लिंकको निर्देशनमा बनेको ‘सोफी लाभोड : लेडी ८०००’ सेकेन्ड च्वाइस र फ्रान्सेली निर्देशक म्याथ्यु लेले निर्देशित ‘अ ह्वाइट ड्रिम’ थर्ड च्वाइस घोषित भए।

निर्णायक मण्डलमा जर्मन लेखक, निर्देशक(निर्माता माइकल पज, नेपाली एनिमेसन फिल्म निर्देशक-निर्माता किरणभक्त जोशी र कोरियाको उल्जु माउन्टेन फिल्म फेस्टिभलका कार्यक्रम निर्देशक जिन्ना ली रहेका थिए।

काठमाडौँ, प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डको हलमा पाँचदिने महोत्सव भएको थियो। अस्ट्रेलियाली निर्देशक जोय कार्टरको निर्देशन रहेका ‘फ्लाई फ्रम एभरेस्ट’ देखाउँदै महोत्सव सकिएको छ।

सन् २००० देखि सुरु भएको किम्फको १८ औँ र १९ औँ संस्करण कोभिड-१९ महामारीका कारण भर्चुअल भएका थिए। यसपालि भने दर्शक महोत्सवमा भौतिक रूपमा सहभागी भएका थिए।

महोत्सवमा फिल्मसम्बन्धी गोष्ठी तथा छलफल कार्यक्रम पनि भएका थिए। किम्फमा विशेषगरी पर्वत, त्यहाँका बासिन्दा, संस्कृति र वातावरणमाथि बनेका फिल्म प्रदर्शन गरिए।

प्रकाशित: २७ मंसिर २०७९ १२:१७ | Tuesday, December 13, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast