२५ लाखको ‘काठमाडौँ-१ सरोकार कोष’ स्थापना गर्ने रवीन्द्र मिश्रको घोषणा

हिमाल प्रेस ६ मंसिर २०७९ १३:११ | Tuesday, November 22, 2022
२५ लाखको ‘काठमाडौँ-१ सरोकार कोष’ स्थापना गर्ने रवीन्द्र मिश्रको घोषणा तस्बिर : रवीन्द्र मिश्रको फेसबुकबाट

काठमाडौँ- प्रतिनिधिसभाको निर्वाचनमा झिनो मतले पराजित भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले ‘काठमाडौँ क्षेत्र नं १ सरोकार कोष’ स्थापना गर्ने घोषणा गरेका छन्। मिश्रले आफूलाई विश्वास गरेर मत दिने काठमाडौँ क्षेत्र नं १ का मतदाताप्रति आभार प्रकट गर्न उक्त कोष स्थापना गर्ने जनाएका हुन्।

उनले भनेका छन्, ‘मैले मेरा पछिल्ला दुई पुस्तक विचारभन्दा माथि देश र राजनीतिसँगै राजकाजबाट प्राप्त हुने लेखकस्व र त्यसमा थप रकम जोडेर २५ लाखको ‘सीड मनी’ बाट ‘काठमाडौँ क्षेत्र नं १ सरोकार कोष’ स्थापना गर्ने निर्णय गरेको छु। त्यसले मलाई मनमा अलिकति भए पनि शान्ति दिनेछ।’

मिश्रले कोषबाट काठमाडौँ महानगरपालिका वडा नं १०, ११, २९ र ३१ मा विभिन्न काम गर्ने बताएका छन्। यो कोषमा विश्वभर रहेका नेपाली र काठमाडौँ क्षेत्र नं १ का बासिन्दाले पनि योगदान गर्न सक्ने उनले जनाएका छन्। मिश्रले आफ्नै अग्रसरतामा स्थापित परोपकारी संस्था हेल्प नेपाल नेटवर्क पनि यस्तै सानो रकमबाट सुरु भएको बताएका छन्।

मिश्र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग पराजित भएका हुन्। मिश्रले ७ हजार १८ र कांग्रेस नेता सिंहले ७ हजार १४३ मत पाएका छन्। मिश्रले १२५ मतको झिनो अन्तरबाट पराजित हुनु परेकोमा दुखी भए पनि समाज र देश रूपान्तरणको यात्रामा झन् दृढ भएको बताएका छन्। उनले निर्वाचित कांग्रेस नेता सिंहलाई बधाई शुभकामना पनि दिएका छन्। मिश्रले भनेका छन्, ‘झुठ बोलेर मत माग्दिन र चुनाव जित्ने देश हार्ने राजनीति गर्दिन भन्ने मेरो दृढताको जगमा प्राप्त यो विश्वासका लागि म मतदाता तथा सबै शुभेच्छुकप्रति गहिरो आभार प्रकट गर्न चाहन्छु।’

यो पनि

प्रकाशित: ६ मंसिर २०७९ १३:११ | Tuesday, November 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast