जनकपुरधाम- गुठी संस्थान जनकपुरधामका अमिन प्रभात चन्द्र पोखरेलमाथि कार्यकक्षमा हातपात गरिएको छ। अमिन पोखरेलमाथि नेकपा एमालेका नगर कमिटी अध्यक्ष सुरेन्द्र भण्डारीले हातपात गरेका हुन्।
टेन्डर दर्ता नगर्न दबाब दिँदै एमाले नेता भण्डारीले आज (बिहीबार) दिउँसो आफूमाथि कुटपिट गरेको अमिन पोखरेलले बताए।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–३ बस्ने सञ्जयकुमार मण्डलले टेन्डरका लागि बिहीबार दिउँसो १२ बजेभित्रै आफ्नो टेबलमा फाइल राखेकाले आफूले त्यसलाई दर्ता गर्न लाग्दा भण्डारी अचानक आफ्नो कार्यकक्षभित्र आएर आफूमाथि हातपात गरेको उनको भनाइ छ।
भण्डारीले आफूलाई सो टेन्डर दर्ता नगर्न दबाब दिएको र आफूले उनको सो कुरा नमान्दा कार्यालय परिसरबाहिर घिसारेर लग्दै आफूमाथि हातपात गरेको अमिन पोखरेलले आरोप लगाए।
यता, टेन्डर दर्ता गर्न आएका मण्डलले आफू समयमै गुठी संस्थानमा आएर कर्मचारीको जिम्मामा फाइल छोडिसकेको बताए।
उनले अमिन पोखरेलले दर्ता गरिसकेको अवस्थामा बीचमै आएर बखेडा निकाल्दै नेता भण्डारीले दादागिरी देखाउँदै पोखरेलमाथि हातपात गरेको बताए।
यता नेता भण्डारीले आफूले कर्मचारीमाथि हातपात नगरेको दाबी गरेका छन्। उनले अमिनले दिउँसो १२ बजेपछि पनि टेन्डर दर्ता गरेको आरोप लगाए। आफूले उनलाई समयअवधिभित्रै टेन्डर दर्ता गर्न आग्रह गरेको बताए।
जनकपुरधाम उपमहानगरपालिका–८ स्थित सिट नम्बर १३५५–७५ को कित्ता नम्बर–५८ मा रहेको ७ कठ्ठा जग्गाका लागि न्यूनतम मूल्य प्रतिकठ्ठा १० हजार रूपैयाँको दरले गुठी संस्थान प्रधान कार्यालयले कात्तिक २९ गते बोलपत्र आह्वान गरेको थियो।
गुठी संस्थान शाखा कार्यालय जनकपुरको गुठी तैनाथी जग्गा लिजमा दिनेसम्बन्धी सूचना प्रकाशित भएको ३१ दिनभित्र दिउँसो १२ बजेभित्र वार्षिक भाडादर उल्लेख गरी कुन प्रयोजनको लागि लिजमा लिन खोजिएको हो। सो समेत प्रष्ट हुने गरी कार्यालयमा बोलपत्र सही छाप शिलबन्दी गरी दाखिला गराई सक्नुपर्ने सूचनामा उल्लेख थियो।

                                             
                                             
                                             
                                             
                                             
                                             

