काराबाओ कप : युनाइटेड र फरेस्ट क्वार्टरफाइनलमा, ब्राइटन बाहिरियो

हिमाल प्रेस ७ पुष २०७९ ८:४७ | Thursday, December 22, 2022
काराबाओ कप : युनाइटेड र फरेस्ट क्वार्टरफाइनलमा, ब्राइटन बाहिरियो फाइल तस्बिर

काठमाडौँ- विश्वकपबाट फर्किएका क्रिस्टियन एरिक्सन र मार्कस रासफोर्डले एक–एक गोल गरेपछि म्यानचेस्टर युनाइटेडले बुधबार राति काराबाओ कपमा बर्नलीलाई २–० ले पन्छाएको छ। ओल्ड ट्राफोर्डमा भएको खेलमा डेनिस प्लेमेकर क्रिस्टियनले २७ र इंग्ल्यान्डका रासफोर्डले ५७ औँ मिनेटमा गोल गरेका थिए। यो जितसँगै युनाइटेड घरेलु कपको क्वार्टरफाइनलमा पुगेको छ।

विश्वकप सुरु भएपछि युनाइटेडले बीचमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो। तर आधिकारिक खेल भने यो नै पहिलो हो। क्रिस्टियानो रोनाल्डोको बहिर्गमन र ग्लेजर परिवारले क्लब बिक्री गर्ने निर्णय गरेपछि युनाइटेड कसरी अघि बढ्छ भन्ने कौतहुल भइरहेका बेला युनाइटेड मैदान फर्किएको छ।

यी दुई मुख्य समाचारलाई तत्कालका लागि बिर्साउन रासफोर्डले तारिफयोग्य प्रदर्शन गरे। म्यानचेस्टर सिटीका पूर्वरक्षक भिन्सेन्ट कम्पनी प्रशिक्षक रहेको बर्नलीविरुद्ध उनले सुन्दर गोल गरेका थिए। ‘स्पेस र मौका पाउँदा प्रहार गरिहाल्नु पर्छ। स्ट्राइकरको काम नै त्यही हो,’ खेलपछि रासफोर्डले भने।

विश्वकपमा इंग्ल्यान्ड फ्रान्ससँग पराजित हुँदै क्वार्टरफाइनलबाट बाहिरिएको थियो। त्यसको प्रभावबाट हटेर अघि बढ्ने कोसिस गरिरहेको रासफोर्डको भनाइ थियो। उनले कतारमा तीन गोल गरेका थिए।

उता यसनाइटेडका प्रशिक्षक एरिक टेन हागले आफ्नो टिमले निकै पक्षमा सुधार गर्नुपर्ने देखिएको प्रतिक्रिया दिए। ‘यद्यपि यो जितले खुसी छु। विश्वकपबाट फर्किएका खेलाडीमा जितको भोक देखिएको छ,’ टेन हागले भने।

बर्नलीका प्रशिक्षक कम्पनीले आफ्ना खेलाडीले बलियो युनाइटेडविरुद्ध सन्तोकजनक प्रदर्शन गरेको बताए। ‘हामी नडराई खेल्यौँ। गोलका केही अवसर सिर्जना गर्न सक्यौँ। समग्रमा खेल आक्रामक रह्यो,’ कम्पनीले भने।

बुधबार राति नै भएको अर्को खेलमा ब्राइटन तेस्रो श्रेणीको लिग खेल्ने चाल्टर्न एथ्लेटिकसँग पेनाल्टीमा ४–३ ले पराजित भयो। निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीतर्फ धकेलिएको थियो। जहाँ ब्राइटनका भरपर्दा प्लेमेकर पास्कल ग्रस, लियान्द्रो टोसार्ड, सोल्ली मार्च र मोइसेस टोसार्डले गोल गर्न सकेनन्।

इंग्लिस प्रिमियर लिगको रेलिगेसनन क्षेत्रमा रहेको नटिङहम फरेस्टले च्याम्पियनसिपको ब्लाकबर्न रोभर्समाथि ४–१ को फराकिलो जित दर्ता ग¥यो। फरेस्टको जितका ब्रेनान जोन्सनले दुई तथा जेसी लिंगार्ड र टाइओ एवोनियीले एक–एक गोल गरे। परािजत टिमका तर्फबाट स्कट ह्वारटनले एक गोल फर्काए।

काराबाओ कपको क्वर्टरफाइनलमा पुग्ने सात टिमको टुंगो लागेको छ। यसअघि लेस्टर सिटी, न्युकासल युनाइटेड, साउथह्याम्पटन र उल्भरह्याम्पटनले आआफ्ना स्थान पक्क गरिसकेका छन्। आठौँ टिमको निक्र्योल भने बिहीबार रातिको म्यानचेस्टर सिटी र लिभरपुलबीचको खेलले गर्नेछ।

प्रकाशित: ७ पुष २०७९ ८:४७ | Thursday, December 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast