चितवन नेपाली कांग्रेसको पकड जिल्लाका रूपमा चिनिन्थ्यो। वडा तहदेखि जिल्ला तहसम्म संगठन बलियो थियो। सोही कारण केन्द्रीय नेताहरू पनि चितवन कांग्रेससँग घुलमिल हुन रुचाउँथे। पूर्वपश्चिम राजमार्ग भएर आउजाउ गर्दा विभिन्न जिल्लाका नेताहरू चितवनको संगठनसँग अनुभव आदानप्रदान गर्थे। त्यसैले चितवन कांग्रेसमा चहलपहल भइरहन्थ्यो। नेताकार्यकर्तामा ऊर्जा थियो।
चुनावी प्रतिस्पर्धामा पनि प्रायः कांग्रेस र वामपन्थी उम्मेदवार उत्रन्थे। कहिले वामपन्थीको जित हुन्थ्यो त कहिले कांग्रेस उम्मेदवार निर्वाचित हुन्थे। जसले मतदाता रिझाउन सक्थ्यो, उसैका पक्षमा पल्लाभारी हुन्थ्यो। स्थानीय नेताबीच नै प्रतिस्पर्धा हुँदा नतिजा कहिले कसको कहिले कसको पक्षमा आउनु स्वाभाविकै थियो।
२०४८ सालमा सबै क्षेत्रमा वामपन्थी उम्मेदवार विजयी भएका थिए। २०५१ को मध्यावधिमा वामपन्थी र कांग्रेसले आधाआधा जितेका थिए। २०५६ मा सबै क्षेत्रमा कांग्रेस विजयी भएको थियो। संविधानसभाको पहिलो निर्वाचनमा कांग्रेस शून्यमा पुग्यो। दोस्रो संविधानसभामा आधामा कांग्रेस र अन्यमा एमाले र राप्रपा आए। २०७४ मा प्रतिनिधिसभा र प्रदेशसभाका सबै क्षेत्रमा वामपन्थी उम्मेदवारले जित हात पारे।
यसपटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नतिजा कांग्रेस, एमालेतिर आएन। न त सत्ता गठबन्धनमा आबद्ध दलका उम्मेदवारले चुनाव जिते। केही महिनाअघि मात्रै खुलेको र सांगठनिक संरचना नबनेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा दुई सिट जितेको छ भने राप्रपा एक सिटमा निर्वाचित भएर कांग्रेस नेतृत्वलाई गिज्याएको छ।
चितवनमा लामो समय कांग्रेस राजनीति गरेकाहरू निराश भएका छन्। कांग्रेससँग आस्था राख्नेहरू अन्योलमा छन्। उनीहरू कांग्रेस संगठनको भविष्यबारे चिन्ता गर्न थालेका छन्। उनीहरू भन्छन्- चितवनमा कांग्रेसको संगठन कमजोर छैन। तर माथिकै कारण यहाँ कांग्रेस कमजोर बनाउने काम भयो।
पार्टी सधैँ नेतृत्वको अदूरदर्शी सोच र निर्णयको सिकार बन्दै आएको छ। नेतृत्वले कहिले कुन दलका पक्षमा मतदान गर्न त कहिले निर्वाचनमा प्रतिस्पर्धा नगर्न निर्देशन दिएका कारण पार्टीको तल्लो तहको संगठन मात्रै होइन, मतदाता पनि दिक्क छन्। सोही कारण यसपटक नचाहँदानचाहँदै पनि नयाँ दललाई भोट दिन विवश भएको लामो समयदेखि चितवन कांग्रेसमा आबद्ध रहेका नेत्र घिमिरे बताउँछन्।
उनी भन्छन्, ‘नेतृत्वको सुझबुझ भएको भए, क्षेत्र नम्बर १ र ३ मा चुनाव जित्न सकिन्थ्यो। गठबन्धन खुसी पार्ने र आफू नेतृत्वमा बसिरहने लहडले परिणामविपरीत आयो।’ प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसले क्षेत्र नम्बर १ र २ मा उम्मेदवारी दिएको थियो। क्षेत्र नम्बर ३ मा गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार प्रतिस्पर्धामा थिए। कांग्रेस मात्रै होइन, तीनै क्षेत्रबाट गठबन्धन दल पराजित भएका छन्।
प्रदेशसभातर्फका ६ क्षेत्रममध्ये, कांग्रेस, एकीकृत समाजवादी र माओवादीले समान एकएक र एमालेले २ स्थानमा जित निकाल्दा एक क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार विजयी भएका छन्। प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी नदिएकै कारण अन्य दलले अवसर पाएका हुन्।
अहिलेको चुनावले सत्तामा रहेर केही काम नगरेकालाई अब निर्वाचित नगर्ने सन्देश दिएको कांग्रेस कार्यकर्ता बताउँछन्। घिमिरे भन्छन्, ‘२०३७ सालमा जनमतसंग्रह हुँदा बहुदल रोजेको जिल्ला हो चितवन। राजनीतिक चेत काठमाडौँको रैथानेमा भन्दा बढी चितौनेमा देखिन्छ। राष्ट्रिय पञ्चायतको सदस्यमा समेत दलका मानिसलाई नै जिताएर पठाउने गरेको जिल्ला हो, चितवन।’
आजीवन कांग्रेस समर्थन गरेर बसेका, विगतमा माओवादी हिंसामा परेका मतदातालाई हँसियाहथौडामा छाप लगाउन लगाएपछि उनीहरूको मन कुँडिनु स्वाभाविकै हो। अनि दलभित्रको आन्तरिक खिचातानी पनि उस्तै। संगठन बलियो बनाएर राजनीतिमा संलग्न व्यक्तिले अवसर पाएनन्। माथिबाट सीधै टीका लगाइदिने परिपाटीले समस्या भएको कार्यकर्ताको बुझाइ छ।
निर्वाचनमा गठबन्धन होइन निर्वाचनपछि सरकार बनाउन गठबन्धन गर्ने हो। निर्वाचनमा नै गठबन्धनमा जाने भनेको आमनागरिकलाई बन्धक बनाउनु हो। त्यही बन्धक नागरिकले सानो स्थान पाउँदा रास्वपालाई भोट हालेका हुन्।
२०७४ को स्थानीय निर्वाचनदेखि सुरु भएको चितवन कांग्रेसभित्रको किचलो २०७९ मा पुग्दा निकै चुलिएको छ। २०७० मा तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाविरुद्ध बागी उठेका कारण कारबाही भोगेका पार्टीका पूर्वजिल्ला सभापति विकास कोइरालाले यसपटक खुलेरै पार्टी नेतृत्वको आलोचना गरेका थिए।
लामो समय शिक्षण पेसामा रहेर चितवनको कांग्रेस संगठन बुझेका घिमिरे कांग्रेस कार्यकर्ता आपसमा नमिल्दा पनि समस्या आएको बताउँछन्। उनी भन्छन्, ‘निर्वाचनको टिकट लिएर आएपछि एक ढिक्का भएर आफ्नोलाई जिताउन लाग्न पर्नेमा त्यसतर्फ कसैको चासो हुँदैन।’ टिकट लिएर आउनेले स्थानीय राजनीति नबुझ्ने र स्थानीय राजनीति बुझेकाले टिकट नपाउँदा विवाद उत्पन्न हुने गरेको कार्यकर्ताहरू बताउँछन्।
घिमिरेका अनुसार चितवन कांग्रेसमा पसिना बगाएका व्यक्तिलाई टिकट दिएका भए क्षेत्र नम्बर १ मा गठबन्धनका पक्षमा मत आउने सम्भावना थियो। क्षेत्र नम्बर २ मा पनि कांग्रेसको संगठन बलियो रहेको तर त्यहाँ हावाहुन्डरी नै आएकोले यसै भन्न सक्ने अवस्था नरहेको उनको बुझाइ छ।
क्षेत्र नम्बर ३ मा पनि कांग्रेसले लिएको भए सीधै जित्ने आकलन उनको छ। उनी भन्छन्, ‘चितवनमा स्थायी बसोबास गरेको भन्दै आएका दाहालले न वर्गको राजनीति गरे, न क्षमता भएकालाई अगाडि बढाउनतिर लागे जसको कारण आफैं चुनावी क्षेत्र सर्दै हिँड्नुपर्यो।’
कांग्रेस चितवनका पूर्वसभापति जितनारायण श्रेष्ठ कांग्रेसका आन्तरिक कारणमात्र भन्दा पनि सत्तामा रहेकालाई नरुचाउने चितवने प्रवृत्तिले गर्दा नयाँलाई भोट गएको बताउँछन्। उनी भन्छन्, ‘नेतृत्वले कहिले कसलाई भोट हाल भनेको छ कहिले के गरेको छ। त्यसबाट वाक्क भएकाहरूले यस पटक सबै भोट घण्टीमा दिए। जसले गर्दा स्वतन्त्र पार्टीमा बाढी नै आयो र त्यही भलले सबै दललाई बगायो।’
उनले चितवन कांग्रेसरहित जिल्ला जस्तो भएको भन्दै यसलाई माथि लैजान सबैले उत्तिकै मेहनत गर्न आवश्यक रहेको बताए। श्रेष्ठले भने, ‘पार्टीभित्र तलबाट आएका र माथिबाट आएकाको संयोजन आवश्यक छ। त्यो भएमा मात्र कांग्रेसको पुनः उदय हुनेछ। अन्यथा भगवान् भरोसा पार्टी हुनेछ।’
कुन क्षेत्रमा कसले जित्यो?
चितवन-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले चुनाव जितेका छन्। ९५ हजार मत खसेको उक्त क्षेत्रमा ढकालले ३४ हजार १८९ मत ल्याएका छन्। निकटतम प्रतिद्वन्द्वी एमालेका सुरेन्द्र पाण्डेले २६ हजार ६०८ मत ल्याए। कांग्रेसका विश्व पौडेल २४ हजार ९९० मतसहित तेस्रोमा रहे। योजना आयोगको उपाध्यक्षबाट राजीनामा दिएर चुनाव लडेका ‘अर्थविद्’ लाई चितवनले पत्याएन।
यस्तै पूर्वअर्थमन्त्री पाण्डेले पनि हार्नुपर्यो। स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र बुर्लाकोटीलाई पनि जनताले मन पराएनन्। यद्यपि उनले पहिले नै आफूले विश्वलाई समर्थन गरेको सन्देश दिएका थिए। अन्तर्राष्ट्रिय निकायमा काम गरेर नेपाल आएपछि कन्सलटेन्सीमा रमेका पछि योजना आयोगका उपाध्यक्ष बने पनि पौडेल जग्गा र सेयर कारोबारी भएका कारण उनलाई राजनीतिज्ञका रूपमा मतदाताले नपत्याएका चितवनका कांग्रेसीहरू नै बताउँछन्। पौडेल स्वयंले आफू जग्गाको कारोबारी नभएको बताउँदै भने, ‘आफूसँग जम्मा भएको रकमको केही सेयर भने खरिद गरेको छु। यसलाई पनि कारोबारी भन्न नमिल्ला।’
क्षेत्र नम्बर २ मा खसेको करिब ८४ हजार मतमध्ये रास्वपाका रवि लामिछानेले ४९ हजार २ सय ६४ मत पाएका छन्। उपविजेता कांग्रेसका उमेश श्रेष्ठको करिब १४ हजार ९ सय ८३ मत छ। करिब ५९ प्रतिशत मत लामिछानेका पक्षमा परेको छ। यसअघि चुनाव जितेका एमालेका कृष्णभक्त पोखरेल १४ हजार ६ सय ४७ मतसहित तेस्रो स्थानमा झरेका छन्।
शिक्षा क्षेत्रमा लगानी गरेर नाम कमाएका उमेश श्रेष्ठ पछिल्लो समय जग्गा व्यवसायमा संलग्न थिए। चितवनमा उनलाई शिक्षा क्षेत्रका व्यक्तिभन्दा पनि जग्गा र सेयरका दलाली भनेर चिनिएका कारण पनि भोट नआएको हो। टेलिभिजन कार्यक्रममार्फत पकड जमाएका रविले त्यहाँ ‘सबै नेताकार्यकर्ता भ्रष्टाचारी हुन् र पुराना दलले केही गर्न सक्दैनन्’ भनेर आफ्ना पक्षमा मत तान्न सफल भए। मतदाताले आशीर्वाद लिएर आएकालाई भन्दा नयाँलाई रुचाए।
क्षेत्र नम्बर ३ मा गठबन्धनका उम्मेदवार थिए माओवादी केन्द्रका डा. भोजराज अधिकारी। उनी राप्रपाका विक्रम पाण्डेसँग पराजित भएका छन्। पाण्डेले ३५ हजार ५५ मत ल्याएर निर्वाचित हुँदा अधिकारी २५ हजार ८२२ मतमा सीमित रहे।
सुरुमा माओवादी अध्यक्ष पुष्पमकल दाहाल प्रचण्डले निर्वाचन लड्ने तयारी गरे पनि विक्रम पाण्डेको डरले उनी गोरखा लागे। माथिबाट लाद्ने प्रथा अन्त्य गर्न कांग्रेसले चितवनमा स्वतन्त्र उम्मेदवारी पनि दिएको थियो। क्षेत्र नम्बर ३ मा दिनेश कोइरालाको उम्मेदवारी पनि सफल भएन।
नेतृत्वले चितवनका कांग्रेस कार्यकर्ताको भावना नबुझ्दा यस्तो परिणाम व्यहोर्नुपरेको घिमिरे बताउँछन्। आमनागरिकलाई सहज रूपमा आफ्नो विवेक प्रयोग गर्न दिइएमा यस्तो अवस्था नआउने उनको बुझाइ छ। उनी भन्छन्, ‘निर्वाचनमा गठबन्धन होइन, निर्वाचनपछि सरकार बनाउन गठबन्धन गर्ने हो। निर्वाचनमा नै गठबन्धनमा जाने भनेको आमनागरिकलाई बन्धक बनाउनु हो। त्यही बन्धक नागरिकले सानो स्थान पाउँदा रास्वपालाई भोट हालेर नेतृत्वलाई सबक सिकाएका हुन्। यही घटना दोहोरिन नदिन नेतृत्वले पाठ सिकोस्।’