विश्वकप २०२२ : युवा खेलाडीहरू चम्किँदा इंग्ल्यान्डको जोसिलो सुरुवात

हिमाल प्रेस ५ मंसिर २०७९ २१:१२ | Monday, November 21, 2022
विश्वकप २०२२ : युवा खेलाडीहरू चम्किँदा इंग्ल्यान्डको जोसिलो सुरुवात

काठमाडौँ- युवा खेलाडीहरू चम्किँदा इंग्ल्यान्डले विश्वकप २०२२ को आफ्नो पहिलो खेलमा इरानलाई ६–२ ले पन्छाएको छ। सोमबार खलिफा अन्तर्राष्ट्रिय रंगशालामा इंग्ल्यान्डलाई जिताउन बुकायो साकाले दुई गोल गरे।

साकाबाहेक ज्युड बेलिङहम, रहिम स्टर्लिङ, मार्कस रासफोर्ड र ज्याक ग्रिलिसले एक–एक गोल गरे। इरानका तफर्बाट मेहदी टारेमीले दुई गोल फर्काए।

मुख्य प्रतियोगितामा इंग्ल्यान्डले दोस्रो पटक पाँच भन्दा बढी गोल गरेको हो। यसअघि इंग्ल्यान्डले विश्वकप २०१८ मा पानामामाथि ६–१ काे जित दर्ता गरेकाे थियो।

इंग्ल्यान्डले पहिलो हाफमै तीन गोल गरेको थियो। विश्वकपमा गोल गर्ने सबैभन्दा कान्छा इंग्लिस खेलाडी बनेका बेलिङहमले ३५ औँ मिनेटमा लुक शको क्रसमा हेडर गोल गरेका थिए। त्यसको नौ मिनेटपछि साकाले अग्रता दोब्बर बनाए। बेलिङहम र साकाले विश्वकपमा डेब्यु गरेकै खेलमा गोल गर्न सकेका हुन्।

पहिलो हाफ सकिनै लाग्दा कप्तान ह्यारी केनको पासमा रहिम स्टर्लिङले गोल गरेपछि इंग्ल्यान्ड ३–० को स्थितिमा पुग्यो।

दोस्रो हाफमा पनि इंग्लिस खेलाडीले गोल लयलाई जारी राखे। ६२ औँ मिनेटमा २१ वर्षीय साकाले स्टर्लिङको पासमा व्यक्तिगत दोस्रो गोल गरे। त्यसको तीन मिनेटपछि इरानले गोलको खाता खोल्यो। इरानका लागि स्ट्राइकर टारेमीले सुन्दर गोल गरे।

तर गोल खाएको ६ मिनेटपछि नै इंग्ल्यान्डले पाँचौँ गोल गर्यो‍। मार्कस रासफोर्डले गोल गरे। मैदान प्रवेश गरेको एक मिनेटपछि नै रासफोर्डले गोल गरेका थिए। इंग्ल्यान्डको छैठौँ गोल भने ग्रिलिसले गरे। दोस्रो हाफमै मैदानमा प्रवेश गरेका क्यालुम विल्सनको असिस्टमा ग्रिलिसले गोल गरेका हुन्।

खेलको उत्तराद्र्धमा इरानले अर्को सान्तवना गोल फर्कायो। जोन स्टोन्सले टारेमीमाथि फाउल गरेपछि इरानलाई पेनाल्टी दिइएको थियो। जसलाई टारेमीले गोलमा परिणत गरे।

प्रकाशित: ५ मंसिर २०७९ २१:१२ | Monday, November 21, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast