विश्‍वकप २०२२ : कतारको पहिलो गोल, सेनेगलको पहिलो जित

हिमाल प्रेस ९ मंसिर २०७९ २१:२२ | Friday, November 25, 2022
विश्‍वकप २०२२ : कतारको पहिलो गोल, सेनेगलको पहिलो जित

काठमाडौँ- कतारले विश्वकप समूह चरणमा लगातार दोस्रो हार व्यहोरेको छ। दोहोस्थित अल थुमाना रंगशालामा शुक्रबार राति कतार सेनेगलसँग ३–१ ले पराजित भयो। यो हारसँगै समूह ‘ए’ को पुछारमा रहेको कतारको नकआउट चरणमा पुग्ने सम्भावना झिनो बनेको छ। पहिलो खेलमा कतार एक्वाडोरसँग २–० ले हारेको थियो।

उता विजयी सेनेगल पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो। पहिलो जित हासिल गरेसँगै नकआउट चरणमा पुग्ने सम्भावना जगाएको सेनेगलले अब अन्तिम खेलमा एक्वाडोरसँग भिड्नेछ। यी दुवै टिमको तीन–तीन अंक छ। नेदरल्यान्ड्सको पनि तीन अंक नै छ। नेदरल्यान्ड्सले शुक्रबार राति एक्वाडोरको सामना गर्दैछ। यो खेल जिते डच टिम नकआउट चरणमा पुग्नेछ।

नकआउट चरणमा पुग्ने सम्भावना जीवित राख्न कतारले आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्सलाई विशाल अन्तरले हराउनु पर्नेछ।

सेनेगलले पहिलो गोल पहिलो हाफको ४१ औँ मिनेटमा गरेको थियो। २६ वर्षीय स्ट्राइकर बुलाए डिआले कतारी रक्षक बौलाएम खाउखीले क्लियर गर्न नसकेको बललाई पोस्टको दिशा देखाएका थिए। यो सेनेगलले जारी विश्वकपमा गरेको पहिलो गोल थियो।

अफ्रिकी टिमको दोस्रो गोल फामारा डिएढिउले ४८ औँ मिनेटमा गरे। टर्किस क्लब आलयान्यास्पोरबाट खेल्ने डिएढिउका लागि यो राष्ट्रिय टिमका लागि ११ औँ गोल हो। विश्वकप खेल्न छानिएका सेनेगलिज खेलाडीमध्ये उच्च गोलकर्ता यिनै डिएढिउ हुन्।

कतारले ७८ औँ मिनेटमा एक गोल फर्काएको थियो। इस्माइल मोहम्मदले दिएको क्रसमा मोहम्मद मुन्टारीले हेडर गोल गरे। घानामा जन्मिए पनि कतारबाट खेल्ने मुन्टारीका लागि यो १४ औँ अन्तर्राष्ट्रिय गोल हो। पहिलो पटक विश्वकप खेलिरहेको कतारले पहिलो गोल गरे पनि यसले हार टरेन।

सेनेगलको अन्तिम गोल भने एहमाडौ बाम्बा डिएङले गरे। उनी दोस्रो हाफमा मैदान प्रवेश गरेको १० मिनेटपछि नै गोल गर्न सफल भए।

प्रकाशित: ९ मंसिर २०७९ २१:२२ | Friday, November 25, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast