उद्घाटन खेलमा चम्किएका ओमारजाई भन्छन् : काठमाडौँ नाइट्सलाई च्याम्पियन बनाउने लक्ष्य छ

हिमाल प्रेस ९ पुष २०७९ १४:२२ | Saturday, December 24, 2022
उद्घाटन खेलमा चम्किएका ओमारजाई भन्छन् : काठमाडौँ नाइट्सलाई च्याम्पियन बनाउने लक्ष्य छ

काठमाडौँ- नेपाल टि२० लिगको पहिलो खेलमै अर्धशतक बनाएका अज्मतुल्लाह ओमारजाईले आफ्नो लक्ष्य काठमाडौँ नाइट्सलाई च्याम्पियन बनाउनु रहेको बताएका छन्। शनिबार उद्घाटन खेलमा पोखरा एभेन्जर्सविरुद्ध ४२ बलमा ८५ रन जोडेका अफगानी अलराउन्डर ओमारजाईले नेपालमा आएर खेल्दा खुसी लागेको प्रतिक्रिया दिए।

‘पहिलो खेलमै म्यान अफ दि म्याच भएँ। सुनमसँग साझेदारी गर्न सके। जसले गर्दा इनिङ्सको अन्त्य बलियो ढंगमा गर्न सकियो,’ ओमारजाईले भने, ‘यहाँ आएर खेल्न पाउँदा अवश्य पनि खुसी लागेको छ। आशा छ यो टिमलाई च्याम्पियन बनाउन सकिनेछ।’

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सुरु टि२० लिगको उद्घाटन खेलमा काठमाडौँलाई जित दिलाउन विष्फोटक ब्याटिङ गरेका ओमारजाईले आगामी खेलमा यही लयलाई निरन्तरता दिने आश कप्तान ज्ञानेन्द्र मल्लले व्यक्त गरे।

टिमको समग्र प्रदर्शनमा भने उनी सन्तुष्ट हुन सकेनन्। ‘अपेक्षा गरे अनुसारको प्रदर्शन गर्न सकिएन। सुरुवात बलियो भएन। यद्यपि अज्मतुल्लाह र सुनमले अन्तिमसम्म डटेर खेले। जसले गर्दा जितको आधार बनाउन सकियो,’ शून्यमा आउट भएका ज्ञानेन्द्रले भने।

उता पराजित टिमका कप्तान शरद भेस्वाकरले सुरुवात मजबुत भए पनि त्यसलाई निरन्तरता दिन नसकेकाले खेल गुमाउनु परेको प्रतिक्रिया दिए। ‘हामी खेलमा फर्कनै सकेनौँ। विकेटबारे अनुमान लगाउन सकिएन। आश छ आउँदा खेलमा सुधारिएको प्रदर्शन गर्न सकिनेछ,’ शरदको भनाइ थियो।

प्रकाशित: ९ पुष २०७९ १४:२२ | Saturday, December 24, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast