२०१५ सालमा सम्पन्न पहिलो आमनिर्वाचनमा २२ भन्दा बढी निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने राजनीतिक दलले मात्र एउटै चुनाव चिह्न पाएका थिए।
निर्वाचन कमिसनले २२ भन्दा कम निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने दलका लागि स्वतन्त्र मान्यता दिइएको थियो। त्यतिबेला विभिन्न १० दलका लागि १० र स्वतन्त्रका लागि १५ वटा चुनाव चिह्न प्रदान गरिएको थियो।
कमसेकम २२ निर्वाचन क्षेत्र अर्थात् १०९ निर्वाचन क्षेत्रको २२ प्रतिशत निर्वाचन क्षेत्रबाट निर्वाचन लड्ने पार्टीका उम्मेदवारले मात्र सबै निर्वाचन क्षेत्रमा एक चिह्न पाउने गरी कसिसनले चिह्न तोकेको थियो। त्यस्तै मनोनयनपत्र दर्ता भएपछि चुनाव चिह्न पाएका राजनीतिक दलमध्ये कुनै दलबाट सर्त पूरा नभएमा सो पार्टीले पाएको चुनाव चिह्न राजनीतिक पार्टीका बाहेक अन्य उम्मेदवारले पाएको चिह्नसरह मानिने निर्वाचन कमसिनको निर्णय थियो। (निर्वाचन सन्देश, वर्ष-१, अंक १२, प्रकाशक : निर्वाचन कमिसन)
आमनिर्वाचनमा नेपाली कांग्रेसले कुल १०९ निर्वाचन क्षेत्रमध्ये १०८ वटा क्षेत्रमा आफ्नो उम्मेदवारी दिएको थियो। जसको नेतृत्व बीपी कोइरालाले गरिरहेका थिए। रणधीर सुब्बा नेतृत्वको नेपाल राष्ट्रवादी गोर्खा परिषद्ले ८६ वटा क्षेत्रमा उम्मेदवारी दिएको थियो।
संयुक्त प्रजातान्त्रिक पार्टी नेपालले ८६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो। पार्टीका नेता थिए डा. केआई सिंह। नेपाल प्रजातान्त्रिक महासभाले ६८ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो। जसको नेतृत्वमा रंगनाथ शर्मा थिए। केशरजंग रायमाझी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ४७ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो।
नेपाल प्रजा परिषद् (आचार्य गुट) ले ४६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो। जसको नेतृत्व टंकप्रसाद आचार्यले गरेका थिए। भद्रकाली मिश्र नेतृत्वको नेपाल प्रजा परिषद (मिश्र गुट) ले ३६ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो। तराई कांग्रेसले २१ वटा निर्वाचन क्षेत्रहरुमा उम्मेदवारी दिएको थियो। उक्त पार्टीको नेतृत्वमा वेदानन्द झा थिए। यस्तै डिल्लीरमण रेग्मीको नेपाली राष्ट्रिय कांग्रेसले २० वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो। देशभरबाट २६८ जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए। (नेपालको राजनीतिक दर्पण, भाग १, गृष्मबहादुर देवकोटा र नेपालको संसदीय निर्वाचन दर्पण २०६३, निर्वाचन आयोग नेपाल)
२०१५ साल कात्तिक २३ गतेदेखि मनोनयन दर्ता सुरु हुनुअघि करिब एक महिनाअगाडि सोही असोज २६ मा निर्वाचन कमिसनले चुनाव चिह्न तोकेको थियो। कमसिननले विभिन्न दलका प्रतिनिधि र चिफ इलेक्सन कमिसनर कर्नेल सुवर्णशमशेर जबराको उपस्थितिमा कमिसनले निर्वाचन चिह्न तोकेको थियो। पहिले निर्वाचन चिह्न तोक्दा उल्लिखितबाहेक थप अन्य २ दल राष्ट्रिय मोर्चालाई लालटिन र राष्ट्रिय पञ्चायतलाई बाख्रा चुनाव चिह्न तोकिए पनि चुनावमा भने ती दल र चुनाव चिह्नको प्रयोग भएको पाइँदैन। विभिन्न राजनीतिक दलका प्रतिनिधिसमेत उपस्थित भएकोमा ती दलका प्रतिनिधि र दलले पाएका चुनाव चिह्न यस प्रकार थिए–
१. राष्ट्रिय मोर्चाका तर्फबाट प्रतिनिधि जगतबहादुर सिंह र चुनाव चिह्न लालटिन
२. नेपाल तराई कांग्रेसका तर्फबाट प्रतिनिधि देवकुमार चौवे र चुनाव चिह्न लगौंटी लाएको मानिस, टाउकोमा गहुँको बोझा बायाँ हातले थामेको र दायाँ हातमा हँसिया।
३. नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि कृष्णप्रसाद भट्टराई र चुनाव चिह्न रूख
४. नेपाल प्रजातान्त्रिक महासभाका तर्फबाट प्रतिनिधि राधेश्याम भट्ट र चुनाव चिह्न हात
५. नेपाल प्रजा परिषद् (आचार्य गुट) का तर्फबाट प्रतिनिधि पुष्करनाथ उप्रेती, चुनाव चिह्न घन र कोदालो। त्यस्तै त्यस पार्टीको झन्डा समेत घन र कोदालो युक्त थियो।
६. संयुक्त प्रजातान्त्रिक पार्टी नेपालका तर्फबाट प्रतिनिधि हर्षबहादुर सिंह र चुनाव चिह्न धानको बाला
७. नेपाल राष्ट्रिय गोर्खा परिषद्का प्रतिनिधि जगदीशशमशेर र देववीर पाण्डे चुनाव चिह्न झोपडी
८. नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट प्रतिनिधि पुष्पलाल र चुनाव चिह्न मकैको घोगा र हँसिया
९. नेपाल प्रजा परिषद् (मिश्र गुट) का तर्फबाट प्रतिनिधि सत्यनारायण झा र चुनाव चिह्न हलो
१०. नेपाल राष्ट्रिय कांग्रेसका तर्फबाट प्रतिनिधि कीर्तिनिधि बिष्ट र चुनाव चिह्न छाता
निर्वाचन कसिसनको सोही २६ असोजको निर्णयमा उल्लिखित १० राजनीतिक दल र तिनका प्रतिनिधिको उपस्थितिमा तिनलाई चुनाव चिह्न तोकिएको भए पनि पछि मनोनयन दर्ता र निर्वाचन हुँदा राष्ट्रिय मोर्चा र त्यसको चुनाव चिह्न लालटिन प्रयोग भएको देखिँदैन।
त्यस्तै त्यतिबेलाको अर्को एउटा सूचनामा राष्ट्रिय पञ्चायतलाई बाख्रा चुनाव चिह्न प्रदान गरेको भनिए पनि त्यो पनि प्रयोग भएको देखिँदैन।
स्वतन्त्रलाई १५ वटा निर्वाचन चिह्न प्रदान गरिएको थियो। जसमा पानस, माछा, फूल, घोडा, डुँगा, चरा, धारा, ताल्चा, मसी कलम, घन्टा, सारंगी, घडी, घैला, तराजु र हात्ती थिए। (निर्वाचन सन्देश, वर्ष- १, अंक- १२, प्रकाशक : निर्वाचन कसिसन)