आहारारा पोखरा गोल्कडप : उद्घाटनमा आयोजक र धरानबीच प्रतिस्पर्धा हुने

हिमाल प्रेस १२ पुष २०७९ १७:११ | Tuesday, December 27, 2022
आहारारा पोखरा गोल्कडप : उद्घाटनमा आयोजक र धरानबीच प्रतिस्पर्धा हुने

पोखरा– पोखरा रंगशालामा बिहीबारदेखि २२ औं आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता हुँदैछ। १० दिनसम्म चल्ने प्रतियोगिताको उद्घाटन खेल आयोजक सहारा क्लब पोखरा र धरान फुटबल क्लबीच हुनेछ। मोफसलको चर्चित सहारा क्लब पोखराद्वारा गएको दुई दशकदेखि निरन्तर आयोजित प्रतियोगिताको मिति नजिकिएसँगै फुटबलप्रेमी उत्साहित छन्।

पुस १४ देखि २३ सम्म संचालन हुने प्रतियोगितामा विभिन्न १० टिमले भाग लिँदैछन्। जसमा नेपाल एपिएफ क्लब, मनाङ मस्र्याङ्दी क्लब, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, संकटा क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, अमेरिकाको भुटानीज युथ स्पोर्टस् क्लब, मिनिसोटा, धरान फुटबल क्लब र आयोजकको टिम छन्। गत वर्षको विजेता एपिएफ क्लब हो भने उपविजेता मनाङ मस्र्याङ्दी क्लब हो।

आयोजकले यसपालि पुरस्कार राशिमा वृद्धि गरेको छ। प्रथम पुरस्कारमा २ लाख थप गरि १२ लाख र द्वितीय पुरस्कारमा १ लाख थप गरि ६ लाख कायम गरिएको क्लब महासचिव रामजीप्रसाद अधिकारीले बताए। यस्तै, बेस्ट अफ फाइभलाई नगद पुरस्कार २५ हजार, सर्वाधिक गोलकर्तालाई २५ हजार, प्रत्येक खेलको म्यान अफ दि म्याच पुरस्कार ८ हजार तथा फाइनलको म्यान अफ दि म्याचलाई १० हजार प्रदान गरिनेछ। भने टिमलाई नगद १० हजार दिइनेछ।

प्रतियोगिताबाट १ करोड ५९ लाख ५० हजार आम्दानी र १ करोड १३ लाख ५६ हजार रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ। यसैबीच, मंगलबार आयोजित पत्रकार सम्मेलनमा यसपालि सर्वोत्कृष्ट रागिट्रय फुटबल खेलाडी पुरस्कार अनन्त तामाङलाई प्रदान गरिने जनाइएको छ।

तामाङलाई उद्घाटन समारोहमा नगद ५० हजारसहित सम्मान गरिन लागिएको क्लब अध्यक्ष हरिराम गुरुङ (सुरज) ले बताए । गत वर्षको पुरस्कारमा १५ हजार थप गरिएको हो । यसअघि यो पुरस्कारबाट भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल र अन्जन विस्ट पुरस्कृत भैसकेका छन्।

‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ नाराका साथ संचालित प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउ हो। खेलबाट बचत रकम क्लबबाट संचालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने क्लब वरिष्ठ उपाध्यक्ष केशवराज बरालले बताए। एकेडेमीमा हाल १० जिल्लाका १३ जना प्रशिक्षार्थी छन्।

प्रकाशित: १२ पुष २०७९ १७:११ | Tuesday, December 27, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast