चितवनमा २ गैँडासहित ४९ वन्यजन्तुको मृत्यु

हिमाल प्रेस ३० कार्तिक २०७९ ११:४०
चितवनमा २ गैँडासहित ४९ वन्यजन्तुको मृत्यु

चितवन- चितवन राष्ट्रिय निकुञ्जमा चार महिनाको अवधिमा ४९ वन्यजन्तुको मृत्यु भएको छ। मृत्यु हुनेमा सबैभन्दा बढी २८ चित्तल छन्।

कुकुरको आक्रमणबाट १७ तथा सडक दुर्घटनामा र दलदलमा परेर एक–एक चित्तल मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।

तिवारीका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि यता चितवन राष्ट्रिय निकुञ्जमा दुई दुर्लभ एकसिंगे गैँडा मेरका छन्। एउटा गैँडाको प्राकृतिक (उमेर पुगेर, बिरामी भएर, बाघको आक्रमणबाट आदि) कारणबाट र एउटा विद्युतीय करेन्ट लागेर मृत्यु भएको छ।

त्यसैगरी एउटा सरकारी घरपालुवा र एउटा निजी हात्तीको प्राकृतिक कारणले मृत्यु भएको निकुञ्जको तथ्यांकमा उल्लेख छ। प्राकृतिक कारणले मृत्यु हुने जनावरमा तीन अर्ना, एक चितुवा, तीन गौँरीगाई, दुई कछुवा, एक लगुना र तीन घडियाल गोही रहेको तिवारीले जानकारी दिए।

त्यस्तै एउटा प्राकृतिक कारण र एउटा कुकुरको आक्रमणबाट गरी दुई जरायोको पनि मृत्यु भएको छ। एउटा बँदेलको पनि मृत्यु भएको छ।

निकुञ्जमा सबैभन्दा धेरै चित्तलको संख्या रहेको  प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिए।

प्रकाशित: ३० कार्तिक २०७९ ११:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 6 =