 
                             
                                            काठमाडौँ- लैंगिक तथा यौनिक अल्पसंख्यकको जीवन भोगाइलाई प्रस्तुत गरिएको ‘ओभरलुक्ड फेसेज अफ नेपाल’ पुस्तक सार्वजनिक भएको छ।
चिकित्सकद्वय परिधी शर्मा र अर्पणा पाठकले ३० जना सो समुदायका व्यक्तिको भोगाइलाई सो पुस्तकभित्र जीवन्तरूपमा कलात्मक चित्रमार्फत् प्रस्तुत गरेका छन्।
मण्डला र मिथिला शैलीबाट कोरिएका सो चित्रकथा पुस्तकले विशेषगरी विविध कारणले अहिले पनि खुलेर समाजमा नआएका ती समुदायका व्यक्तिका पीडा र आवाजलाई सूक्ष्म रूपमा उतारेको छ।
‘कोरोना महामारीका कारण जारी लकडाउनका समयमा मैले आफूभित्र रहेको चित्रकारिताको प्रतिभालाई पुनः प्रस्फुटित गराएँ। डर, त्रास र दुःखका बीच चित्र मेरो साथी बन्यो,’ दन्त चिकित्सक शर्माले भनिन्, ‘चित्रले मलाई यी आवेगसँग जुध्न सिकायो र मेरो ‘कोपिङ मेकानिज्म’ नै मेरा चित्र बन्यो। मसँगै म सहपाठी डा। अर्पणा पाठकले पनि त्यस्तै गर्थिन्।’
आफूलाई सानैदेखि चित्र कोर्ने रहर भए पनि चिकित्सक बन्ने क्रममा केही समय चित्रकलासँग साथ छुटेको उनको भनाइ थियो। उनले भनिन्, ‘पुस्तकभित्रका चित्र मण्डला र मिथिला शैलीबाट प्रभावित छन्। यसैमा आधारित भएर कोरिएका हुन्।’ त्यही चित्रकलामार्फत आफूहरूले समाजको कथा समाजलाई नै भन्न चाहेको डा. शर्माले बताइन्। ‘खुलेर समाजमा आउन नसकेका लैंगिक तथा यौनिक अल्पसंख्यकका पीडा र दुःखलाई यथार्थरूपमा चित्रकथाका रूपमा पुस्तकले समेटेको छ,’ उनले भनिन्।
कसरी पुस्तक बनाउने तयारी भयो? भन्ने जिज्ञासामा उनले भनिन्, ‘हामीले लकडाउनकै समयमा एक नेपाली महिला र अर्की भारतीय महिलाबीचको प्रेम सम्बन्धबारे थाहा पायौँ। परिवार र समाजले अस्वीकार गरेका कारण उहाँहरू प्रेम जोगाउन विदेश जानुभयो। समाजले नस्वीकार्दा विवाह गर्नकै लागि विदेश जानुपर्ने? ती जोडीले अन्य सामाजिक विभेद र समस्या झेल्नुपर्ला? यी र यस्तै प्रश्नको जवाफ खोज्दै जाँदा आफूहरू लैंगिक तथा यौनिक अल्पसंख्यकको नजिक भएको र उहाँहरूकै कथालाई चित्रको रूप दिने निचोडमा पुग्यौँ।’
चित्रका लागि पात्र भेट्दा र उनीहरूको कथा सुन्दै जाँदा, ती आफूहरूले देखेको र सुनेको भन्दा बेग्लै पाइएको डा. शर्माको भनाइ छ। ‘ती पात्रको व्यथा, दुःख र भोगाइ समाजले कल्पनासमेत गर्न नसक्ने खालका थिए, ती पात्रहरू कुन मनोदशाबाट गुज्रिए होलान् रु,’ उनले भनिन्, ‘त्यसैले यस पुस्तकका हरेक पाना–पानामात्र नभएर जीवनकथा हुन्। पुस्तकका हरेक चित्र कसैको जीवनकथा सरह छ।’
नेपालको सन्दर्भमा ‘एलजिबिटीआइक्यू’ समुदायका लागि पहिलो ‘कलरिङ बुक’ भएको सर्जकद्वयको दाबी छ। हरेक लैंगिक तथा यौनिक अल्पसंख्यक गर्वका साथ र बिनाविभेद बाँच्न पाउनुपर्छ भन्ने सन्देश चित्र पुस्तकको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                    ![बाबुरामको घरमा किताबको खरानी [तस्बिरहरू]](https://himalpress.com/wp-content/uploads/2025/09/baburam-book-5.jpg) 
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 