पोखरा- प्रतिनिधिसभा सदस्य निर्वाचनमा २०७४ सालमा गण्डकी प्रदेशमै एक सिटमा खुम्चिएको नेपाली कांग्रेस १७ सिटको मतपरिणाम सार्वजनिक हुँदा ९ सिट जितेको छ। पाँचदलीय गठबन्धनका कारण एमालेले गण्डकीका ११ मध्ये बागलुङ, म्याग्दी, गोरखा, मनाङ र मुस्ताङ जिल्लामा कुनै पनि सिट जित्न सकेन।
प्रतिनिधिसभातर्फ १८ सिट रहेको गण्डकीमा विवादका कारण स्याङ्जा २ को मतपरिणाम आइसकेको छैन। १७ मध्ये नेकपा एमालेले ५, माओवादी केन्द्र २ र राष्ट्रिय जनमोर्चाले बागलुङमा मात्र एक सिट जित्न सफल भयो। पाँचदलीय गठबन्धनको ठूलो दल कांग्रेसले गण्डकीमा आफूलाई १२ सिट लिएर माओवादीलाई ४, एकीकृत समाजावादी र जनमोर्चालाई १/१ सिट बाँडेको थियो।
कांग्रेसले पर्वत र कास्की क्षेत्र १ बाहेक सबैमा (स्याङ्जा क्षेत्र २ बाँकी) जित हासिल गरेको हो। एमालेले ५, माओवादी २ र जनमोर्चाले १ सिट जितेका छन्। २०७४ मा एमालेले १३, माओवादीले ५ सिट जितेकोमा कांग्रेसले १ सिट (शशांक कोइराला, नवलपुर १) ले मात्र जितेर पार्टीको साख जोगाएका थिए।
तर अहिले दृश्य फेरियो। प्रतिनिधिसभातर्फमात्र हैन, कांग्रेसले गण्डकी प्रदेशसभातर्फ पनि सिट सुधार गरेको छ। २०७४ सालको निर्वाचनमा प्रत्यक्षमा ६ मात्र सिट जितेको कांग्रेसले ३४ सिटको मतपरिणाम सार्वजनिक हुँदा १६ सिट जितेर प्रदेशमा पहिलो पार्टी बनेको छ।
त्यसबेला प्रत्यक्षमा ६ र समानुपातिकमा ९ गरी १५ सिटसहित दोस्रो रहेको कांग्रेस राजनीतिक अस्थिरताका कारण एमाले सरकार ढल्दा नेतृत्वसमेत गर्ने अवसर पायो। हाल समानुपातिकतर्फ गणना जारी रहँदा कांग्रेसले करिब ८/९ सिट अझै थप्नेछ। यसो हुँदा उसको सिट संख्या करिब २५ सम्म पुग्नेछ। स्याङ्जा २ मा प्रदेशसभातर्फ दुवै सिट कांग्रेसलाई गए पनि एकल बहुमत पुग्दैन।
तर अघिल्लो निर्वाचनमा प्रत्यक्षमा १७ र समानुपातिकमा १० सिटसहित कुल २७ सिट जितेर पहिलो पार्टी बनेको एमाले यसपालि पाँचदलीय गठबन्धनविरुद्धको चुनावी लडाइँमा खुम्चिन पुग्यो।
एमालेले २०७९ को निर्वाचनको प्रदेशसभा प्रत्यक्षतर्फ सार्वजनिक अन्तिम मतपरिणाममा ३४ सिटमध्ये १२ सिट जितेको छ। समानुपातिकततर्फ जारी गणनामा कांग्रेसभन्दा बढी मत प्राप्त गरेको उसले कांग्रेसको तुलनामा एकदुई सिट बढी थप्ने अनुमान छ।
उता, कांग्रेसलगायत दलसँग गठबन्धनमा चुनाव लडेको भए पनि माओवादी केन्द्रले विगतको तुलनामा क्षति बेहोर्यो। उसले २०७४ मा वामगठबन्धन हुँदा प्रत्यक्षमा ९ र समानुपातिकमा ३ गरी १२ सिट सुरक्षित गर्दै तेस्रो दल बनेकोमा यसपालि अझै कम सिटसहित तेस्रोमै सीमित भयो। प्रत्यक्षमा ५ मात्र सिट जितेको उसले समानुपातिकमा ४/५ सिटसम्म जोड्न सक्नेछ। यसबाहेक एक स्वतन्त्र (राजीव गुरुङ, मनाङ) निर्विरोध भएका छन्।
प्रत्यक्षमा हालसम्म कांग्रेस १६, एमाले १२ र माओवादी ५ सहित १ स्वतन्त्र गरी ३४ सिटबाहेक स्याङ्जाका २ सिट कस्को पोल्टामा जाने हो यकिन छैन। समानुपातिकमा राम्रो मत पाएको राप्रपाले १.५ प्रतिशत मत कटाउन सक्ने भएकोले प्रदेशसभामा उसको पहिलो ‘इन्ट्री’ हुने देखिन्छ। यसअघि राष्ट्रिय जनमोर्चा (३ सिट), तत्कालीन नयाँ शक्ति (२ सिट) र १ स्वतन्त्र भए पनि अहिले जनमोर्चा र नयाँ शक्ति देखिने छैनन्। ६० सदस्यीय गण्डकी प्रदेश प्रदेश सभामा ४० प्रतिशत अर्थात् २४ जना समानुपातिकबाट आउनेछन्।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने कांग्रेस, एमाले, माओवादी र राप्रपा गरी ४ दलमध्ये कुनै पनि दलले एकल बहुमत पुर्याउन नसकेको गण्डकीमा कुन दलले बहुमत पु¥याएर सरकार बनाउँछ भन्नेमा सबैको चासो बढेको छ।
कांग्रेस कि एमाले नेतृत्वको सरकार?
