स्वतन्त्र रूपमा मतदान‍ गर्नूस् : मुख्यमन्त्री पोखरेल

हिमाल प्रेस २ मंसिर २०७९ ५:१२ | Friday, November 18, 2022
स्वतन्त्र रूपमा मतदान‍ गर्नूस् : मुख्यमन्त्री पोखरेल

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्वतन्त्र रूपमा मतदानमा संलग्न हुन प्रदेशवासीमा अपिल गरेका छन्।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन, २०७९ का सन्दर्भमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो अपिल गरेका हुन्।

लोकतन्त्रमा विश्वास गर्ने, जनताको अधिकारको रक्षा गर्न सक्षम, विकासप्रेमी, इमान्दार, कर्तव्यनिष्ठ र सेवाभावले ओतप्रोत उम्मेदवारलाई छनोट गर्न सकेमा आगामी पाँच वर्ष हामीले चाहे बमोजिमको सेवा प्राप्त गर्न सकिने सन्देशमा उल्लेख छ।

‘हाम्रो मत नै मुलुक रूपान्तरणको आधार भएकाले मतदानको अधिकार विवेकपूर्ण ढंगबाट उपयोग गर्नुहुनेछ भन्नेमा आश्वस्त छु’, उनले जनाएका छन्।

लामो र कठोर बलिदानीपूर्ण संघर्षबाट नेपाली जनताले प्राप्त गरेका उपलब्धि रक्षा गर्दै मुलुकलाई आर्थिक तथा सामाजिक उन्नयनको मार्गमा लैजान सक्ने प्रतिनिधि छनोट गर्नु आवधिक निर्वाचनको मूल ध्येय रहेको अपिलमा भनिएको छ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलाई भयरहित, स्वच्छ एवम् मर्यादित तवरले सम्पन्न गर्ने, गराउने दायित्य सरकारसँगै राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र एवम् आमसञ्चारमाध्यम रहेको उल्लेख गर्दै मुख्यमन्त्रीले राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, पर्यवेक्षणमा खटिने राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संस्था एवम् सरोकारवाला सबै भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सम्पन्न गराउन जुट्ने विश्वास व्यक्त गरेका छन्।

‘संविधानसभामार्फत् ०७२ सालमामा जारी भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधानमा व्यवस्था भएबमोजिम स्थापित तीन तहका सरकारमध्ये प्रदेश संरचनाको पहिलो एक कार्यकाल सफलतापूर्वक सम्पन्न भई विशेष अनुभवका साथ अहिले हामी दोस्रो कार्यकालका लागि निर्वाचनमा जुटिरहेका छौँ,’ सन्देशमा भनिएको छ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचन एकसाथ सम्पन्न हुन गइरहेको सन्दर्भमा उनले उन्नत अवस्थाको शासन प्रणाली उपलब्ध गराउन बलिदानी गर्ने सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जलि व्यक्त गरे।

प्रकाशित: २ मंसिर २०७९ ५:१२ | Friday, November 18, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast