काठमाडौँ- निर्वाचनअघिको कुराकानीमा सत्ता गठबन्धनका काठमाडौँ क्षेत्र नम्बर ४ (ख) का उम्मेदवार कुसुमकुमार कार्कीले भनेका थिए, ‘यसपटकको घरदैलो अभियानमा अघिल्लो चुनावमा भन्दा मतदाताले मलाई निकै सकारात्मक रूपमा लिए। हाम्रो क्षेत्रको गठबन्धन देशभरकै नमुना बन्नेछ।’
एकीकृत समाजवादीका कार्कीले यसो भन्दै आफूले सहजै चुनाव जित्ने पनि बताएका थिए। तर निर्वाचन परिणाम उनले सोचेजस्तो भएन। एमालेका जयराम थापाले १० हजार ५१७ मत ल्याएर चुनाव जित्दा कार्की आठ हजार २८३ मा सीमित भए। गठबन्धनबाट उनकै क्षेत्रमा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भने चुनाव जिते।
उनी मात्रै होइन, सत्ता गठबन्धनबाट चुनाव लडेका कांग्रेस नेता कृष्ण सिटौला, माओवादी नेत्री ओनसरी घर्ती र पम्फा भुसाल, एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीजस्ता नेताहरूको संसद् प्रवेश अवरुद्ध भयो। अन्य धेरै ठाउँमा गठबन्धन विफल भएको छ।
सिन्धुपाल्चोकमा भने गठबन्धनका पूर्ण रूपमा सफल भएको छ। एमालेविरुद्ध गरिएको गठबन्धन पूर्ण रुपमा सफल भएको नेताहरूले बताएका छन्।
जिल्लाको प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चार क्षेत्र गरी छवटै क्षेत्रमा गठबन्धनका उम्मेदवारले चुनाव जितेका छन्। प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका माधव सापकोटा निर्वाचित भएका छन्।
प्रदेशसभा १(१) तर्फ गठबन्धनबाटै चुनाव लडेकी कांग्रेसकी मसिना खड्का र प्रदेशसभा १(२) मा माओवादी केन्द्रका सरल सहयात्री विजयी भए। उक्त क्षेत्रमा प्रतिनिधिसभा सदस्यमा एमालेका सरेश नेपाल पराजित भएका छन्।
क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत निर्वाचित भएका छन्। प्रदेशसभातर्फ २(१) मा गठबन्धनकै युवराज दुलाल ‘शरद’ निर्वाचित भएका छन्। २ (२) मा गठबन्धनका कृष्णकुमार तामाङ विजयी भएका छन्।
‘माओवादी र कांग्रेस दुवै दलका नेतादेखि वडास्तरका कार्यकर्तासम्म इमानदार बनेकै कारण चुनाव जित्यौँ। राजनीतिक इमानदारी गरेर हामीले देशव्यापी रूपमा सन्देश दिएका छौँ। यो नै हाम्रो सफलता हो।’
गठबन्धनको चुनावी अभियानको नेतृत्व गरेका कांग्रेसका पूर्वकेन्द्रीय सदस्य विष्णुविक्रम थापा गठबन्धनमा आबद्ध सबै दल इमानदारीपूर्वक लागेकाले सफलता मिलेको बताउँछन्।
थापा भन्छन्, ‘माओवादी र कांग्रेस दुवै दलका नेतादेखि वडास्तरका कार्यकर्तासम्म इमानदार बनेकै कारण चुनाव जित्यौँ। राजनीतिक इमानदारी गरेर हामीले देशव्यापी रूपमा सन्देश दिएका छौँ। यो नै हाम्रो सफलता हो।’ जिल्लामा कांग्रेसभन्दा माओवादीको संगठन कमजोर मानिन्छ।
सिन्धुपाल्चोकमा कांग्रेस र माओवादी गठबन्धन थियो। गठबन्धनमा आबद्ध दुवै दलका केही नेताले चुनावमा असहयोग गरे पनि चुनाव जितेर सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको नेताहरूको बुझाइ छ। दुवै दलभित्र केही नेताले अन्तरघात गर्न खोजे पनि असफल भएको नेताहरू बताउँछन्। त्यसैले माओवादीका लागि धेरै लिनुपर्ने थियो। कांग्रेसका लागि भने थोरै मत आवश्यक पर्दा पनि परिणाम सकारात्मक आउने थियो। थापा भन्छन्, ‘कांग्रेसका केहीले दायाँबायाँ गरे पनि केही लागेन।’
प्रदेश २ (क) मा गठबन्धनबाट प्रदेशसभामा विजयी युवराज दुलाल ‘शरद’ पनि वडा तहदेखिको तयारीका कारण गठबन्धनका पक्षमा सकारात्मक नतिजा आएको बताउँछन्।
उनी भन्छन्, ‘हामीले वडा तहदेखि संयन्त्र बनाएका थियौँ। संयन्त्र सक्रिय रह्यो। अनि मतदातालाई पनि विश्वासमा लिन सफल भयौँ।’ नेताकार्यकर्ताबीच विश्वासको वातावरण बन्नु गठबन्धन सफल हुनुको आधार रहेको उनी बताउँछन्।
प्रतिनिधिसभा क्षेत्र नम्बर २ का एमाले उम्मेदवार शेरबहादुर तामाङले सबै दलहरू एक्लाएक्लै चुनाव लडेको भए आफूहरूले चुनाव जित्ने दाबी गरे। उनले भने, ‘सबै दलहरूले चुनाव लडेको भए एमालेले जिल्लामा क्लिनस्विप गर्ने थियो।’
तर पनि चुनाव गठबन्धनविरुद्ध सानदार प्रदर्शन गरेको उनको भनाइ छ। यसपल्ट एमालेले जसलाई मतदान गर्न सकेनन्, पाँच वर्षपछि उनीहरूले पनि मतदान गर्न सक्ने गरी एमालेले काम गर्ने तामाङले बताए।
एमाले उम्मेदवार भने चारै सिटमा निकटतम प्रतिद्वन्द्वी बनेका छन्।
प्रतिनिधिसभा- १ मा माओवादीका माधव सापकोटा ‘सुबोध’ ३० हजार ३७४ मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सरेश नेपालले एमाले २७ हजार २० मत पाएका छन्।
प्रदेशसभा-१ (१)मा कांग्रेसकी मसिना खड्का १४ हजार ६५२ मतसहित निर्वाचित हुँदा एमालेका डीबी तामाङले १३ हजार ४९० मत पाएका छन्।
प्रतिनिधिसभा-१ (२) मा माओवादीका सरल सहयात्री पौडेलले १७ हजार २५६ ल्याएर निर्वाचित भए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका होमनारायण श्रेष्ठले १३ हजार १३ मत पाएका छन्।
प्रतिनिधिसभा-२ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत ३९ हजार ३६७ मत ल्याएर निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शेरबहादुर तामाङले २७ हजार ४९३ मत पाएका छन्।
प्रदेशसभा-२ (१) मा माओवादीका युवराज दुलाल २० हजार ९०६ मतसहित निर्वाचित हुँदा एमालेका अमानसिंह तामाङ १२ हजार १३९ मतमा सीमित भएका छन्।
प्रतिनिधिसभा- २ (२) मा कांग्रेसका कृष्णकुमार तामाङले १७ हजार ७५८ मतसहित चुनाव जित्दा एमालेका हस्त पण्डितले १६ हजार २५३ मत ल्याए।