एकल बहुमत नहुँदा ठूलो पार्टी कांग्रेसले एक्लै सरकार बनाउन सक्दैन। उसले गठबन्धनकै अर्को दल माओवादी केन्द्रसँग मिलेर सरकार बनाउन सक्ने प्रबल सम्भावना छ। प्रत्यक्ष र समानुपातिक गरी कांग्रेसको २५ हाराहारीमा सिट आउन सक्छ। ६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि अरू ६ सिट आवश्यक पर्छ।
माओवादीले प्रत्यक्षमा ५ सिट जितिसकेकोले समानुपातिकमा सिट जोड्दा सहजै ३१ सिट पार हुन्छ। कांग्रेस नेतृत्वको सरकार बन्दा सुरेन्द्रराज पाण्डेको नेतृत्वमा सरकार बन्ने आकलन छ। गठबन्धनभित्रै कांग्रेस र माओवादीले सुरेन्द्रलाई गोरखा क्षेत्र २ (२) बाट भावी मुख्यमन्त्रीका रूपमा चुनाव लडाएका हुन्। तर चुनावी परिणाम हेर्दा कांग्रेसबाट अपेक्षाकृत भोट ट्रान्सफर नभएकोमा माओवादी असन्तुष्ट छ।
एमालेले वामगठबन्धनको सरकार बनाउन सक्ने सम्भावना पनि प्रबल छ। प्रत्यक्षमा १२ सिट जितेको एमालेले समानुपातिकको जारी गणनामा अरू कम्तीमा ९ सिट जित्ने देखिन्छ। यसो हुँदा कम्तीमा २१ सिटसहित माओवादी र राप्रपासँग मिलेर सरकार बनाउन सक्छ।
एमाले नेतृत्वको सरकार बने मुख्यमन्त्रीमा दाबी खगराज अधिकारीको हुनेछ। पूर्वगृहमन्त्री बनिसकेको खगराज कास्की क्षेत्र १ (१) बाट प्रदेशसभाको चुनाव जितेका हुन्। उनी २०७४ सालको चुनावमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएकोमा गण्डकीका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई संघमा पठाएर मुख्यमन्त्री बन्ने लक्ष्यसहित प्रदेश ओर्लिएका थिए।
माओवादी सम्भावना
गण्डकी प्रदेशको तेस्रो दल माओवादी केन्द्र नेतृत्वमा सरकार नबन्ला भन्न सकिन्न। सिटको अंकगणितमा तेस्रो भए पनि उसले सरकार नेतृत्वको दाबी गर्ने सम्भावना रहन्छ। यसो हुँदा पार्टीबाट हरिबहादुर चुमान मुख्यमन्त्री बन्नेछन्। चुनाव यसअघि प्रदेशमा आन्तरिक मामिला मन्त्रालय सम्हालेका थिए। पार्टीले उनलाई भावी मुख्यमन्त्रीको सपना दिएर तनहुँ क्षेत्र १९२० बाट चुनाव लडाएको हो।
नेपालको संविधान २०७२ अनुसार धारा १६८ अनुसार प्रदेश प्रमुखले प्रदेशसभामा बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न सक्ने प्रावधान छ। पहिलो विकल्प टरिसकेकोले अब दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई धारा १६८ (२) बमोजिम प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्नेछन्।
गण्डकीमा २०७४ यता पहिलो पल्ट माओवादी समर्थनमा एमाले नेतृत्वको सरकार बनेको हो। एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले २०७४ साल माघ २९ मा मुख्यमन्त्री बनेर सरकारको नेतृत्व गरेका थिए। वामगठबन्धनको टुटफुटसँगै ढलेको उनको सरकार दोस्रो पटक मुख्यमन्त्री बन्दा विश्वासको मत लिन नसक्दा बाहिरिएका थिए।
सरकार गठनको तेस्रो विकल्पसहित कांग्रेस नेतृत्वमा बनेको सरकारमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल छन्। २०७८ जेठ २९ मा आएको यो सरकारलाई माओवादी, जनमोर्चा, तत्कालीन जसपा र स्वतन्त्र सांसदको समर्थन थियो।