कालीगण्डकी जलविद्युत् परियोजनाले आँधीखोलामा छाड्यो माछाका भुरा

हिमाल प्रेस २८ मंसिर २०७९ १८:३४ | Wednesday, December 14, 2022
कालीगण्डकी जलविद्युत् परियोजनाले आँधीखोलामा छाड्यो माछाका भुरा फाइल तस्बिर

स्याङ्जा– स्याङ्जाको गल्याङ नगरपालिका ३ स्थित आँधीखोलामा माछाका भुरा छाडिएको छ। कालीगण्डकी ए जलविद्युत् परियोजनाले गल्याङस्थित बुटवल पावर कम्पनीको बाँधस्थलमा दुई लाख ८० हजार माछाका भुरा छाडेको हो।

परियोजनाले बर्सेनि कालीगण्डकीको जलाशय तथा आँधीखोलामा माछाका भुराहरू छाड्दै आएको कालीगण्डकी ए जलविद्युत् परियोजना मिर्मीका प्रमुख पशुपतिराज गौतमले बताए।

‘माछा मारेरै जीविकोपार्जन गर्दै आएको माझी समुदायलाई लक्षित गरी बर्सेनि कालीगण्डकी तथा आँधीखोलामा माछाका भुराहरू छाड्दै आएका छौँ,’ उनले भने, ‘विगतका वर्षमा विभिन्न प्रजातिका ८ लाख माछाका भुरा छाड्थ्यौँ, यसपटक १० लाख माछाका भुरा छाड्छौं। यसले वातावरणीय सन्तुलन कायम राख्न पनि मद्दत पुग्छ।’

कालीगण्डकीको जलाशय मिर्मीमा ४ लाख, आँधीखोलाको जलाशय गल्याङमा २ लाख ८० हजार माछाका भुरा छाडिएको उनले बताए। केही दिनमा आँधीखोलाको माथिल्लो तटीय क्षेत्रहरू आँधीखोला गाउँपालिका र वालिङ नगरपालिकासँग समन्वय गरेर माछाका भुरा छाड्ने तयारी भएको छ।

‘३ वर्ष अघिसम्म राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क) बाट माछाका भुरा उत्पादन गरेर छाड्ने गर्‍थ्यौं,’ उनले भने, ‘३ वर्षदेखि परियोजना आफैँले स्थानीय जातका माछाका भुरा उत्पादन गरी बर्सेनि कालीगण्डकी र आँधीखोलामा छाड्दै आएको छ।’

परियोजनाले आँधीखोलामा स्थानीय जातका गर्दी ८० हजार, हाडे १ लाख, ठेड १ लाख गरी कूल २ लाख ८० हजार माछाका भुरा छाडेको हो। सोही परियोजनाले अन्य स्थानमा गर्दी, हाडे, ठेड, असला, सहर, कत्लेलगायत १२ प्रजातिका माछाका भुरा उत्पादन गर्ने र जलाशयभन्दा माथिल्लो भागमा छाड्ने बताएको छ।

प्रकाशित: २८ मंसिर २०७९ १८:३४ | Wednesday, December 14, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast