एमालेले तोक्यो ९ वटा जनसंगठनको महाधिवेशन समयसीमा

हिमाल प्रेस ४ पुष २०७९ २०:२९ | Monday, December 19, 2022
एमालेले तोक्यो ९ वटा जनसंगठनको महाधिवेशन समयसीमा

काठमाडौँ– नेकपा एमालेले महाधिवेशन सम्पन्न गर्न बाँकी रहेका ९ वटा जनवर्गीय संगठनहरूको महाधिवेशन गर्ने समयसीमा तोकेको छ। ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार (आज) बसेको संगठन समन्वय संयन्त्रको बैठकले ०७९ चैत मसान्तभित्र ती संगठनको महाधिवेशन गर्ने समयसीमा तोकेको हो।

‘महाधिवेशन वा राष्ट्रिय सम्मेलन गर्न बाँकी रहेका जनवर्गीय संगठनहरूले आगामी चैत मसान्तभित्र अनिवार्य रूपमा सम्पन्न गर्ने बटमलाइन तोकिएको छ,’ बैठकको निर्णयबारे जानकारी दिँदै संयन्त्र संयोजक पार्टी स्थायी कमिटी सदस्य भानुभक्त ढकालले भने, ‘तोकिएको समयभित्र सम्मेलन वा महाधिवेशन नगर्ने जनसंगठनहरू त्यसपछि स्वतः निलम्बनमा पर्नेछन्।’

एमालेका २३ वटा जनवर्गीय संगठनमध्ये हालसम्म १४ वटा जनसंगठनको मात्रै महाधिवेशन सम्पन्न भएको छ। अनेरास्ववियु, युवा संघ नेपाल, किसान महासंघ, अनेमसंघ, पेशागत महासंघ, आदीवासी जनजाती महासंघ, खेलकुद महासंघ, रिटर्नी फेडरेशन, नेपाल पिछडा वर्ग महासंघको महाधिवेशन हुन बाँकी रहेको छ।

हाल राष्ट्रपति रहेकी विद्यादेवी भण्डारी अनेमसंघमा तत्कालीन अध्यक्ष निर्वाचित भएपछि अहिलेसम्म महाधिवेशन भएको छैन। यस्तै युवा संघमा महेश बस्नेत अध्यक्ष निर्वाचित भएपछि र अनेरास्ववियुमा नवीना लामा अध्यक्ष निर्वाचित भएपछि महाधिवेशन भएको छैन।

यताआदिवासी जनजाती महासंघको पनि लामो समयदेखि महाधिवेशन भएको छैन। ती ९ वटै जनसंगठनको जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गरी चैत मसान्तभित्र महाधिवेशन सम्पन्न गरिसक्नु पर्ने सोमबारको बैठकले निर्णय गरेको ढकालले जानकारी दिए।

बैठकले हरेक जनसंगठनले आफ्नो पदाधिकारी, सचिवालयको बैठक राखेर निर्वाचन समीक्षा सहितको प्रतिवेदन बुझाउन पनि निर्देशन दिएको छ। बैठकलाई सम्बोधन गर्दै पार्टी महासचिव शंकर पोखरेलले ती जनसंगठनको तोकिएको समयसीमामा महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएका छन्।

संगठनमध्ये केहीको झण्डै डेढ दशकसम्म महाधिवेन नहुँदा जनतासम्म पुग्न र नेतृत्व विकास गर्ने काममा अफ्ट्यारो परेको पनि महासचिव पोखरेलले स्पष्ट पारे।

प्रकाशित: ४ पुष २०७९ २०:२९ | Monday, December 19, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast