नेपाली कांग्रेसका संस्थापक नेता एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाका पुत्र शशांक कोइराला चिकित्सा पेसा छाडेर राजनीतिमा लागेका व्यक्ति हुन्। उनी पहिलोपल्ट कांग्रेसको ११ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।
कांग्रेसको १३ औँ महाधिवेशनमा महामन्त्री भएका उनको संसदीय यात्रा भने २०६४ देखि भएको हो। कोइराला निरन्तर तीन पटक सांसद भइसकेका छन्। २०६४ र २०७० नवलपरासी १ बाट विजयी कोइराला २०७४ सालको चुनावमा पनि नवलपुर १ बाट विजयी भएका हुन्। उनी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नवलपुर १ बाट मैदानमा छन्। यति बेला उनी आफ्नो निर्वाचन क्षेत्रमा मतदाताको घरदैलोमा व्यस्त छन्। विगतका प्रतिबद्धता कार्यान्वयन अवस्था, अहिलेका प्रतिबद्धता तथा चुनाव जितेमा भावी योजनाबारे हिमालप्रेसका लागि सन्तोष अधिकारीले निर्वाचन क्षेत्रमै पुगेर कोइरालासँग गरेको संक्षिप्त कुराकानी :
चुनावी अभियान कस्तो चल्दैछ?
म अहिले जनताको माझमै छु। विगतदेखि अहिलेसम्म गरिरहेका विकास निर्माणका बारेमा जनतालाई जानकारी गराउने लगायतका काम भइरहेका छन्। मैले प्रतिनिधित्व गर्न सुरु गरेपछि यस निर्वाचन क्षेत्रमा धेरै काम भएका छन्। विकासे योजनासँगै अन्तर्राष्ट्रिय खेलमैदान निर्माण, ट्रमा सेन्टर, धाम, तटबन्धन, कृषिका लागि ठूला आयोजना, कृषि फार्म बनाउनेलगायत ठूला आयोजना निर्माण भइसकेका छन्।
विद्यालय केन्द्रित काम पनि भइरहेका छन्। भारतीय दूतावासमार्फत २० वटा स्कुल बस उपलब्ध गराएँ। तीनचारवटा स्कुल बनाउन सहयोग गरेँ। यहाँका हरेक स्कुलमा मेरो केही न केही योगदान छ। १५ वर्ष अवधिमा बाटोघाटो बनाएको छु। पर्यटकीय दृष्टिकोणका हिसाबले पनि काम भइरहेको छ।
असंख्य सम्भावना भएको ठाउँ हो यो। मलाई निर्वाचन लड्नका लागि पूर्व जान मन थियो। शेरबहादुरजीले त्यहाँ मान्छे छैन, राम्रो ठाउँ छ, तपाईं जानुस् भन्नुभयो। पहिले मलाई यो ठाउँ नौलो थियो। सुरुमा म कसैलाई चिन्दैनथेँ। व्यक्तिको नाम कण्ठस्थ पारेर आउनुपर्ने अवस्था थियो। यहाँका ठाउँको नाम पनि थाहा नभएकाले रटेर जान्थेँ। बाटो त्यस्तै थियो। पहाडमा माथि गयो, तल झर्यो, माथि गयो तल झर्यो। सडकको बन्दोबस्त केही थिएन।
म हिँड्न नसक्दा यहाँका स्थानीयले मलाई बोकेर गन्तव्यमा लगेका थिए। अहिले सडकको पहुँच राम्रो बनाएको छु। जनतालाई केही सुखानुभूति भएको छ। म यति बेला यहाँका जनतासँग मिलेर आगामी योजना तयार पार्नमै सक्रिय छु।
मतदाताको आकांक्षा केके पाउनुभयो?
उनीहरूको आकांक्षा त कति कति नि। जनता चाहन्छन् चाँडै कायापलट होस्। म त त्यस्तो गर्न सक्दिनँ। मेरो प्रयास भने निरन्तर रहनेछ। सानोसानो कामबाट सुरु गरेर ठूला काम सहजै बन्न सकून् भन्ने मेरो ध्येय हो।
चुनावमा नेताले मनलाग्दी आश्वासन बाँड्छन्। तपाईंले पनि मतदाताले मागेका सबै कुरा म पुर्याउँछु भनिसक्नुभयो कि बाँकी छ?
बाचा त गरेको छैन। तपाईंहरूको मुख्य समस्या पूरा गर्न म लागिरहेको छु लागिरहन्छु भनेको छु। यहाँका ठूलो समस्यामध्ये एउटा सुकुम्बासी व्यवस्थापन पनि हो। भूमि आयोगमार्फत काम गराउन खोजेको थिएँ। चुनावले गर्दा गर्न पाइरहेको छैन। लालपुर्जा दिने, कहाँ व्यवस्थापन गर्न सकिन्छ ठाउँ हेर्ने, जहाँ बसेको छ त्यहीँ पो हुन्छ कि अध्ययन गर्ने भन्ने कुरा भइरहेको छ। त्यस कारण मैले केही आश्वासन बाँडेको छैन। जे सकिन्छ त्यो गरिरहेको छु। जे सकिन्छ त्यो गर्छु भनेको छु।
अरू उम्मेदवारसँग तपाईंलाई मतदाताले कसरी तुलना गरेको पाउनुभयो?
