स्याङ्जा २ मा अझै हुन सकेन मतगणना

हिमाल प्रेस ५ मंसिर २०७९ २१:४७ | Monday, November 21, 2022
स्याङ्जा २ मा अझै हुन सकेन मतगणना

वालिङ– स्याङ्जा २ मा सोमबार साँझसम्म मतगणना सुरु हुन सकेको छैन। नेपाली कांग्रेसले चापाकोट नगरपालिकाका चार बुथमा धाँधली गरेको आरोप लगाउँदै नेकपा एमालेलगायत दलले पुनःमतदान माग गरेपछि मतगणना हुन नसकेको हो।

चापाकोट नगरपालिका वडा ३, ४ र ५ का दिसिङकोट आधारभूत विद्यालय कमिरे, राममन्दिर माध्यमिक विद्यालय दार्सिङ, दिनदयालु आधारभूत विद्यालय र जनसक्रिय आधारभूत विद्यालय चिदीपोखरी मतदान केन्द्रमा कांग्रेसले बुथ कब्जा गरी एकलौटी मतदान गरेको एमालेले आरोप लगाएको छ।

बुथ कब्जा गरी मतदान भएका मतदानस्थलमा पुनः मतदान नहुँदासम्म मतगणना कार्यमा सहभागी नहुने दाबी गर्दै एमाले निकट नेता कार्यकर्ताले अहिले वालिङस्थित निर्वाचन अधिकृतको कार्यालयमा विरोध प्रदर्शन गरिरहेका छन्। सोमबार नै एमालेलगायत अन्य दल तथा स्वतन्त्र उम्मेदवारले संयुक्त पत्रकार सम्मेलन गरी पुनःमतदान गर्नुपर्ने माग गरेका छन्।

स्याङ्जा २ मा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ र एमालेकी केन्द्रीय सचिव पद्‍मा अर्यालबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ। स्याङ्जा १ मा भने अहिले मतगणना जारी छ।

प्रकाशित: ५ मंसिर २०७९ २१:४७ | Monday, November 21, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast