२०६१ कात्तिक २४ गते साँझ लोकबहादुर काका हाम्रो घर आए। अनुहार मलीन थियो भावभंगीमा आक्रोश र छटपटी। सुलिकोटको डाँडोमाथि काला बादलका धब्बा थिए। बाँसका झ्याङमा सारौँको विरह झ्याउँऽऽ झ्याउँऽऽ थियो। सायद सन्ध्याकालीन अशुभ समाचारले उनीहरू चिच्याइरहेका थिए।
आकाश रुन खोजिरहेको थियो। लोकबहादुर काकाले बा लाई भन्नुभो, ‘भोजराज भट्टलाई माओवादीले मारेछ्न्! बा नि:शब्द भएर भुइँमा थचक्क बस्नु भो! दुई हातले पुर्पुरो समाउनु भो र लामो खुइय गर्नु भो। बा र लोकबहादुर काका निकैबेर टोलाउनु भो! आखिर भोजराजलाई मारेर कस्तो सत्ता ल्याउन खोजेका रैछ्न्? बा आक्रोशित हुनु भो। त्यसयता बा’ले माओवादीलाई बाचुन्जेल मन पराउनु भएन।
भोजराज भट्ट २०१४ असोज ९ गते लाकुरीबोटको माटोमा जन्मिएका थिए। तीन भाइ छोरामध्ये उनी माइला थिए। पारिवारिक आर्थिक अवस्था निकै कमजोर थियो। त्यही जिम्मेवारी पूरा गर्न उनी १६ वर्षे उमेरमा पढाइ छोडेर भारतको असममा रोजगारीका लागि गएका थिए। प्रवासमा रहँदा उनी कम्युनिस्ट विचारबाट प्रभावित भए। तात्कालीन भूमिगत नेताहरूको संगतबाट उनी झन खारिँदै गए।
२०३१ सालमा जनताको मुक्तिको सपना सजाउँदै उनी गोरखा-लमजुङ सम्पर्क कमिटीको संगठित सदस्य भएर काम गरे। सो कमिटीमा उनले २०४१ सालसम्म काम गरे।
भारत प्रवासबाट गाउँ फर्केपछि उनी राजनीतिमै सक्रिय भए। लाँकुरीबोटमा कम्युनिस्टको बीउ रोप्ने भोजराज भट्ट थिए। वाक्कलामा माहिर, सैद्धान्तिक बहसमा खरो उनी लाँकुरीबोटमा उम्दा र उँचो राजनीतिज्ञ थिए। पार्टीको सैद्धान्तिक बहसमा विपक्षलाई पानी पनि भन्न नपाइ पछार्न सक्ने क्षमता यिनमा थियो।
गाउँलेको सुखदुःख सबैमा साथ दिने मिजासिला उनी कुशल संगठक पनि थिए। उनको यही क्षमताको कारण २०३६ सालमा बहुदलको पक्षमा खुलेर प्रचारप्रसारमा लागे र संगठन विस्तार गरे। १० वर्ष भूमिगत पार्टी काममा बिताए।
बहुदलपछि २०४९ सालमा नेकपा एमाले इलाका नम्बर ९ को इन्चार्ज र सचिव भए। त्यही समयमा मलाई हात समाउँदै पार्टीको विभिन्न प्रशिक्षण कार्यक्रममा सँगै लगेको याद आज पनि झल्झली आउँछ।
पछिल्लो समय उनी एमाले जिल्ला कमिटी सदस्य थिए। उनकै सक्रियतामा लाँकुरीबोटलगायत नौ नम्बर इलाकामा एमाले बलियो स्थितिमा थियो। उनी संगठन बनाउन मात्रै होइन त्याग गर्न पनि सक्थे। २०५४ सालको स्थानीय चुनावमा आफूभन्दा कनिष्ठलाई गाविस अध्यक्षमा छोडेर आफू उपाध्यक्षमा उठेका थिए।
त्यतिबेला झिनो मतान्तरले मात्रै उनले हारेका थिए। कुनै समय १३ भोट कम्युनिस्टलाई खसेको ठाउँमा कांग्रेसलाई पछि पारेर वडा सिट संख्या जितेको थियो।
सरल जीवनशैली र तार्किक क्षमताका कारण भोजराज मेरा लागि प्रिय थिए। सबैसँग मिल्ने, आनीबानी अति सरल थियो। फाटेको जागे टालेर लगाउने, भान्छामा पाकेको ढिँडो, आँटो, पिठो मागेर खाने, सबैको उचनिचो ख्याल गर्ने उनी हाम्रा अभिभावक थिए।
माओवादी भूमिगत कालमा उनीहरूका नेता कमान्डरसँग सैद्धान्तिक चकटी बहस गरेको धेरै पटक देखेको छु। खेती किसानी गरेर जीविका चलाइरहेका उनी माओवादीको तारो किन बने? यस्ता मान्छेलाई माओवादीले किन मारे यसको जवाफ मैले पाउन सकेको छैन।
भोजराज भट्टको हत्यापछि लाँकुरीबोट स्तब्ध भयो। खासगरी एमालेले त्यसको क्षतिपूर्ति गर्न सकेन। एमाले भएर साथ दिएकाहरू अवसरको छ्याङ्कन हान्दै अहिले माओवादीको कोटरीमा पुगेका छ्न्। उनै असली माओवादी बनेर एमालेलाई धारे हात लगाइरहेका छन्।
नेतृत्वको अभावमा एमाले भोजराज भट्टको हत्यापछि टुहुरो अवस्थामा छ। उनको पारिवारिक उत्तराधिकारी छोराले जिम्मेवारीलाई बोक्ने आँट गरेन। पारिवारिक जिम्मेवारीबोधका कारण आफू राजनीतिमा आउन नसकेको बताइरहँदा भतिज राजेन्द्रले काकाको विरासत्लाई ढल्न नदिने अठोट लिएका छ्न्।
गत स्थानीय चुनावको अवस्था हेर्दा लाँकुरीबोट एमाले नेतृत्वको अभावमा रुमलिएको जस्तो देखिएको छ अवस्था झन् शिथिल हुँदै गएको छ।
आज हामीले भोजराज भट्टलाई गुमाएको १८ वर्ष पूरा भएको छ। दिनभरि खेतमा धानकाटेर साँझ घरमा मकै भटमास खाइरहेको अवस्थामा केही अपरिचित मान्छे उनलाई खोज्दै आए र उनलाई घिसार्दै लगेर गोली हाने। एक झुण्डले उनलाई गोली दागेको आजको दिन मेरा लागि चीरस्मरण रहिरहनेछ।
उनको रगतले भिजेको माटो त्यही माटोमा उम्रिएको उनको विचार र सरलता उनको भौतिक शरीर नभए पनि हामी सम्झिरहनेछौँ। प्रश्न गरिरहनेछौँ, ओ माओवादी! भोजराजलाई मारेर के पायौ? कसको लागि कस्तो सत्ता ल्यायौ?
हार्दिक श्रद्धाञ्जली भोजराज काका।
– मधुकर खड्का
ताकुमाझ लाँकुरीबोट गोरखा।
Ma pani tehi prashnama rumalli rahanchhu. tapainko kura ekdam thik ho