ठ्याक्कै कसरी तुलना भइरहेको छ त्यो मतदाताले नै भन्ने कुरा भयो। तर मेरो दृष्टिकोणमा मसँग अरू उम्मेदवारको तुलना हुन सक्दैन। तीनचोटि जितिसकेको मान्छेको चाह धेरै मसँग नै धेरै छ।
तीनपटक जितिसकेको मान्छे एजेन्डा त सधैँ एकै खालका होलान्। ती कति पूरा भए कति भएनन् होला। फेरि मतदाताले तपाईंलाई नै किन मत दिने?
मेरा जुन योजना छन्, त्यसलाई कार्यान्वयन गर्न, यहाँको स्थायित्व र विकासका लागि मतदाताले फेरि पनि मलाई नै मत दिनुपर्छ। दिनुहुन्छ भन्नेमा म ढुक्क पनि छु। नवलपुरलाई कायापलट गर्ने र यसलाई देशभरिकै नमुना बनाउँछु भन्ने मेरो अठोट हो। म गरेर पनि छोड्छु। अनि मलाई मत नदिएर कसई दिने?
तपाईं चुनाव जितेमा प्रधानमन्त्रीको उम्मेदवार हो?
हो, मान्छेले राजनीति किन गर्छ? राजनीति गरिसकेपछि सबैभन्दा माथिल्लो पदमा जाने चाहना छ मेरो पनि छ। पार्टीभित्र कुरा त भइसकेको छैन। तर म प्रधानमन्त्री बन्न बलियो दाबी गर्ने व्यक्ति हुँ। मेरा दाइ हुनुहुन्छ शेखर दाइ, उहाँ पनि प्रत्यासी हुनुहुन्छ। मलाई के लाग्छ भने मेरो योगदानका आधारमा र हरेक हिसाबले म अहिले बलियो उम्मेदवार हुँ।
शेरबहादुर देउवा फेरि प्रधानमन्त्री बन्ने इच्छा गरिरहेको देखिन्छ। पार्टीमा युवा नेताहरू पनि आकांक्षी छन्। कसरी व्यवस्थापन गर्ने?
चाहना धेरैको हुन्छ। हाम्रो कोइराला परिवार एक हुन्छ। प्रधानमन्त्री बन्न कोइराला परिवारको एक जना क्यान्डिडेट हुन्छ। त्यो म नै हुन्छु। युवाहरू सबैको व्यवस्थापन हुन्छ। गगन थापा, बद्री पाण्डे, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल सबैको व्यवस्थापन हुन्छ। उनीहरू त लाइनमा छन्। उनीहरूलाई तिमीहरू पर्ख हामी छौँ भन्नुपर्छ।
अघिल्लो निर्वाचनमा चुनावी खर्चको विषयमा अभिव्यक्ति दिँदा निर्वाचन आयोगको स्पष्टीकरण नै खानुभयो। यसपटकचाहिँ कति खर्च गर्दै हुनुहुन्छ?
त्यो बेलामा नि मेरो आफ्नो खर्च भएको होइन। चुनावी घरदैलोमा जाँदा सहयोग गर्ने कसै न कसैको त खर्च भयो। मेरो खल्तीबाट गएको होइन। मसँग त कहाँ छ ६ र करोड?
चुनाव जितेर संसद् भवनभित्र गइसकेपछि तपाईं जनताको समस्याबारे केही बोल्नुहुन्न भन्ने आरोप पनि छ नि?
बोल्या पनि छु। रोस्टममै गएर बोल्या पनि छु। राष्ट्रिय महत्त्वका विषयमा र जनताका समस्याबारे पनि कुरा गरेकै छु तर केही नहुँदा त्यसै गएर कराउने कुरा पनि हुँदैन।
गठबन्धनको उम्मेदवार हुनुहुन्छ तपाईं। गठबन्धनमा आबद्ध सबै दलका भोट तपाईंलाई आउँछ भन्नेमा कुनै शंका छ कि?
त्यो अलि गाह्रो नै छ। कांग्रेस कार्यकर्ताहरूले नै हँसियाहथौडामा भोट दिँदैनौँ, हँसियाहथौडामा हातै जाँदैन भनेको सुनिन्छ। उनीहरूलाई अहिलेको परिस्थिति बनेको हो भनेर बुझाउने काम भइरहेको छ। ओलीजीको प्रतिगमनविरुद्ध सबै एक ठाउँ हुनुपरेका कारण पनि यस्तो भएको भनेर भनेका छौँ। त्यसैले समस्या हुँदा पनि सबै दलका नेताकार्यकर्तालाई सम्झाउँदै बुझाउँदै सुझबुझका ढंगले काम गरिरहेका छौँ। यहाँका अन्य पार्टीका नेताकार्यकर्ताले मलाई नै मत हाल्नेमा ढुक्क छु।